देवघाटधाममा ‘मकर काव्य यामिनी’ को बीसौँ शृंखला

हिमाल प्रेस २९ पुष २०७९ १२:३३
322
SHARES
देवघाटधाममा ‘मकर काव्य यामिनी’ को बीसौँ शृंखला

काठमाडौँ- मकर संक्रान्तिको पूर्वसन्ध्यामा चितवनको देवघाटधाममायस वर्ष पनि ‘मकर काव्य यामिनी’ आयोजना गरिने भएको छ। माघे संक्रान्तिका दिन नारायणी र कालीगण्डकीको संगमस्थलमा स्नानका लागि जाने काव्यपारखीलाई काव्यगंगाको आनन्द दिलाउने उद्देश्यले विगत २० वर्षदेखि महेश सन्न्यास गुरुकुल आश्रमले ‘मकर काव्य यामिनी’ आयोजना गर्दै आएको छ।

नारायणीमा माघ १ गते नुहाउने श्रद्धालुको घुइँचो लाग्छ। श्रद्धालुले अघिल्लो राति भजनकीर्तन गर्दै जागा बसेर भोलिपल्ट स्नान गर्ने चलन छ। तिनैमध्येका काव्यपारखीलाई रातभर काव्यको आनन्द दिलाउनका लागि ‘काव्य यामिनी’ आयोजना गरिँदै आएको कार्यक्रमका संयोजक निराजन पन्तले जानकारी दिए।

उनका अनुसार पुस ३० गते शुक्रबार दुई सत्रमा कार्यक्रम हुँदैछ। यसका लागि सबै तयारी पूरा भएको पन्तले बताए। उनले भने, ‘काव्यपारखीले रातभर बसेर काव्यका बारेमा विचारविर्मश गरून् भन्ने उद्देश्यले यस्तो कार्यक्रम सुरु गरिएको हो। कार्यक्रममा बर्सेनि काव्यानुरागीहरूको विशेष जमघट हुँदै आएको छ।’

‘मकर काव्य यामिनी’ मा समालोचना सत्र र रचना वाचनसत्र गरी दुई चरणमा कार्यक्रम हुँदैछ। समालोचना सत्रमा प्रा.डा. महादेव अवस्थीले ‘नेपाली महाकाव्यका भगीरथ महाकवि लक्ष्मीप्रसाद देवकोटा’ विषयक विचारपत्र प्रस्तुत गर्नेछन् भने त्यसमाथि सहप्रा. दामोदर रिजालले टिप्पणी गर्नेछन्। उक्त कार्यक्रम प्रा.डा. चूडामणि बन्धुको प्रमुख आतिथ्यमा हुनेछ।

रातिको समयमा हुने दोस्रो सत्रमा विभिन्न कविहरूले रचनावाचन गर्नेछन्। उक्त सत्रमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा. जगत् उपाध्याय ‘प्रक्षित’, प्रा.डा. हेमनाथ पौडेल र सहप्रा.डा. देवी नेपाललगायतको सहभागिता रहने आयोजकले जनाएको छ। काव्यरसमा डुब्न चाहनेहरूका लागि दोस्रो सत्र विशेष आकर्षक रहने आयोजकको भनाइ छ।

२०६० सालमा सुरु गरिएको यो कार्यक्रम कोभिडका बेला पनि अनलाइनमार्फत आयोजना गरिएको थियो। पन्तका अनुसार २० वर्ष अवधिमा काव्य यामिनीमा धेरै कवि/साहित्यकारहरूले सहभागिता जनाइसकेका छन्।

प्रकाशित: २९ पुष २०७९ १२:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =