नियात्रा

पुग्नैपर्ने ठाउँ घलेगाउँ

प्रकाश काफ्ले १३ माघ २०८० १६:३१
764
SHARES
पुग्नैपर्ने ठाउँ घलेगाउँ

अघिल्ला वर्ष जसरी यसपटक पनि कक्षा १० का २०९ जना इच्छुक विद्यार्थीलाई बन्दीपुर र घलेगाउँ शैक्षिक भ्रमण लाने निर्णय गर्‍यो विद्यालयले। दुईदिने भ्रमणको सुरु माघ ३ गते भएको थियो। भ्रमणका लागि १३ जना शिक्षकको संयोजनमा सबै तयारी गर्‍यौँ। हाम्रा लागि सातवटा बस तयार भए। हामी बिहान ६ः३० बजे विद्यालयबाट निस्कियौँ।
एउटा समूहको जिम्मा मेरो र कृष्णा मिसको थियो। म त्यही समूहको कक्षाशिक्षक हुँ। चिसो मौसममा कलंकी-थानकोट हुँदै हाम्रो यात्रा अगाडि बढ्यो।

हामी चढेको बस नौ बजेतिर धादिङको मलेखु नजिकैको त्रिशूली किनारको होटलमा गएर रोकियो। सोही होटलमा खान तयार रहेछ। हामी अगाडिको बसमा भएका सबैले खाना खायौँ। अरू साथीहरू आउँदै हुनुहुन्थ्यो। त्रिशूली किनारमा केही तस्बिर खिचेर हामी अगाडि बढ्यौँ। किनभने हामीलाई जतिसक्दो छिटो बन्दीपुर पुग्नुपर्ने थियो। बसमा गीत गाउने, नाच्ने, हल्ला गर्ने विद्यार्थीको स्वभावै हो। त्यसलाई रमाइलो मानिरहँदा यात्रा पनि चाँडै सकिँदो रहेछ।

तनहुँको डुम्रेबजारमा पुगेपछि हामी सबैका आँखा एउटा सुन्दर दृश्यमा गए। बजारभरि पहेँलपुर ताजा सुन्तलाको पसल देखेपछि कसको मुख नरसाउला र! सुन्तलाको त मौसम नै हो। त्यसमा पनि गोरखा, तनहुँका सुन्तला भनेपछि सबैतिर चर्चित छ।

डुम्रेबजारबाट अलिक अगाडि राजमार्गबाट करिब ८ किमि अगाडि डाँडामा पर्ने बन्दीपुर पुग्ने विद्यार्थीको रहर थियो। त्यसैले उनीहरू बढी जिज्ञासु थिए। बेलाबेलामा ‘सर कतिबेर लाग्छ बन्दीपुर पुग्न?’ भनेर सोधिरहन्थे। बसमा बजेको संगीत, विद्यार्थीको होहल्लाले बिस्तार हुँदै गरेको सडकको धुलोतर्फ हाम्रो ध्यान नै गएनछ। विद्यार्थी पनि पारि क्षितिजको तस्बिर लिँदै रमाउँदै थिए।

बाटो उकालो थियो। जति माथि चढ्दै गयो उति मनमोहक दृश्य देखिन थाल्यो। देब्रेतिर एउटा बाख्रा फाराम रहेछ। त्यसलाई अवलोकन गर्दै हामी ११ः३० बजे बन्दीपुर पुग्यौँ। बन्दीपुर पुरानो ऐतिहासिक बस्ती हो। यहाँका पुराना घर, विभिन्न संरचना, स्मारक, आधुनिक परिकारका खाना पाइने विज्ञापन देख्दा गाउँ र सहरको मिश्रण त देखिन्थ्यो नै आधुनिकता र पुरातन सभ्यताका पहिचान पनि छरपस्ट थिए। विदेशी पर्यटक बारमा बसेर अँगालिँदै थिए। कतै फूलका लहराका गुच्छा झुन्ड्याएका थिए।

विद्यार्थी पनि त्यो परिवेशमा केही बेर रमाए। चिनियाँ पर्यटकसँग अंग्रेजीमा भलाकुसारी गरे। जिज्ञासा र ओजस्वीले रेस्टुरेन्टको टेबलको मेनु हेर्दै फोटो खिचाउन आग्रह गरे। कसैले भने मन परेका तस्बिर खिचेर सामाजिक सञ्जालमा पोस्ट्याए। कृष्णा मिस पनि तस्बिर खिच्न सौखिन हुनुहुँदो रहेछ।

अलिक पर टुँडिखेल छेउबाट देखिने तनहुँको रमणीय दृश्य अत्यन्तै मनमोहक थियो। परपरसम्म हरियाली डाँडा, तल देखिने नालीबेली आकारको राजमार्गको दृश्यले झन् मन लोभ्यायो। बद्री सरले आफ्नो गाउँको घर त्यहीँबाट देखाउनुभयो। त्यहाँ घोडा चढ्न पनि पाइने रहेछ। केहीले तस्बिर लिए त कोहीले घोडा दौडाए। अशोकले घोडा दौडाएको भिडियो बनाउँछु भनेपछि मलाई पनि चढ्न मन लाग्यो। बाल्यकालमा बाले घोडा पाल्नुभएको थियो। मैले त्यति बेलै घोडा दौडाउन जानेको थिएँ। त्यहाँ पनि एकछिन घोडा दौडाएर रमाएँ।

सितास्मा, क्रिस्टिना र एलिना पनि घोडा चढेर आनन्दित भए। केही विद्यार्थीले बन्दीपुरको चटपटे छुटाउन हुँदैन भन्दै खाए। यति गर्दागर्दै दुई घन्टा बितेको पत्तै भएनछ। हामी त्यहाँको रमाइलो पललाई मनमा राख्दै घलेगाउँतर्फ हुइँकियौँ।

बस डुम्रेबेसीको पुल तरेर लमजुङतिर मोडियो। विद्यार्थीलाई खाजा खुवाएर हामी अगाडि बढ्यौँ। पहाडी परिदृश्य हेर्दै अगाडि बढ्दै जाँदा सुन्दर र समथर फाँटमा बजार देखियो। नामै रहेछ लमजुङको सुन्दर बजार। आहा कति सुन्दर! भोटेओडार हुँदै हामी मर्स्याङ्दी नदीको किनारैकिनार उत्तरतर्फ अगाडि बढ्यौँ। मध्यमर्स्याङ्दी जलविद्युत् परियोजनाको अवलोकन बाटोबाटै गरियो। अलिक माथि देब्रेतिर भित्तामा बसेको एउटा बजार निकै आकर्षक देखियो। लमजुङ सदरमुकाम बेसीसहर त्यही रहेछ।

अपराह्न चार बजेको थियो। बजारलाई देब्रे पारेर हाम्रो गाडी घलेगाउँतर्फ अगाडि बढ्यो। घलेगाउँ पुग्न कच्ची ग्राभेल बाटो अझै तीन घण्टा जति लाग्छ भनेपछि हामी केही हतास भयौँ। गन्तव्यमा नपुगी सुख्खै थिएन। फेरि केही उत्सुक हुँदै उकालियौँ। विद्यार्थी भाइबहिनी दोहोरी गाएर रमाउन थाले।

चिसो बढ्दै थियो। दोहोरो गाडी पास हुन पनि धेरै ब्याक गर्नुपर्ने रहेछ। हामी चढेको बस बिस्तारै अगाडि बढ्यो। बसभित्रैबाट सूर्यास्तको बेलाको हिमाली दृश्य र हरियाली जंगल देखेपछि विद्यार्थी भाइबहिनी खुसीले पुलकित भए। एकजनाले विद्यार्थी बोलिहाले, ‘सर! हाम्रो देश त स्वर्ग नै हो है, हेर्नुस् त कति रमाइलो छ? यति राम्रो त काहीँ पनि छैन होला?’ अर्का विद्यार्थीले जवाफ दिए, ‘तिमीलाई कसरी थाहा भो? तिमी त विदेश घुमेका छैनौ त!’ अर्काले थपे, ‘विदेश जान्न विदेश जानुपर्छ र सर? यो जमानामा पनि!’

अर्काले भने, ‘के गर्नु मान्छे छैनन् यहाँ। नेताले देश बिगारे सर। हामी त बाँच्नै नसक्ने हुन्छौँ क्या हो पछि गएर त?’ उनको अभिव्यक्तिले मेरो मन चसक्क छोयो। अनि प्रश्न उठ्यो- मेरो देशको भविष्यलाई, ऊभित्र उम्रिएको साहस र हिम्मतलाई देशको शिक्षाले के सिकाएछ? मैले के सिकाएछु? किशोरको मस्तिष्कमा यस्तो सोचाइ आउनुमा धेरथोर मेरो पनि जिम्मेवारी छ। यस्तै-यस्तै गन्थन गर्दै हामी साँझ ७ बजेतिर घलेगाउँ पुग्यौँ।

बसबाट ओर्लेपछि सबै विद्यार्थी एकै ठाउँमा भेला भए। त्यहाँ भीड देखियो। विद्यार्थीलाई यहाँ रहेको होमस्टेमा राख्न केही समस्या भयो। हाम्रो व्यवस्थापनको कमजोरी थियो कि? अलिक भेउ पाइएनछ जस्तो पनि लाग्यो। केहीबेरमा हामीलाई सेतो टीका र फूलले स्वागत गर्न एउटा समूह आइपुग्यो। स्वागतपछि होमस्टे व्यवस्थापन समितिले छात्र र छात्रालाई छुट्टाछुट्टै घरमा राख्ने व्यवस्था मिलायो। जुन घरमा बास बस्ने हो, त्यही घरमा खान, सुत्न र आगो ताप्न पाइने रहेछ अनि रमाइलो पनि त्यहीँ।

शिक्षकहरू पनि विद्यार्थीको निगरानी हुने गरेर भिन्नभिन्न घरमा बासका लागि विद्यार्थीबाट छुट्टियौँ। सोनी, तिर्सना, कृष्णा र कल्पना म्याडमलाई छात्रा भएको घरहरूमा बासको व्यवस्था गरिएको थियो। शैक्षिक भ्रमणमा जानु शिक्षकका लागि सजिलो विषय होइन। व्यवस्थापन र विद्यार्थीको निगरानीमा निकै सास्ती सहनुपर्छ। यद्यपि शिक्षकको जिम्मेवारी भएकाले त्यसमा रमाउनुको विकल्प पनि त हुँदैन।

होमस्टेका हरेक घरका महिला पुरुषले पाहुनालाई खाना खुवाए। उनीहरूले नै सांस्कृतिक कार्यक्रम देखाउँदा रहेछन्। सबै विद्यार्थीलाई सभाहलमा जम्मा हुन खबर गर्‍यौँ। खाना खाएपछि सबै विद्यार्थी जम्मा भएर आगो बालेर आआफ्नो मन परेका गीत र नृत्यमा रमाइलो गरे। क्याम्प फायर गरे भाइबहिनीहरूले। एक घण्टापछि सबै आआफ्नो घरमा सुत्न गए। सुष्मा म्याडमको समूहका केही सदस्य बार्बिक्युको आनन्द लिँदै मादल बजाउँदै रहेछन्। हल्ला सुनेर हामी पनि त्यहाँ पुग्यौँ। बद्री सर, सुष्मा म्याडम र म अन्य सरहरू मादलको तालमा दोहोरी गाउन पो थाल्यौँ। विष्णु सर रमाइलो हेर्दै हुनुहुन्थ्यो। ११ बजेपछि सुत्नैपर्ने त्यहाँको नियम रहेछ। म, बद्री सर, विष्णु ज्ञवाली सर, विष्णु नेपाल सर र शंकरलाल सर एउटै हलमा सुत्यौँ।

भोलिपल्ट अधिकांश विद्यार्थी सूर्योदयको दृश्य हेर्न उठेछन्। म ब्युँझिँदा प्रेम सरले फेसबुकमा भिडियो र सुन्दर फोटो पोस्ट्याइसक्नु भएछ। ओछ्यानमै आएर कवीन्द्र सर र राजेन्द्र सरले आएर केही रोचक किस्सा सुनाउनुभयो। त्यसपछि हामी पनि सूर्योदय हेर्न हतारियौँ। घलेगाउँको अर्गानिक चिया खायौँ। सभाहल हुँदै त्यहाँको खेलमैदान नजिकैको मनमोहक डाँडामा जाँदै थियौँ। बद्री सरले खेलमैदानमा दौडने प्रस्ताव गर्नुभयो। म पनि हौसिएँ। राजेन्द्र सर, बद्री सर र मेरो दौड चल्यो। राजेन्द्र सरले जित्नुभयो। उता विष्णु ज्ञवाली सर पनि म्याडमहरूसँग प्रतिस्पर्धा गर्दै हुनुहुँदो रहेछ। विष्णु सरले दौड उछिन्नुभयो। हामी खुब हाँस्यौँ।

घलेगाउँ निकै रमाइलो रहेछ। हामी डाँडामा उक्लेर फुसफुसे तुसारो परेको चौरमा सेता हिमालसँग जोडिएझैँ गरी राम्रा फोटा खिच्यौँ। नजिकै फिल्म क्षेत्रका मान्छे क्यामेरामा तस्बिर र भिडिओ कैद गर्दै थिए। उता विद्यार्थीले भ्युटावर, सेल्फी डाँडा घुमिसकेछन्। खुबै रमाइरहेका थिए सहरका बालबालिका त्यहाँ। उनीहरू रमाउँदा हामी पनि आनन्दित भयौँ।

हामीलाई खाजा खान फोन आयो। कोदोको सेलरोटी हाम्रा लागि नौलो थियो। गुन्द्रुक र आलुको अचारको खाजा कति स्वादिलो आहा! त्यसपछि पालो आयो विद्यार्थीलाई घलेगाउँबारे जानकारी गराउने। समिति भवनमा सबै विद्यार्थीलाई घलेगाउँबारे जानकारी दिन डाकियो।

६ सय वर्ष पुरानो बस्ती रहेछ घलेगाउँ। करिब एक हजार नौ सय ७० मिटरमा अवस्थित घलेगाउँमा ४५ वटा होमस्टे र तीनवटा होटल छन्। १०६ वटा परम्परागत घर रहेछन्। २०५७ सालमा दक्षिण एसियाली क्षेत्रकै नमुना गाउँको रुपमा मान्यता पाएको रहेछ घलेगाउँले। सात सय जनसंख्या रहेको घलेगाउँमा घले, गुरुङहरूको आफ्नै पहिचान संकृति रहेछ। करिब १५ दलित परिवारबाहेक सबै गुरुङ सुमदायको बस्ती।

धानखेतमा पुग्न दुई घण्टा तल झर्नुपर्ने रहेछ। त्यहाँ कोदो, आलु, चिया र अन्य तरकारी उत्पादन हुँदो रहेछ। यो नमुना बस्ती आफ्नै स्थानीय खाना, पहिरन, पुराना घुमाउरा छाना भएका घरको बनावटका कारण साँच्चै मनमोहक रहेछ। यहाँका बासिन्दाको आम्दानीको स्रोत पर्यटक रहेछन्।

हामीलाई मनास्लु, अन्नपूर्ण, लमजुङ र माछापुच्छ्रे हिमाल देखाउन गाइड दाइ तयार हुनुभयो। हामीले खुबै रमाइलोसँग विद्यार्थीलाई पौराणिक गुम्बा, जलदेवी मन्दिर र हिमालको अवलोकन गरायौँ। माछापुच्छ्रेलाई भने कुहिरोले लुकाएछ, हेर्न पाइएन। निकै बेरसम्म तस्बिर खिच्ने मेला चल्यो। नचलोस् पनि कसरी? यस्तो रमाइलो वातावरणमा पहिलोपटक पुगेका थिए विद्यार्थी। कोहीकोहीले गुरुङ पोसाकमा सजिएर फोटो खिच्न पनि भ्याए। हाम्रो समूह निकै ठूलो भएकाले सबैले त्यो मौका पाएनन्। अलिक तल चियाबगानको हरियालीले लोभ्यायो हामीलाई। केही रमाइलो लाग्यो कि एउटा फोटो लिऊँ न सर भनिहाल्छन् विद्यार्थी। आफूलाई झनै रमाइलो लाग्ने। चियाबारीको रमाइलोमा एउटा ‘रिल’ बनाउने नाचसमेत नाचियो। त्यो सकेर घलेगाउँको सानो संग्रहालय अवलोकन गर्‍यौँ।

यति गरिसकेपछि सबै आआफ्नो होमस्टे फर्कियौँ। खाना खाँदा ११ बजिसकेछ। बालबालिकालाई घलेगाउँ छोड्न पटकै मन थिएन। कोही त आज यतै बसौँ सर भन्दै थिए। अब हामीलाई काठमाडौँ पुग्नु थियो बेलुकीसम्म। हरेक घरबाट सबैजनालाई सेतो टीका, माला र मायालु सदभावले हाम्रो बिदाइ गर्‍यो घलेगाउँले। सिस्नुको धुलो र स्थानीय प्रविधिमा तयार गरेको चिया कोसेली बोकेर मध्याह्न १२ बजेतिर हामी काठमाडौँ फर्कियौँ।

आबुखैरेनीमा ताजा सुन्तला किन्यौँ। हामीलाई हतार थियो त्यसैले बाटोमा खाजा खाने समय जुरेन। विद्यार्थी भाइबहिनीलाई बसभित्रै तयारी खाजा खुवायौँ। राजेन्द्र सर रहेको ‘एफ’ समूहको गाडी धादिङको खानीखोलामा बिग्रिएछ। बनाउन एक घण्टा लागेछ। विद्यालय पुग्दा राति नौ बजेको थियो। कसैलाई अभिभावकको जिम्मा लगायौँ। कसैलाई सवारी व्यवस्था गरी घरै पठाइदियौँ। अनि सबै शिक्षक आआफ्नो घरतिर लाग्यौँ। (काफ्ले ज्ञानोदय मावि, बाफलका शिक्षक हुन्।)

प्रकाशित: १३ माघ २०८० १६:३१

प्रतिक्रिया

2 thoughts on “पुग्नैपर्ने ठाउँ घलेगाउँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =