प्रिमियर लिग : उपाधि दौडमा रहेका दुई टिमलाई ‘डर्बी’ चुनौती

हिमाल प्रेस ३० पुष २०७९ ९:४९
4
SHARES
प्रिमियर लिग : उपाधि दौडमा रहेका दुई टिमलाई ‘डर्बी’ चुनौती

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा लगभग आधा खेल सकिँदा आर्सनल र म्यानचेस्टर सिटी शीर्ष दुईमा छन्। च्याम्पियन सिटीभन्दा आर्सनल पाँच अंकले अघि छ। लिगमा १७ खेल खेल्दा जम्मा एकमा मात्र पराजय भोगेको आर्सनलको उपाधि दाबेदारितामाथि प्रश्न उठ्न छाडेको छैनन्।

यस्तोमा आर्सनलले यो साता आफूलाई पुनः एकपल्ट लिगकै बलियो टिमका रुपमा प्रमाणित गर्नुछ। र यसो गर्नका लागि उसले लन्डन डर्बीमा टोटनहमको सामना गर्दैछ। टोटनहम रंगशालामा हुने यो खेलको एक दिनअघि सिटी भने ओल्ड ट्राफोर्ड पुग्दैछ। जहाँ शनिबार राति म्यानचेस्टर डर्बीमा पेप ग्वार्डिओला र एरिक टेन हागका टिम आमनेसामने हुनेछन्।

प्रिमियर लिगमा शनिबार नै एभरटन साउथह्याम्पटनसँग भिड्न उसको मैदानमा पुग्दैछ। १८ औँ स्थानको एभरटन र पुछारको साउथह्याम्पटनबीचको यो खेलको नतिजाले रेलिगेसनबाट बच्न संघर्षरत सबै टिमलाई प्रभावित पार्नेछ।

अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको लिभरपुल जितको लक्ष्यसहित ब्राइटनको भ्रमणमा निस्किनेछ। लगातार हार व्यहोरिरहेको चेल्सीको भेट लन्डनकै अर्को टिम क्रिस्टल प्यालेससँग हुँदैछ।

आर्सनलका युवा खेलाडीहरू हाल गर या मरको अवस्थामा छन्। बलियो सिटीमाथि दूरी कायम गरेको भए पनि उनीहरूले अबको दुई खेलमा बलियो विपक्षीहरूको सामना गर्नुछ। टोटनहमपछि आर्सनलले म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्नुपर्ने तालिका छ।

गत साता न्युकासल युनाइटेडसँग बराबरीमा रोकिएको आर्सनलका लागि टोटनहम कठिन प्रतिद्वन्द्वी हो। टोटनहम सन् २०१४ यता आफ्नो मैदानमा आर्सनलसँग हारेको छैन। फेरि पछिल्लो पाँच खेलमध्ये दुईमा मात्र जित दर्ता गरेका कारण दबाबमा रहेको टोटनहम प्रतिद्वन्द्वी आर्सनललाई पराजित गर्दै आफू बलियो रहेको सन्देश दिन चाहन्छ।

जसरी हुन्छ शीर्ष चारमा पर्ने प्रयासमा रहेको टोटनहमले गत मेमा आर्सनललाई ३–० ले पन्छाएको थियो। त्यही हारका कारण आर्सनलको चौथो बन्ने लक्ष्य अपूरो रह्यो। चौथो बन्ने दौडमा आर्सनललाई टोटनहमले पछि पारेको थियो। यसपालि भने परिस्थिति बेग्लै खालको छ।

ग्वार्डिओलाका लागि ओल्ड ट्राफोर्ड कठिन मैदान होइन। कम्तीमा पछिल्लो तथ्यांकले यही देखाउँछ। सन् २०११ यता ग्वार्डिओलाको टिमले युनाइटेडको मैदानमा दुई पटक मात्र हार व्यहोर्नु परेको छ। गत अक्टोबरमा सिटीले युनाइटेडलई इत्तिहादमा ६–३ ले पन्छाएको थियो। त्यो हारपछि भने युनाइटेड बलियो लयमा छ। उसले सबैखाले प्रतियोगितामा गरेर जम्मा एक खेल मात्र गुमाएको छ।

फलतः युनाइटेड हाल सिटीभन्दा फगत चार अंकले पछि छ। यो दूरीलाई अझ कम गर्ने युनाइटेडको लक्ष्यमा मार्कस रासफोर्ड निर्णायक साबित हुन सक्छन्। विश्वकपबाट फर्किएपछि युनाइटेडका लागि सात गोल गरिसकेका रासफोर्ड युनाइटेडका मुख्य हतियार हुन्।

योबेला सिटी स्वाभाविक लयमा देखिएको छैन। डिसेम्बरको अन्त्यमा एभरटनसँग बराबरीमा रोकिएको सिटीले त्यसपछिको लिग र एफए कप खेलमा चेल्सीलाई हराएको छ। तर गत बुधबार लिग कपमा साउथह्याम्पटनबाट अप्रत्याशित पराजय भोगेपछि भने सिटीको स्तर खस्किएको हो कि भन्ने संशय उत्पन्न भएको छ।

यहीबीच सिटीका प्रशिक्षक ग्वार्डिओलाले प्रदर्शनमा सुधार ल्याउन आफ्ना खेलाडीहरूलाई आह्वान गरेका छन्। ‘यसरी नै खेल्ने हो भने प्रिमियर लिगमा हामी पछि पने निश्चित छ,’ साउथह्याम्पटनसँगको खेलपछि ग्वार्डिओलाले भने।

गत सिजन एभरटनलाई मुस्किलले रेलिगेसनबाट बचाएका फ्रान्क लाम्पार्ड यसपालि पनि दबाबमा छन्। पछिल्ला पाँच खेलमध्ये एकमा मात्र जित हासिल गरेको एभरटन रेलिगेसन क्षेत्रमा छ। सन् १९५१ यता लगातार प्रिमियर लिगमा रहेको एभरटनले यो सिजन नौ खेल हारिसकेको छ। यस्तोमा लाम्पार्ड बर्खास्तीमा पर्ने सम्भावना बढ्दो छ।

यद्यपि एभरटनका मालिक फरहाद मोसिरीले लाम्पार्डमाथि भरोसा रहेको बताएका छन्। एभरटन सही व्यक्तिहरूले सञ्चालान गरिरहेकाले आफू नआत्तालिएको उनको भनाइ छ। ‘क्लब सही व्यक्तिहरूको हातमा छ। तर हामी सबैजना एउटा कुरामा सहमत छौँ, प्रदर्शनमा सुधार आउनु पर्छ,’ मोसिरीले भनेका छन्।

प्रकाशित: ३० पुष २०७९ ९:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 9 =