एल क्लासिको : रियलको जितमा बेलिङहमको प्रभाव

हिमाल प्रेस १२ कार्तिक २०८० ८:३६
4
SHARES
एल क्लासिको : रियलको जितमा बेलिङहमको प्रभाव दोस्रो गोलका क्रममा रियल म्याड्रिडका ज्युड बेलिङहम। तस्बिर : रोयटर्स

काठमाडौँ– ज्युड बेलिङहमले दुई गोल गरेपछि रियल म्याड्रिडले शनिबार राति एल क्लासिकोमा बार्सिलोनामाथि २–१ को जित हात पारेको छ। बार्सिलोनाको ओलम्पिक रंगशालामा रियलले दोस्रो हाफमा पुनरागमन गरेको थियो।

इंग्ल्यान्डका बेलिङहमले ६८ औँ मिनेटमा बराबरी गोल गरेका थिए। उनले १८ यार्ड बक्सभन्दा निकै अगाडिबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।

यसैपालि रियल पुगेका बेलिङहम त्यत्तिकैमा रोकिएनन्। इन्जुरी समयमा लुका मोड्रिचबाट आएको ‘वान टच’ पासमा बेलिङहमले चलाखीपूर्वक गोल गरेका थिए। फुलब्याक डानी कार्भाहालले बार्सिलोनाको बक्सभित्र मोड्रिचका लागि पास निकालेका थिए। त्यसपछि बल मोड्रिचले बेलिङहमतिर पठाइदिए। हतारमा दौडिँदै बक्सभित्र पुगेका बेलिङहमले बललाई पोस्टको दिशा देखाए।

ला लिगामा अपराजित यात्रा जारी राख्न चाहेको बार्सिलोनाले छैटौँ मिनेटमै गोलको खाता खोलेको थियो। एल्काई गुन्डोवान र फेरान टोरेस ‘वान टु’ पास खेल्दै रियलको क्षेत्रमा पुग्न खोज्दै थिए।

त्यहीबीचमा रियलका औरिलियन टुचमनीले बल ‘इन्टरसेप्ट’ गरे। तर बल उल्टै रियलको बक्सतिर पुग्यो। जसलाई गुन्डोवानले नियन्त्रणमा लिए र डेभिड अलाबाको ट्याकलबाट बच्दै गोल गरे।

क्याम्प नौउ पुनः निर्माण भइरहेकाले ओलम्पिक रंगशालामा सरेको बार्सिलोनाले रियललाई सुरुबाटै दबाबमा राखेको थियो। तुलनात्मक रूपमा बलियो देखिएका बार्सिलोनाका दुई प्रहार गोलपोस्टमा लागेर फर्किएका थिए। यति हुँदाहुँदै पनि बार्सिलोनाले तीन अंक बटुल्न सकेन। यसको कारण थिए, बेलिङहम। जसले रियल करियरको पहिलो एल क्लासिकोमा सम्झनलायकको प्रभाव पारे।

बार्सिलोनामाथिको जितले रियललाई ला लिगाको शीर्षस्थानमा पुर्‍याएको छ। दोस्रो स्थानमा जिरोना छ। यद्यपि यी दुई टिमको समान २८–२८ अंक छ। गोल अन्तरमा रियल अघि बढेको हो। उता बार्सिलोना भने २४ अंकसहित तेस्रो स्थानमा छ। चौथो स्थानमा एट्लेटिको म्याड्रिड छ। एट्लेटिकोले शीर्ष तीन क्लबको भन्दा दुई खेल कम खेल्दै २२ अंक जम्मा गरेको छ।

प्रतिद्वन्द्वी बार्सिलोनाविरुद्ध पुनरागमन जित हात पार्न सकेकोमा बेलिङहम प्रसन्न देखिए। ‘मलाई पुनरागमन जित मनपर्छ। फेरि आज म केही भावुक पनि थिएँ। यस्तो महत्त्वपूर्ण खेलको हिस्सा बन्न रमाइलो हुन्छ,’ बेलिङहमले भने, ‘सुरुमा गोल खाए पनि हामी हिम्मत हार्ने पक्षमा थिएनौँ। अन्ततः दुई गोल फर्काउँदै जितियो। खुसी छु।’

बोरुसिया डर्टमन्डबाट यही सिजन रियल पुगेका बेलिङहमले ला लिगामा १० गोल गरिसकेका छन्। यो लिगमा हाल उनी उच्च गोलकर्ता हुन्। डेब्यु खेलमै गोल गरेका बेलिङहमले त्यसपछिका खेलमा लगातार प्रभावशाली प्रदर्शन गरिरहेका छन्।

जितपछि रियलका प्रशिक्षक कार्लो एन्सिलोट्टीले बेलिङहमको तारिफ गरे। ‘उनी भेट्रान जस्तो खेल्छन्। आज उनकै गोलले खेलमा परिवर्तन आयो। उनले लामो दूरीबाट गरेको प्रहार सामान्य थिएन। बरु अचम्मलाग्दो थियो। उनी सही समयमा विपक्षीको बक्समा पुग्ने गर्छन्। आज पनि त्यसो गरे,’ २० वर्षीय बेलिङहमबारे एन्सिलोट्टीको भनाइ थियो।

सबैखाले प्रतियोगिताका १३ खेलमा उति नै गोल गरेका बेलिङहम यतिमा नरोकिने एन्सिलोट्टीको विश्वास छ। ‘म ढुक्क छु, उनले २० देखि २५ गोलसम्म गर्नेछन्,’ एन्सिलोट्टीले थपे।

बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले हारले आफूलाई छक्क पारेको प्रतिक्रिया दिए। ‘स्पष्टै छ, खेलमा करिब एक घण्टा हामी बलियो थियौँ। त्यसबीचमा हामीले एक गोल गर्‍यौँ। पछिल्लो २० वा २५ मिनेटमा रियल हाबी भयो र दुई गोल गर्‍यो,’ जाभीले भने।

‘रियलले जितेको देखेर म प्रतिक्रियाविहीन भएको छ। रियलले पाएको मौकामा गोल गर्‍यो। पाएको मौका खेर नफाल्नु नै जितको कारण हो। आजको खेलमा दुई टिमबीचको फरक त्यही हो,’ जाभीले थपे।

बार्सिलोनाका केही महत्त्वपूर्ण खेलाडी यो खेलका लागि बेन्चमा फर्किएका थिए। ती थिए, स्ट्राइकर रोबर्ट लेवान्डोस्की, फरवार्ड रफिन्हा र रक्षक युल्स कौन्डे। यी तीनै खेलाडी यसअघि घाइते थिए। लेवान्डोस्की र रफिन्हाले दोस्रो हाफ खेल्न पाए।

उता रियलसँग गोलरक्षक थिबाउट कोर्टुवा र रक्षक इडर मिलिटाओ थिएनन्। यी दुवै खेलाडी गत अप्रिलबाटै घाइते छन्। एन्सिलोट्टीले मोड्रिचलाई बेन्चमा राखेका थिए भने टोनी त्रुस र टुचमनीले सेन्ट्रल मिडफिल्डको जिम्मा पाएका थिए। बेलिङहम भने ‘नम्बर दस’ को भूमिकामा देखिए। इटालेली प्रशिक्षक एन्सिलोट्टीले उनलाई सुरुबाटै स्ट्राइकर पछाडि खेलाइरहेका छन्।

रियललाई खेलमा फर्काउन र अन्ततः जिताउन मन लगाएर बेलिङहम खेल्दा बार्सिलोना भने पीडामा पर्‍यो। ‘यो खेल हारे पनि म सबैलाई सन्देश दिन चाहन्छु, सिजन लामो छ हामीले बस् ११ खेल मात्र खेलेका छौँ,’ जाभीले भने।

बेलिङहम भने स्वाभाविक रूपमा सबैभन्दा उत्साहित देखिए। ‘म त भावुक भएको छु। किनभने म यसअघि एल क्लासिको परिवारका साथ टेलिभिजनमा हेर्थे। आज खेलेँ, गोल गरेँ। म असाध्यै खुसी छु,’ बेलिङहमको भनाइ थियो।

प्रकाशित: १२ कार्तिक २०८० ८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =