म्याग्दीको मौवाफाँटमा प्रहरी चौकी स्थापना

हिमाल प्रेस २२ पुष २०७९ ९:११
10
SHARES
म्याग्दीको मौवाफाँटमा प्रहरी चौकी स्थापना

म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा प्रहरी चौकी स्थापना भएको छ। प्रहरी चौकी भवनको बिहीबार गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले उद्घाटन गरे।

सबै स्थानीय तहको केन्द्रमा प्रहरी चौकी स्थापना गर्ने संघीय सरकारको योजनाअनुसार प्रदेश सरकारको आर्थिक सहयोगमा रघुगंगा गाउँपालिकाले व्यवस्थापन गरेको जग्गामा एक वर्षअघि भवन निर्माण गरिएको हो।

गण्डकीमा प्रदेश सरकारको सहयोगमा प्रदेश प्रहरी कार्यालयले ठेक्कामार्फत २३ एकाइको भवन निर्माण गरिएको प्रहरी नायब महानिरीक्षक जोशीले बताए। उक्त चौकीमा हवल्दारको नेतृत्वमा पाँच सुरक्षाकर्मी तैनाथ छन्।

प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार भवन बनाउन २०७७ असोजमा शिवाको-जयलक्ष्मी जेभी बागलुङले ठेक्का लिएको थियो। तीनतले भवनमा कार्यालय, ब्यारेक र थुनुवा कक्षका लागि १० कोठा रहेका छन् । भवन निर्माण गर्न एक करोड ८६ लाख ९४ हजार रुपैयाँ खर्च भएको बताइएको छ।

रघुगंगा गाउँपालिकाका जनप्रतिनिधिको पहलमा मौवाफाँटका प्रेमनाथ शर्मा, तारानाथ शर्मा, वीरबहादुर विश्वकर्मा र मिठु खत्रीले भवन बनाउन निःशुल्क तीन रोपनी जग्गा उपलब्ध गराएका थिए। भवन निर्माणस्थलसम्म सडक गाउँपालिकाले निर्माण गरेको हो।

सदरमुकाम बेनीको जिल्ला प्रहरी कार्यालय मातहत १७ चौकी तथा पोष्ट छन्। घोरेपानी, घार, भुरुङ–तातोपानी, भगवती, पाखापानी, चिमखोला, तिप्ल्याङ, गलेश्वर, कालीपुल, मंगलाघाट, रत्नेचौर, सिंगा तातोपानी, बाबियाचौर, दरबाङ र ताकममा प्रहरी एकाइ छन्।

जिल्ला प्रहरी कार्यालय, ताकम प्रहरी चौकी, सीमा प्रहरी चौकी भुरुङ तातोपानीको मात्र आफ्नै भवन छन्। अन्य प्रहरी युनिट सामुदायिक भवन र भाडाको घरमा सञ्चालित छन्।

प्रकाशित: २२ पुष २०७९ ९:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =