हारपछि रियलका प्रशिक्षक एन्सिलोट्टीले भने, भिल्लारियलको दबाब थेग्न सकिएन

हिमाल प्रेस २४ पुष २०७९ ९:३७
6
SHARES
हारपछि रियलका प्रशिक्षक एन्सिलोट्टीले भने, भिल्लारियलको दबाब थेग्न सकिएन

काठमाडौँ- स्पेनिस ला लिगाको उपाधि रक्षा गर्ने अभियानमा रहेको रियल म्याड्रिडले शनिबार राति भिल्लारियलसँग हार व्यहोरेको छ। भिल्लारियलसँग उसको मैदानमा २–१ ले पराजित भएपछि रियलले शीर्षस्थानको बार्सिलोनामाथि दबाब सिर्जना गर्ने अवसर गुमायो।

पहिलो हाफ नियन्त्रणमा राखेको भिल्लारियलले दोस्रो हाफ सुरु भएको दुई मिनेटमै गोल गरेको थियो। भिल्लारियलका स्ट्राइकर जेरार्ड मोरेनको पासमा येरेमी पिनोले खेलको पहिलो गोल गरेका थिए।

खेल ६० औँ मिनेटमा पुग्दा रियल खेलमा फर्किएको थियो। अर्जेन्टाइन रक्षक जुवान फोयथले ह्यान्ड गरेपछि पाएको पेनाल्टीमा रियलका कप्तान करिम बेन्जेमाले सहजै गोल गरे।

तर तीन मिनेटपछि नै भिल्लारियलले अग्रता पुनः स्थापित गर्‍यो। यसपालि चाहिँ भिल्लारियल भाग्यमानी सबाति भयो। रियलका रक्षक डेभिड अलाबाले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि रेफ्रीले खेलमा दोस्रो पटक पेनाल्टी दिए। त्यस अवसरलाई मोरेनोले खेर जान दिएनन्।

यो नतिजासँगै रियल र ३८ अंकसहित दोस्रो स्थानमा छ। एक खेल कम खेलेको बार्सिलोनाको पनि ३८ अंक नै छ। तर आइतबार राति एट्लेटिको म्याड्रिडलाई हराए बार्सिलोनाले रियलसँग तीन अंकको दुरी कायम गर्नेछ।

गत साता चौथो श्रेणीको टिम कासिरान्योलाई कोपा डेल रेमा मुस्किलले हराएको रियल लिगमा दोस्रो पटक पराजित भएको हो। ‘खेलाडीहरू अन्तिमसम्मै लडे। तर भिल्लारियलले हामीभन्दा राम्रो खेल्यो। हामी चाहिँ रक्षापंक्तिमा कमजोर देखियौँ। उनीहरू सिर्जना गरेको दबाबलाई हामीले थेग्न सकेनौँ। उनीहरूले बारम्बार हाम्रो मिडफिल्ड र रक्षापंक्तिलाई छिचोलेर बल बक्समा पुर्‍याइरहे,’ हारपछि रियलका प्रशिक्षक कार्लो एन्सिलोट्टीले भने।

पछिल्ला केही वर्षयता भिल्लारियलको मैदानमा रियल जितका लागि संघर्षरत रहँदै आएको छ। त्यहाँ भएका ११ खेलमध्ये दुईमा मात्र रियलले जित हात पारेको तथ्यांक छ। पछिल्लो पटक रियलल सन् २०१७ मा विजयी भएको थियो। त्यसबेला रियललाई जिताउन क्रिस्टियानो रोनाल्डो, ग्यारेथ बेल र अल्भारो मोराटाले गोल गरेका थिए।

रियललाई पराजित गरेपछि भिल्लारियल पाँचौँ स्थानमा उक्लिएको छ। भिल्लारियल र चौथो स्थानको एट्लेटिकोबीच अब अंक बराबरी भएको छ। दुवैले हालसम्म २७–२७ अंक बटुलेका छन्।

भिल्लारियलका भेट्रान रक्षक तथा कप्तान राउल अल्बियोलले रियल जस्तो बलियो टिमलाई हराउन शतप्रतिशत मेहनत गर्नुपर्ने र आफूहरूले त्यही गरेको बताए। ‘रियललाई हराउन चानचुने मेहनतले पुग्दैन,’ कुनै समय रियलबाट खेलेका अल्बियोलले भने, ‘उनाई एम्रीले छाडेपछि हामी केही अप्ठ्यारोमा परेका थियौँ। तर मलाई लाग्छ हामी विस्तारै बलियो लयमा फर्कदैछौँ।’

प्रकाशित: २४ पुष २०७९ ९:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =