प्रदेशमा पनि कांग्रेस-माओवादी ‘मिलेमतो!’

हिमाल प्रेस २९ पुष २०७९ १७:५५
362
SHARES
प्रदेशमा पनि कांग्रेस-माओवादी ‘मिलेमतो!’

काठमाडौँ- प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर संघीय सरकारसँग नजिक रहेको नेपाली कांग्रेसले प्रदेशमा पनि माओवादीसँग मिलेमतो गरेको संकेत देखिएको छ। यद्यपि चार प्रदेशमा एमालेका र दुई प्रदेशमा माओवादीका मुख्यमन्त्री नियुक्त भइसकेका छन्। एउटा प्रदेशमा भने जनता समाजवादी पार्टी (जसपा) को सरकार बनेको छ।

मुख्यमन्त्रीले विश्वासको मत पाइनसकेको र प्रदेशका सभामुख-उपसभामुखमा कांग्रेसले पनि भागबण्डा खोजिरहेकाले कांग्रेस-माओवादीको मिलेमतोको आशंका गरिएको हो।

यस्तो अवस्थामा एमालेबाट नियुक्त मुख्यमन्त्री  विश्वासको मत नपाउने त्रासमा छन्। त्यसैले मुख्यमन्त्रीहरू तत्काल विश्वासको मत लिने दाउमा छन्। प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकार बनेको छ। माओवादीका तर्फबाट सुरुदेखि असन्तुष्टिका स्वर आउन थालेका छन्।

प्रदेश १ मा आधाआधा कार्यकाल भन्दै माओवादी असन्तुष्ट बनेको थियो। केन्द्रमा भने माओवादी र एमालेबीच प्रदेश १ मा पूरा कार्यकाल एमालेले चलाउने सहमति थियो।

प्रदेशका माओवादी नेताले भने आधाआधा कार्यकाल सरकारको नेतृत्व गर्न पाउनुपर्ने विवाद निकाले। ‘आधाआधा कार्यकाल सरकार चलाउन पाउनुपर्छ नभए सरकारमा जाँदैनौँ’, माओवादीका प्रदेश १ का नेता इन्द्र आङवोले हिमाल प्रेससँग भनेका थिए।

विवादमा सहमति नभएपछि एमालेले जसपा र राप्रपाका सांसदलाई मात्र सरकारमा लगेको थियो। अहिले माओवादी पनि सरकारमा गएको छ। तर अझै पनि माओवादीप्रति एमालेको विश्वासको वातावरण बनेको छैन।

प्रदेश १ मा एमालेबाट मुख्यमन्त्री हिक्मत कार्की बन्दा सभामुखमा माओवादीका बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन्।

‘पहिलेबाटै मुख्यमन्त्री नियुक्तिमा समस्या थियो। माओवादीबाट समस्या भयो,’ एमालेका एक नेताले भने, ‘मुख्यमन्त्रीमा समस्या भए पनि सभामुखमा कांग्रेसबाट उम्मेदवारी नै परेन। किन कांग्रेसले उम्मेदवारी दिएन? थाहा भएन।’

पछिल्लो समय एमालेले माओवादीको कांग्रेससँग ‘अवैध साठगाँठ’ गरेको आरोप लगाएको छ। एमालेले मुख्यमन्त्री पाएका प्रदेशमा खिचातानी हुनुको कारण कांग्रेससँग सेटिङ रहेको आरोप एक एमाले नेताको छ।

त्यसो त एमालेले केन्द्रमा पनि कांग्रेससँग माओवादीको मिलेमतो रहेको बताउँदै आएको छ। ‘हामीले उम्मेदवारी दिएका ठाउँमा कांग्रेसको उम्मेदवारी परेको छ। माओवादीले उम्मेदवारी हालेको ठाउँमा उम्मेदवारी परेको छैन,’ एमालेका एक प्रभावशाली नेताले भने, ‘माओवादीले कांग्रेसलाई स्पेस दिएझैँ देखिन्छ।’

सत्ता गठबन्धनमध्ये एमालेले मुख्यमन्त्री लिए माओवादीले सभामुख पाउने र माओवादीले सभामुख पाएका प्रदेशमा एमालेले मुख्यमन्त्री पाउने सहमति भएको थियो।
सुदूरपश्चिम प्रदेशमा एमालेले मुख्यमन्त्री पाउँदा सभामुख माओवादीले पाएको छ। माओवादीका भीम भण्डारी सभामखुको उम्मेदवार बनेका छन्। तर दुई पटक निर्वाचन हुँदासमेत बहुमत नपुग्दा सभामुख चुनिएको छैन।

यता बागमती प्रदेशमा सभामुख राप्रपाको भागमा परेको थियो। मुख्यमन्त्रीमा माओवादीका शालिकराम जमकट्टेल नियुक्त छन्।

सभामुखमा राप्रपाबाट भुवनकुमार पाठक र कांग्रेसबाट शिवराज अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की सिर्जना सैँजूले पनि सभामुख पदमा उम्मेदवारी दर्ता गराएकी छन्। एमाले-राप्रपा चुनावबाटै गठबन्धन बनाएका पार्टी हुन्।

गण्डकीमा पनि एमालेकै खगराज अधिकारी मुख्यमन्त्री बनेका छन्। सभामुख माओवादीको भागमा परेको छ। एमालेबाट निर्वाचित अधिकारीलाई त एकीकृत समाजवादीका सांसद राजीव गुरुङले समेत विश्वासको मत नदिने भएका छन्।

नियुक्तिका बेला प्रदेश प्रमुख कहाँ हस्ताक्षर बुझाएका गुरुङले विश्वासको मत भने नदिने निर्णयमा पुगेका हुन्। अधिकारी निकट स्रोत मुख्यमन्त्रीले कांग्रेससँग पनि विश्वासको मत मागेको बताउँछ।
‘केन्द्रमा सहयोग गरेपछि प्रदेशमा सहयोग हुनुपर्ने आशयले मागिएको हो,’ मुख्यमन्त्री निकट स्रोत भन्छ, ‘तर कांग्रेसले प्रतिपक्षीमै बस्ने निर्णय गरेको छ। केन्द्रमा सहयोग गरे पनि यहाँ किन विपक्षी बन्यो थाहा भएन।’

यहाँ पनि कांग्रेसबाट सभामुखमा उम्मेदवारी नपर्ने सम्भावना छ। लुम्बिनीमा पनि सभामुख माओवादीको भागमा परेको छ। यहाँ उम्मेदवारी दिने÷नदिने कांग्रेसले निर्णय गर्न सकेको छैन।
प्रदेशसहित संघमा ‘छिर्के’ हान्ने दाउमा कांग्रेस रहेको एमाले नेता विष्णु रिजाल बताउँछन्। टुटेको गठबन्धन जोड्नका लागि कांग्रेसले षड्यन्त्र गरिरहेको रिजालको आरोप छ। उनी कांग्रेसको अभिलासा पूरा हुन नदिने दाबी गर्छन्।

विश्वासहीन एमाले, ढुलमुले माओवादी

अब राष्ट्रियसभा, सभामुख र राष्ट्रियसभा चुनाव बाँकी छ। तीन निर्वाचनमै एमाले उम्मेदवार जिताउने तयारी एमालेको छ। राष्ट्रियसभा उपनिर्वाचनमा पनि एमालेकै कोटा भएकाले त्यो कोटा ऊ आफैँ लिन चाहन्छ।
राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि उपनिर्वाचन गर्नुपरेको हो।

सभामुख र राष्ट्रपति त एमालेकै भागमा परेको छ। सत्ता गठबन्धनको भागबण्डामा प्रधानमन्त्री माओवादीले लिँदा अन्य पदमा एमालेमा परेको हो। तर यी पदमा एमालेले माओवादीप्रति आशंका गरेको हो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री प्रचण्डको संवाद भइरहनु र प्रचण्डलाई विश्वासको मत दिनुले एमाले त्रसित छ। सभामुख निर्वाचनमै पनि एमालेले हार्ने हो कि भन्ने संशय बढेको छ।
प्रधानमन्त्री प्रचण्ड भने आफू दर्विलो बन्न सबैतिरबाट सहयोग मागिरहेका छन्। कांग्रेसलाई समेत आशा देखाउँदै उनले विश्वासको मत लिए।

कांग्रेस प्रवक्ता प्रकाशशरण महत भने माओवादीसँग साँठगाँठ नरहेको बताउँछन्। ‘प्रदेशमा हामी ठूलो दल भएका ठाउँमा प्रदेशकै साथीहरूले निर्णय गरेर उम्मेदवारी दिनुभएको होला। पार्टीले परिस्थिति हेरेर निर्णय गरेको हो,’ महतले हिमाल प्रेससँग भने, ‘एमालेका साथीहरूले आशंका गर्नु बेकार छ।’ महतले राष्ट्रपति र सभामुखमा भने आफ्नो पार्टी स्वाभाविक दाबी रहेको लुकाएनन्।

उनी कांग्रेस संसद्को ठूलो दल रहेको र प्रतिपक्षी पनि भएकाले सभामुख वा राष्ट्रपति लिनुपर्ने अडान राख्छन्। उनी भन्छन्, ‘हाम्रो पदाधिकारी बैठकले पनि यही निर्णय गरेको छ। अब सत्ता साझेदार दलसँग पनि कुरा राख्छौँ।’

प्रकाशित: २९ पुष २०७९ १७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =