लुम्बिनी बन्यो नेपाल टि२० लिग च्याम्पियन

हिमाल प्रेस २७ पुष २०७९ १५:२७
12
SHARES
लुम्बिनी बन्यो नेपाल टि२० लिग च्याम्पियन

काठमाडौँ- लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगको उपाधि जितेको छ। बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको उपाधि भिडन्तमा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई २४ रनले पन्छाएको हो। टस जितेर ब्याटिङ गरेको लुम्बिनीले १९.२ ओभरमा सबै विकेट गुमाएर १३३ रनको मध्यम योगफल तयार पारेको थियो। विराटनगरले निर्धारित २० ओभरमा १०९ रन मात्र बनाउन सक्यो।

च्याम्पियन लुम्बिनीले ५५ लाख रुपैयाँ प्राप्त गर्‍यो भने उपविजेता विराटनगरको भागमा ३० लाख रुपैयाँ पर्‍यो। क्वालिफायरसम्म पुगेको जनकपुरले १० लाख र एलिमिनेटरमा पुगेको काठमाडौँले पाँच लाख रुपैयाँले प्राप्त गरे।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भएको पहिलो संस्करणको टि२० लिगको फाइनलमा दुवै टिम ब्याटिङमा सुस्त रहे। लुम्बिनीले दिएको मध्यम लक्ष्य पछ्याएको विराटनगरका जम्मा तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकको स्कोर गरे।

ओपनर अर्जुन साउदले सर्वाधिक ३४ रन बटुल्दा उनका साझेदार गौरअंशु शर्मा चार रन बनाएर आउट भए। त्यसपछि ब्याटिङ गरेका रोहितले त खाता खोल्नै सकेनन्। पाकिस्तानी अलराउन्डर हुसेन तलाटले १३ रन बनाए भने मध्यक्रमका अर्का ब्याट्सम्यान राज नान्नान ६ रनमा सीमित भए।

पृथु बास्कोटाले ३१ रन बनाएर इनिङ्स उकास्ने प्रयास गरे पनि उनी सफल भएनन्। विवेक यादवले ६ र अमर रौटेला आठ रन बनाउँदा नन्दन यादव र किओन जोसेफ तीन र दुई रनमा अविजित रहे।

विराटनगरलाई लक्ष्य प्राप्त गर्नबाट रोक्न लुम्बिनीका हरमित सिंह र सागर ढकालले किफायती बलिङ गरे। हरमितले १६ रन खर्च गरेर दुई विकेट लिए भने त्यति नै विकेट हात पार्न सागरले १९ रन खर्चिए। त्यसैगरी विपुल शर्मा र किशोर महतोले एक–एक विकेट हात पारे।

त्यसअघि ओपनरद्वय हरमित सिंह र लाहिरु मिलान्थाले बलियो सुरुवात दिलाए पनि लुम्बिनीका अन्य ब्याट्सम्यानले उल्लेखनीय रन बटुल्न सकेनन्। दुई विदेशी ब्याट्सम्यानले पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए। भारतका हरमितले १८ बलमा दुई छक्का र तीन चौकासहित ३० रन बनाए। लाहिरुले २८ बल सामना गर्दा ४१ रन बनाउन सके। जसमा तीन–तीन छक्का र चौका सम्मिलित थिए।

कप्तान दीपेन्द्र सिंह ऐरीले २० र इहान पान्डेले १८ रनको योगदान गरे भने बाँकीको ब्याटिङ चलेन। अनिल साह ८ रनमा आउट भए भने विपुल शर्मा र गुल्शन झा पाँच र तीन रनमा सीमित भए। त्यसैगरी शाड्ली शाल्विकको नाममा एक रन रहँदा किशोर महतो दुई रन बनाएर पभेलियन फर्किए।

फाइनलसम्मको यात्रा
लिग चरणमा शीर्षस्थानमाथि कब्जा जमाएपछि लुम्बिनी स्वतः क्वालिफायरमा प्रवेश गरेको थियो। जहाँ लुम्बिनीले जनकपुर रोयल्समाथि ६ रनको रोचक जित दर्ता ग¥यो। त्यही जितले लुम्बिनीलाई उपाधि भिडन्तमा ल्याएको हो।

डबल राउन्ड रोबिन पद्धतिमा खेलाइएको लिगका १० खेलमध्ये दुईमा मात्र पराजिय भोगेको थियो, लुम्बिनीले। सुरुवाती पाँच खेलमा अपराजित रहेको लुम्बिनीलाई पोखरा एभेन्जर्सले पराजित गरेको थियो। लिग चरणको अन्तिम खेलमा भने लुम्बिनीलाई जनकपुरले हरायो। त्यसको दुई दिनपछि लुम्बिनीले जनकपुरसँग क्वालिफायरमा बदला लिएको थियो।

उता विराटनगर भने लिग चरणमा तेस्रो बनेर प्लेअफमा प्रवेश गरेको थियो। एलिमिनेटर काठमाडौँ नाइट्सलाई ९९ रने पन्छाएपछि विराटनगर दोस्रो क्वालिफायरका लागि छनोट भयो। पहिलो क्वालिफायरमा हारेको जनकपुर फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा विराटनगरसँग भिडेको थियो। जनकपुरमाथि ३९ रनका जित दर्ता गर्दै विराटनगरले लुम्बिनीसँगको भेट पक्का गरेको हो।

विराटनगरले लिग चरणका १० खेलबाट १० अंक नै जम्मा गरेको थियो। सुरुका दुई खेल हारेको विराटनगरले त्यसपछिका दुई खेल जितेको थियो। तर फेरि तीन खेलमा हार व्यहोरेपछि विराटनगरको प्लेअफमा पुग्ने सम्भावना कठिन बनेको थियो। यद्यपि लिग चरणका बाँकी तीन खेल जितेपछि भने विराटनगरले प्लेअफका लागि छनोट भयो।

प्रकाशित: २७ पुष २०७९ १५:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =