रोनाल्डो र मेस्सीको खेल हेर्न २६ लाख डलरको भीआईपी टिकट

हिमाल प्रेस ४ माघ २०७९ २०:२८
30
SHARES
रोनाल्डो र मेस्सीको खेल हेर्न २६ लाख डलरको भीआईपी टिकट फाइल फाेटा‍े

काठमाडौँ- क्रिस्टयानो रोनाल्डो र लियोनल मेस्सी बिहीबार राति साउदी अरबको रियादमा आमनेसामने हुँदैछन्। किंग फाहद अन्तर्राष्ट्रिय रंगशालामा हुने यो खेलको भीआईपी टिकट स्थानीय एक व्यापारीले २६ लाख अमेरिकी डलरमा खरिद गरेका छन्। लिलाममा राखिएको यो टिकट खरिद गर्ने ती व्यापारीले रोनाल्डो र मेस्सीसम्मिलित टिमका सबै खेलाडीसँग भेट गर्ने अवसर पाउनेछन्।

यो खेलमा रोनाल्डोले उनको आफ्नै टिम अल नासेर र प्रतिद्वन्द्वी अल हिलालका खेलाडी सम्मिलित साउदी अल स्टार एघार नेतृत्व गर्नेछन्। उता मेस्सी भने पेरिस सेन्ट जर्मेन (पीएसजी) को जर्सीमा हुनेछन्। यी दुई पछिल्लो पटक डिसेम्बर, २०२० मा भिडेका थिए। च्याम्पियन्स लिगको त्यो खेलमा युभेन्टस विजय हुँदा रोनाल्डोले दुई गोल गरेका थिए।

रोनाल्डोका लागि यो खेल म्यानचेस्टर युनाइटेड छाडेर साउदी पुगेपछिको पहिलो हुनेछ। साउदी लिगमा भने रोनाल्डोले आगामी आइतबार डेब्यु गर्ने तालिका छ। साउदीको पहिलो श्रेणीको लिग खेल्ने अल नासरसँग रोनाल्डोले सन् २०२५ सम्मका लागि सम्झौता गरेका छन्। यसवापत रोनाल्डोले करिब २१ करोड ४० लाख अमेरिकी डलर प्राप्त गर्नेछन्।

बिहीबारको मैत्रीपूर्ण खेलका लागि विशेष टिकट लिलामीमा राखिएको थियो। दुई लाख ५५ हजार अमेरिकी डलरबाट सुरु भएको लिलाम बढाबढ अन्ततः मुसरेफ अल घाम्डीको प्रस्तावसँगै टुंगिएको थियो। टिकट लिलामबाट उठेको रकम एक च्यारिटी कोषमा जानेछ।

पीएसजीबाट मेस्सीसँगै किलियान एम्बाप्पे, अचरफ हाकिमी पनि मैदान उत्रने अपेक्षा गरिएको छ। एम्बाप्पे र हाकिमी साउदीको छिमेकी कतारले आयोजना गरेको विश्वकपमा चम्किएका खेलाडीको सूचीमा थिए। त्यही विश्वकपमा साउदीले अर्जेन्टिनामाथि अप्रत्याशित जित दर्ता गर्दा नायक बनेका सालेम अल डावसरी रोनाल्डोको टिममा हुनेछन्।

साउदी पछिल्लो समय साउदी फुटबल र अन्य खेलको सहयोगमा आफ्नो छवि परिवर्तन गर्ने प्रयासमा छ। मानवअधिकारका मामलामा आलोचित हुँदै आएको साउदीले रोनाल्डो र मेस्सी दुवैलाई आफ्नो दूत बनाएको छ। साउदी सन् २०३० को विश्वकप आयोजना अधिकारका लागि विभिन्न देशसँग भिड्न लागेको छ। यो अभियानमा साउदीलाई रोनाल्डोको उपस्थितिले सहयोग गर्ने अपेक्षा गरिएको छ। मेस्सी चाहिँ साउदीका पर्यटन दूत हुन्।

प्रकाशित: ४ माघ २०७९ २०:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − 1 =