प्रधानमन्त्रीले भने : राष्ट्रपति र सभामुख कसले पाउने भनेर लिखित सहमति भएको छैन

आइतबार साँझसम्म सरकारले पूर्णता पाउँछ

हिमाल प्रेस ३० पुष २०७९ १६:५६
420
SHARES
प्रधानमन्त्रीले भने : राष्ट्रपति र सभामुख कसले पाउने भनेर लिखित सहमति भएको छैन

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति, सभामुख कसले पाउने भनेर लिखित सहमति कतै नभएको बताएका छन्। शनिबार राजधानीमा सम्पादकहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत दिने सबै दलहरूसँग बैठक राखेर सहमतिको कोसिस गर्ने बताउँदै एमालेसँग राष्ट्रपति र सभामुख पद बाँड्नेबारे सहमति नभएको बताएका हुन्।

‘राष्ट्रपति र सभामुख कसलाई बनाउने भन्नेबारे लिखित सहमति भएको छैन। छलफल गर्दै जाने भन्ने छ। सबै दलको बैठकबाट पनि त्यसबारे केही सहमति होला’ उनले भने।

यसअघि नेताहरूले नै सत्तारुढ दलहरूबीच सभामुख पद नेकपा एमालेले पाउने सहमति भएको बताएका थिए। सोहीअनुसार प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले तयार भएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि बेलुकीसम्म सरकारले पूर्णता पाउने बताएका छन्। उनले शनिबार बिहान पनि सत्ता गठबन्धनको प्रमुख दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सरकारलाई पूर्णता दिनेबारे छलफल गरेको जानकारी दिए।

उनले भने, ‘ओलीजीसँग पनि त्यही कुरा भएको छ। भोलि बेलुकीसम्म सरकारले पूर्णता पाउँछ र पर्सि पूर्ण मन्त्रिपरिषद् बैठक बस्छौँ।’ प्रचण्डले सभामुखको निर्वाचनअघि सर्वदलीय बैठक बस्ने पनि बताएका हुन्। बैठकका लागि आइतबार सबैलाई खबर हुने जानकारी दिए। माघ ५ मा सभामुखको निर्वाचन हुँदैछ।

‘माघ ३ गते मलाई विश्वासको मत दिने दलहरूको सर्वदलीय बैठक बोलाउँछु। सर्वदलीय सहमति बनाउने मेरो कोसिस छ,’ उनले भने, ‘राष्ट्रपति, उपराष्ट्रपति, सभामुखबारे लिखित सहमति केही छैन । अब बस्ने सर्वदलीय बैठकले धेरै कुरा निर्धारण गर्छ।’

प्रकाशित: ३० पुष २०७९ १६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eight =