नेपाल टि२० लिग : जनकपुरलाई पराजित गर्दै लुम्बिनी फाइनलमा

हिमाल प्रेस २४ पुष २०७९ १६:०२
8
SHARES
नेपाल टि२० लिग : जनकपुरलाई पराजित गर्दै लुम्बिनी फाइनलमा

काठमाडौँ- लुम्बिनी अल स्टार्स नेपाल टि२० लिगको फाइनलमा प्रवेश गरेको छ। आइतबार पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई ६ रनले पराजित गर्दै लुम्बिनीले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो।

लिग चरण सकिँदा शीर्ष दुईमा रहेकाले यी दुई टिमको पहिलो क्वालिफायरमा भिडेका हुन्। अब जनकपुरले एलिमिनेटर विजेताको सामना गर्नेछ। एलिमिनेटरमा विराटनगर सुपर किंग्स र काठमाडौँ नाइट्स आमनेसामने हुँदैछन्। यो खेलको विजेतालाई हराए जनकपुरले फाइनलमा स्थान बनाउनेछ।

एलिमिनेटर साेमबार हुनेछ भने दाेस्राे क्वालिफायर मंगलबार हुने तालिका छ। उपाधि भिडन्त भने बुधबारलाई राखिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा १४४ रनको लक्ष्य पछ्याएको जनकपुर १३७ रनमा सीमित भएको थियो। जनकपुरलाई रोक्न लुम्बिनीका कप्तान दिपेन्द्र सिंह ऐरीले नौ रन खर्च गर्दै दुई विकेट हात पारेका थिए। उनको बलमा जनकपुरका कप्तान ट्रेभोन ग्रिफिथ र दिलिप नाथ आउट भए। ग्रिफिथले १० रन बटुल्दा दिलीपले रनको खाता नै खोल्न सकेनन्।

ग्रिफिथ र शफारुद्दिन असरफले जनकपुरलाई सन्तोकजनक सुरुवात दिलाउन सकेनन्। यी दुईले पहिलो विकेटका लागि मात्र २२ रनको साझेदारी गर्नसके। मध्यक्रमका सन्दिप जोरा र आशान प्रियाजनले क्रमशः दुई र सात रन जोडेका थिए।

समिउल्लाह शिनवारीले ३१ बलमा ४५ रन बनाएर इनिङ्स उकास्न खोजे पनि हार टरेन। उनप्पछि सर्वाधिक रन पवन सराफले जोडे। उनको नाममा ३० रन रह्यो।

टस हारेर ब्याटिङ गरेको लुम्बिनी अल स्टार्सले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा मध्यम योगफल तयार पार्दा इशान पाण्डेले सर्वाधिक ३८ रन बनाएका थिए।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा लुम्बिनीले खराब सुरुवात गरेको थियो। ओपनर हरमित सिंह पहिलो बलमै आउट भए भने अर्का ओपनर लाहिरु मिलान्था १६ रन बनाएर आउट भए।

मध्यक्रममा ब्याटिङ गरेका अनिल साह र विपुल शर्माले क्रमशः २४ र २० रन बटुले। त्यसैगरी कप्तान दीपेन्द्र सिंह ऐरीले १० रन बनाए भने शाड्ली भान शाल्विकको नाममा १७ रन रह्यो।

बलिङतर्फ जनकपुरका आशान प्रियाजन, सोमपाल कामी र जितेन्द्र मुखियाले दुई–दुई विकेट हात पारे। टे«भोन ग्रिफिथ र पवन सराफले एक–एक विकेट लिए।

प्रकाशित: २४ पुष २०७९ १६:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + thirteen =