नियात्रा : शैक्षिक भ्रमण

पोखरा : नेपालको युरोप

केनिश अधिकारी ७ माघ २०७९ १९:१६
पोखरा : नेपालको युरोप

गुरुआमाले शैक्षिक भ्रमणको कुरा सुनाउँदा म निकै उत्साहित भएँ। सँगै कताकता डर पनि लाग्यो। यसअघि परिवारसँग बाहेक कहीँकतै गएको थिइनँ।  स्कुलमा भ्रमणको कुरा सुन्नासाथ कतिखेर घर पुगूँ र आमाबुबालाई भनूँ जस्तो भयो। घर पुग्नेबित्तिकै आमालाई सुनाएँ। बाबालाई फोनमा भनेँ।

म उत्साहित भएको देखेर उहाँहरूले भ्रमणमा जाने अनुमति दिनुभयो। तर कताकता उहाँहरू पनि मजस्तै डराउनुभएको थियो। आमाले आफ्नो डर लुकाउँदै भन्नुभयो, ‘जाऊ न त, साथीहरूसँग रमाइलो हुन्छ। केही नयाँ कुरा सिक्न पाइन्छ।’

भ्रमणको तयारी सुरु भयो। जाने दिन आइपुग्यो। विद्यालय हाम्रो घरनजिकै छ। अरू साथी आउन थालेपछि म पनि समयमै झोला बोकेर त्यहाँ पुगेँ। कतिपय साथी आइसकेका थिए। कतिपय आउँदै थिए। बिहानको खाना विद्यालयको क्यान्टिनमै खायौँ। स्कुलको पार्किङमा टुरिस्ट बस देखिएन। हाम्रा झोलाहरू धमाधम स्कुलकै बसमा राखिए। एकछिन मन खिन्न भयो। ‘स्कुल बसमा पो गोरखा हुँदै पोखरा जानुपर्ने हो’ सोचेर।

टुरिस्ट बस आउँदा टेलिफोन र इन्टरनेटका तार छिनिने हुनाले स्कुलको बसमा बानेश्वर चोकसम्म जाने र त्यहाँ टुरस्टि बस चढ्ने कुरा बाबाले सुनाउनुभयो। अनि म खुसी भएँ। संसद् भवनअगाडि टुरिस्ट बसले हामीलाई कुरिरहेको थियो। जसमा लेखिएको थियो, ‘पाठशाला नेपाल फाउन्डेसन, शैक्षिक भ्रमण, २०७९’।

बिहान ७ बजे पोखराका लागि हाम्रो यात्रा सुरु भयो। त्यत्रो ठूलो र चौडा बाटोमा टुरिस्ट बस जान नसकेको थकथकीले मलाई अझै छोडेको थिएन। त्यही कुरा मनमा खेलिरहेको थियो। बाटोमा तारका गुजुल्टा देख्नेबित्तिकै त्यही कुरा सम्भिएँ। सरकारी निकायको लापर्बाही लाग्यो। यात्रा अगाडि बढिरहेको थियो। बीचबीचमा आमाबाबालाई म्यासेज गरिरहेको थिएँ। उहाँहरूले पनि त्यसको जवाफ दिइरहनुभएको थियो।

शोभा गुरुआमा सँगै हुनुहुन्थ्यो। त्यसैले हामी विद्यार्थी अनुशासित र ज्ञानी भएर बसेका थियौँ। यात्रामा बाटो छेउमा थापिएका ससाना पसल देखेँ। रमणीय दृश्य देखेँ। गाडी जति अघि बढ्थ्यो, मलाई आमाबाबाको यादले त्यति नै सताउँथ्यो। उहाँहरूसँग गरेको यात्रा याद आउँथ्यो।

सँगसँगै रातिको डर पनि मलाई त्यति नै झस्काइरहेको थियो। घरमा विरलै एक्लो सुत्थेँ। कि दिदी, कि बाबा अथवा आमासँग मात्र सुत्ने हुनाले रातिको पिर परिरहेको थियो। बाटोका कारण हाम्रो गोरखाको भ्रमण रद्द भयो। मेरो त्यहाँ जान निकै मन थियो। गोरखा जान नपाउँदा नरमाइलो लाग्यो। त्यसपछि खाना खानका निम्ति गाडी रोकियो। खाना खाइसकेपछि यात्रा अघि बढ्यो।

पहिले मुग्लिन हुँदै हामी बाबाको जन्मघर चितवन जान्थ्यौँ। तर यसपालि त्यो बाटो छुट्टियो। बस पोखरातिर मोडियो। भ्रमणमा मेरा मिल्ने साथी आएका थिएनन्। केटी साथीसित अलिक लजाउँछु। खासै बोल्दिनँ। ‘आउँछु’ भनेका केटा साथीहरू अन्तिममा भ्रमणमा आएनन्। सायद उनीहरूले आमाबाबालाई छोड्न सकेनन्। वा आमाबाबाले नै नपठाएको नि हुन सक्छ।

हुन त गाडीमा भएका जति हामी सबै साथी नै थियौँ। तैपनि सँगै बेन्चमा बस्ने, गफिने साथी भएनन्। मुग्लिन कटेर पर पुग्दा सडक विस्तारले गर्दा बाटो भत्किएको थियो। त्यसको मर्मतसम्भार भइरहेको थियो। गोरखा जाने बाटोलाई बीचमै छोडेर पोखरा पुगियो। होटलमा पुग्नासाथ आफ्नो साथी छानेर कोठामा जानुपर्ने थियो। एउटै बेन्चका गफिने र मिल्ने साथी नभएकाले अरू साथीहरूसँग कोठा सेयर गरेँ।

हामी त्यहाँ पुग्दा साँझ भइसकेको थियो। बेलुकाको खाना खान गयौँ। खाना असाध्यै स्वादिलो थियो। दिउँसो कटेजमा खाएको खानाको स्वाद बिर्साउने खालको। यात्राले होला निकै भोक लागेको थियो। टन्नै खाइयो। सरले हामीलाई दोस्रो दिनको घुमघाम तालिका भन्नुभयो। केहीबेर साथीहरूसँग कुराकानी गरियो। मेरी साथी एडियना वाग्लेका कुरा रमाइला लागे। एडियनाका कुरा सुनेर खूब हाँसियो। दिनभरको थकाइ पनि बिर्सिएँ। त्यसपछि म त सुत्न हिँडेँ। घरको याद आयो। सुत्नुअघि आमाबाबालाई फोन गरेँ। जसोतसो रात बित्यो। बिहान सबैभन्दा पहिले म उठेँ। त्यसपछि साथीहरूलाई उठाएँ।

सात कक्षाको वर्ग ‘ए’का निर्माण नरसिंह थापा यात्रामा मेरा साथी बने। हुन त कक्षााभरिका सबै मेरा साथी नै हुन्। तर म यसै वर्ष पाठशाला बागडोलबाट बानेश्वर सरेको हुँ। त्यसैले कक्षाका सबैसँग आत्मीय हुन सकेको छैन। बागडोलका साथीसँग कुराकानी गरिरहन्छु। यताका साथीसँग पनि बिस्तारै जोडिँदै छु।

यात्राको दोस्रो दिन। बिहानको खाजा खाएर सराङकोटतर्फ लाग्यौँ। त्यहाँको रमाइलो दृश्य अवलोकन गर्‍यौँ। त्यो हाम्रो पढाइ समूहको अध्ययन थियो। त्यसैले बजारको अध्ययन पनि जारी नै राख्यौँ। हामीले त्यहाँ हुने अध्ययनबारे लेख्नुपर्ने थियो। मैले त्यहाँको जानकारी लिएँ। कति पर्यटक आउँछन्? नेपाली बढी आउँछन् कि विदेशी? जस्ता प्रश्न सोधेँ।

हिँड्दाहिँड्दा थाकियो। अनि बाटोमा कागती पानी पिउँदै हिँडेँ। तस्बिर पनि खिचिरहेँ। हरेक १० जनालाई एक शिक्षकले हेर्नुहुन्थ्यो। सात समूह थिए। सबैमा एकएक शिक्षक हुनुहुन्थ्यो। हामीले समूहको फोटो खिच्यौँ। हिमाल नियाल्यौँ। अनि बिस्तारै विन्ध्यवासिनी मन्दिर दर्शनका लागि हिँड्यौँ। मन्दिर परिसरका रमणीय दृश्य नियाल्यौँ।

महेन्द्र गुफा, पोखरामा नदी भासिनेलगायत विषयमा हामीले बुझ्यौँ। सोध्यौँ। एक जना त्यहाँ भ्रमण गर्न आउने पर्यटकले यसरी नदी भासिँदै गएको क्षेत्रमा डाँडै भासिन्छ भने। त्यो सुन्दा नरमाइलो लाग्यो। घर फर्किएपछि मैले यसबारे इन्टरनेट, युट्युबमा किन भासिँदै छ पोखरा? भनेर खोजी गरेँ।

मेरो बाबाले सधैँ भनिराख्नुहुन्छ, ‘पोखरा नेपालको युरोप हो।’ उहाँले यस्तो किन भन्नुहुन्छ भन्ने कुरा त्यहाँ पुग्दा हरेक पटक महसुस गर्छु। साथीहरूसँग घुम्न जाँदा झनै फरक अनुभूति हुने रहेछ। पोखराबारे थुप्रै गीत लेखिएका छन्। गाइएका छन्। पोखरा यसै मानिसको हृदयमा बस्दैन। पोखरा घुमिरहँदा मैले धमेन्द्र सेवानको ‘हेर्दा राम्रो माछापुच्छ्रे..’ गीत सम्झिएँ। गुनगुनाएँ पनि।

विन्ध्यवासिनीको दर्शन सकेर हामी पुनः होटल फर्कियौँ। दिउँसोको खाना खायौँ। त्यसपछि अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयतर्फ गयौँ। त्यहाँ सबै जातजातिको विस्तृत ढंगले बयान गरिएको छ। करिब एक घण्टा त्यही बित्यो। त्यसपश्चात् होटल गई आराम गरियो। अनि हामी लेकसाइडका बजार घुम्न निस्कियाैँ। आमाबाबा र दिदीका लागि पोखराको चिनो किनेँ। तर काठमाडौँको तुलनामा पोखरामा सामान एकदमै महँगो रहेछ। साथीहरूलाई पनि यस्तै लाग्यो। उनीहरूले पनि खासै किनमेल गरेनन्।

त्यसपछि होटल पुगेर खाना खायौँ र आआफ्नो कोठामा गएर सुत्यौँ। सुत्नुअघि आमाबाबासँग गफ गरेँ। अनि एकैपटक बिहान ६ बजे पो उठिएछ। साथी निर्माण पनि उठे। आमाबाबालाई ‘गुड मर्निङ’ म्यासेज पठाउँदै मेरो यात्राको तेस्रो दिन सुरु भयो। आजको तालिकाअनुसार फेवा ताल जानुपर्ने थियो। जहाँ मैले केही प्रश्नको जवाफ लेख्नुपर्ने थियो।

गुरुआमाले भनेअनुसार हामीले प्रश्नका उत्तर लेख्यौँ। रमाइलो भयो। म फेवा तालसँग अपरिचित थिइनँ। धेरै पटक पुगिसकेको छु। डुंगा चढेर ताल बाराही पुगियो। मन्दिर दर्शन गरियो। त्यहाँ हामी शिक्षकले दिएका प्रश्नको उत्तर खोज्दै व्यस्त भयौँ। मलाई त्यहाँ देखिएका माछाबारे सोध्न मन लाग्यो। फरकफरक बोटबारे सोधैँ। मलाई त्यो ठाउँ सानो आइल्यान्डजस्तो लाग्यो। तलाउको बीचमा। जहाँ परेवा उडिरहेका थिए। साह्रै रमाइलो पल। लाइफ ज्याकेट लगाएर डुंगा चढ्यौँ। मन्दिरलाई एक फन्का लगाएर पुनः तालको किनारमा आइयो।

लाइफ ज्याकेट खोलेर फिर्ता गरियो। अनि हामी फन पार्कतिर लाग्यौँ। थकान महसुस भयो। आमाको याद आयो। घरमा फोन गरेँ। सबै कुरा सुनाएँ। मलाई घरको न्यास्रो लागेको थियो। केही क्षणपछि १० रुपैयाँको सिक्का मगाएर केही किन्ने प्रयास गरेँ। त्यो मसिन चलाएँ। तर सफल भइनँ। क्वाइन उपयोग गर्न पाइनँ। पैसा भएर पनि किन्न पाइनँ।

केहीबेरपछि हामी डेभिज फल्स पुग्यौँ। त्यहाँ मैले सुन्दर तस्बिर खिचेँ। हामी निकै होसियारीका साथ हिँडेका थियौँ। केही साथीले अलि उत्ताउलोपन देखाउन खोज्दा शिक्षकले सम्झाए। त्यसपछि महेन्द्र गुफातर्फ गयौँ। हामीले गुप्तेश्वर गुफा पहिले नै अध्ययन गरिसकेका थियौँ। महेन्द्र गुफा मेरो पहिलो थियो। त्यहाँ मैले धेरै पुराना वस्तुबारे थाहा पाएँ। मैले घरका लागि २० रुपैयाँमा प्रसाद किनेँ।

महेन्द्र गुफा, पोखरामा नदी भासिनेलगायत विषयमा हामीले बुझ्यौँ। सोध्यौँ। एक जना त्यहाँ भ्रमण गर्न आउने पर्यटकले यसरी नदी भासिँदै गएको क्षेत्रमा डाँडै भासिन्छ भने। त्यो सुन्दा नरमाइलो लाग्यो। घर फर्किएपछि मैले यसबारे इन्टरनेट, युट्युबमा किन भासिँदै छ पोखरा? भनेर खोजी गरेँ।

त्यहाँ भेटिएका सामग्रीअनुसार पोखराले साँच्चै नथेग्ने रहेछ। कुनै पनि बेला भासिने रहेछ। ठाउँठाउँमा धाँजा फाट्नु, नदी जमिनमुनि सुसाउँदै बग्नु। विभिन्न कुरा थाहा पाएपछि प्रकृतिसँग कसैको केही लाग्दैन भन्ने लाग्यो।त्यहाँ सकेर हामी बेगनास ताल गयौँ। त्यहाँ केही बेर बस्यौँ। रमायौँ। तालपछाडिको बस्ती हेर्‍यौँ। त्यसपछि हामी खाना खान एउटा रेस्टुरेन्टतिर लाग्यो। योसँगै पोखराको तीनदिने बसाइ सकियो।

त्यसपछि चितवन सौराहातर्फ लाग्यौँ। पोखरा पटकपटक गएझैँ चितवन त झन् धेरै पटक गएको छु। सौराहामा सानैमा हात्ती चढिसकेको छु। त्यसैले यसपालि एक्लै हात्ती नचढ्ने सोच बनाएँ। बीचबीचमा रमाइलो गर्दै सौराहाको एक होटलमा पुग्यौँ। होटल सिराइचुली निकै राम्रो लाग्यो। होटलका कर्मचारीहरूको न्यानो स्वागतले दंग पर्‍यौँ।

मलाई नाच्न असाध्यै मन पर्छ। गीत बज्यो कि नाचुँ-नाचुँ लागिहाल्छ। घरमा पनि गीत बजाएर खूब नाच्छु। फायर क्याम्पमा पनि नाच्न मन लागिरहेको थियो। नाचेँ पनि। त्यहाँ गीतको तालमा नाच्ने म नै पहिलो केटा थिएँ। मलाई देखेर पछि अरू साथी पनि नाच्न थाले। नाचगानले चिसो मौसमलाई ततायो।

पोखराले अतिथि सत्कार भव्य गर्छ भन्थे तर सौराहाको संस्कारले पोखरालाई उछिनेको अनुभव गरेँ। हामी त्यहाँ पुग्दा राति भइसकेको थियो। त्यसपछि कोठामा सँगै बस्ने साथी छनोट गरेँ। मसँग कृतिक परे। तर मलाई गाह्रो पर्ला भनेर गुरुआमाले पुरानै साथी निर्माण ल्याइदिनुभयो। कृतिकसँग बस्दा पनि म खुसी नै हुन्थेँ।

मैले भोलि लगाउने लुगा तयार पारेँ। त्यसपछि नुहाएर सुतेँ। ठाउँठाउँको खाना र पानीले होला मेरो पेट दुखिरहेको थियो। फोन गरी गुरुआमालाई बोलाएँ। उहाँलाई आफ्नो समस्या भनेँ। उहाँले तातो पानी पिउन दिनुभयो। एकछिन मसँगै बस्नुभयो। त्यसपछि ‘गुडनाइट’ भनेर आफ्नो कोठातिर जानुभयो। तातो पानीले अलि राहत महसुस भयो। अनि मैले निदाउने प्रयास गरेँ।

बिहान अलार्म बजेपछि उठेँ। त्यो हाम्रो शैक्षिक भ्रमणको अन्तिम दिन थियो। बिहानको खाजा खाएर हामीलाई हात्ती प्रजनन केन्द्र लगियो। त्यहाँ जंगली हात्ती भएकाले हामी सतर्क र चुपचाप थियौँ। चितवनमा जंगली हात्तीले दुःख दिएको कुरा सुनेको थिएँ। हात्तीका खुट्टामा साङ्ला थिए। तैपनि विशालकाय हात्ती देखेर डर लाग्यो। तर तिनका छावा देखेर हामी दंग पर्‍यौँ। अनि हात्ती र छावाका तस्बिर खिच्यौँ।

अलि पर झोलुंगे पुल आयो। साथीहरू दौडेर गइरहेका थिए। कोही बिस्तारै हिँडिरहेका थिए। त्यसपछि हात्ती संग्रहालयमा गयौँ। त्यहाँ हात्तीबारे धेरै जानकारी पाएँ। नेपालमा र अफ्रिकामा पाइने हात्ती फरकफरक हुने गरेको थाहा पाएँ। नेपालका विभिन्न सञ्चारमाध्यममा नेपाली हात्तीको कथा आउँदा तस्बिरचाहिँ अफ्रिकी हात्तीको हुने त्यहाँका मानिसले बताए। यो सुन्दा मानिसलाई सबै कुराको ज्ञान हुनुपर्छ भन्ने लाग्यो।त्यसपछि थारू संग्रहालय गयाैँ। जहाँ थारू समुदायबारे धेरै बुझ्न पाएँ। चितवनका आदिवासी हुन् थारू। उनीहरूलाई सज्जन जातिका रूपमा पनि चिनिन्छ। उनीहरू निकै सोझा हुन्छन्।


त्यसपछि खाना खान रेस्टुरेन्टमा छिर्‍यो। शिक्षकले हामीलाई इच्छानुसारको क्रियाकलाप गर्न दिनुभयो। कोही साइकल चलाउन थाले। कोही सफारीमा लागे। कोही राप्ती खोलामा रमाउन थाले। म पनि राप्ती खोलामा गएँ। केही समय त्यही बसेँ। घाम ताप्दै, आइसक्रिम खाएर रमाइलो गरेँ। सम्झनाका लागि फोटो खिँचे। अस्ताउँदो सूर्यलाई नजिकबाट हेरेँ। सूर्य पानीमै डुबेको जस्तो लाग्ने। दंग परेँ।

खाना हामी बसेको होटलभन्दा फरक रेस्टुरेन्टमा गएर खाइयो। फर्किएपछि फायर क्याम्पमा रमाइयो। मलाई नाच्न असाध्यै मन पर्छ। गीत बज्यो कि नाचुँ-नाचुँ लागिहाल्छ। घरमा पनि गीत बजाएर खूब नाच्छु। फायर क्याम्पमा पनि नाच्न मन लागिरहेको थियो। नाचेँ पनि। त्यहाँ गीतको तालमा नाच्ने म नै पहिलो केटा थिएँ। मलाई देखेर पछि अरू साथी पनि नाच्न थाले। नाचगानले चिसो मौसमलाई ततायो।

पछि थारू जातिको नाच तथा प्रस्तुति हेरियो। रमाइलो लाग्यो। सानोमा नहेरेको होइन। तर खासै याद थिएन। यसपटक भने गीतको ताल बुझेर उनीहरूका नाचमा रमाएँ। घुमघामसँगै हाम्रो अध्ययन पनि जारी थियो। सौराहाका पसलपसल गयौँ। मूल्य बुझ्यौँ। सबै चिज महँगा लागे। त्यसपछि होटल फर्कियौँ। दिनभर धुलोमाटो, पसिनाका कारण यसै सुत्न मन लागेन। नुहाइधुवाइ गरी ‘फ्रेस’ भएर सुतेँ। साथी निर्माण पनि सफा भएर सुते।

त्यो दिन निकै हिँडेकाले थाकियो। ओछ्यानमा पल्टिनासाथ निदाएछु। बिहान आमाबुबालाई फोन गरेँ। आज उहाँहरूलाई भेट्न पाउँछु भनेर खुसी थिएँ। ब्रेकफास्ट खायौँ। साथी निर्माणलाई होटलमा लिन मामाघरबाट कोही आउनुभएको रहेछ। उनलाई बिदा गरी अरू साथीहरूसँग काठमाडौँको यात्रा तय गरे। उसो त मेरो बाबाको जन्मथलो चितवन हुनाले मलाई आफन्त भेट्न मन थियो। तर उहाँहरूसँगको भेटघाटको मजा फरक र साथीहरूसँग हुँदाको फरक भन्दै घरमा खबर गरिनँ।

बाटोमा रमाइलो गर्दै हामी काठमाडौँ फर्कियौँ। सीधै बानेश्वर पुग्यौँ। जहाँ मलाई लिन आमाबाबा आउनुभएको थियो। हामी सँगै घर आयौँ। घरबाट गएदेखि फर्किँदासम्मका सबै कुरा सुनाएँ। पोखराको घुमाइ रमाइलो, बसाइ ठीकै र चितवनको बसाइ रमाइलो तर घुमाइ ठीकै लाग्यो। शैक्षिक भ्रमण मजाको र उपलब्धिमूलक लाग्यो।

[पाठशाला नेपाल फाउन्डेसन, कक्षा ७ ‘ख’]

प्रकाशित: ७ माघ २०७९ १९:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast