पाँच वर्ष गठबन्धन टिकाउने माओवादी रणनीति

हिमाल प्रेस २१ पुष २०७९ १६:४६
70
SHARES
पाँच वर्ष गठबन्धन टिकाउने माओवादी रणनीति प्रधानमन्त्री पुष्कमल दाहाल 'प्रचण्ड'

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) वर्तमान सत्ता गठबन्धनलाई पाँच वर्षसम्म टिकाउने रणनीतिमा जुटेको छ। नेपाली कांग्रेसले सत्ता गठबन्धनको आयु लामो नरहने दाबी गरिरहँदा माओवादी केन्द्र भने पूर्ण कार्यकाल टिक्ने गरी अघि बढेको हो।

पार्टीले यसका लागि नीति तथा कार्यक्रममा सत्तारूढ सबै घटकका मुद्दालाई समेट्न लागेको छ। यसबारे प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पटकपटक छलफल भइसकेको माओवादी नेताहरू बताउँछन्।

माओवादी प्रवक्ता कृष्णबहादुर महराले आफूहरू अब सरकार बनाउने र ढल्ने प्रक्रियामा नलाग्ने बताए। उनले हिमाल प्रेससँग भने, ‘सरकार बन्ने र ढल्ने भन्ने हुँदैन। यो सरकार आफ्नै गतिमा अघि बढ्छ। चाँडै विश्वासको मत पाउँछ र दूरदृष्टिसहितको नीति तथा कार्यक्रम ल्याउनेछ।’

गठबन्धनमा पदीय चाहनाबाहेक विचार र दृष्टिकोणमा एकता नरहेको भन्ने कांग्रेस टिप्पणीप्रति माओवादीले आपत्ति जनाएको छ। कांग्रेसले बुधबार पत्रकार सम्मेलन गरी गठबन्धनमा राजावादीदेखि गणतन्त्र ठिक र संघीयता विरोधीदेखि संघीयता आवश्यक छ भन्नेसम्मका दलहरू सहभागी भएकाले गठबन्धनको आयु लामो नरहेन दाबी गरेको थियो।

कांग्रेसको यस्तो भनाइमा माओवादीले विमति जनाएको छ। माओवादीका नेताहरू संसद्मा कुनै पनि दलले बहुमत नल्याएको अवस्थामा गठबन्धन बनेकाले यसको निरन्तरताको विकल्प नरहेको बताउँछन्। स्थिरताका लागि सरकारले सोहीअनुसारको नीति तथा कार्यक्रम ल्याउने प्रवक्ता महराले बताए। उनले भने, ‘सत्तारूढदेखि सरकारलाई समर्थन गर्ने सबै दलको भावना नीति तथा कायक्रममा समेटेर अघि बढ्नेछौँ।’

यसैगरी एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच महत्त्वपूर्ण पदमा सबैलाई समेट्ने गरी भागबण्डा मिलाएर अघि बढ्ने सहमति भएको माओवादीका अर्का एक शीर्ष नेताले बताए। उनले भने, ‘दुई पार्टीका अध्यक्ष मिलेर सबै कुरा टुंगो लगाउनु हुनेछ। गठबन्धनमा आबद्ध सबै दललाई सन्तुष्ट बनाउने प्रयास भइरहेको छ।’

प्रवक्ता महराले केही दिनमै मन्त्रिपरिषद् विस्तार हुने र सरकारले सही दिशा निर्धारण गर्ने बताए।  माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले सरकारको नीति तथा कार्यक्रम आर्थिक समस्याहरूको सामना गर्ने योजनासहित अघि बढाइने बताए।

उनले भने, ‘पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई गणतन्त्र मान्दैनौँ भन्नेहरूसमेत आएर समर्थन गर्ने कुराले के गर्छ भने हाम्रो संविधानको सर्वस्वीकार्यतालाई बढाउँछ।’

सत्ता गठबन्धनमा नेकपा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी समावेश छन्। एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी सरकारमा सहभागी छन्। अन्य दलले भने समर्थन मात्रै गरेका छन्।

चुनावमा गठबन्धन गरेर गए पनि माओवादी अध्यक्ष ‘प्रचण्ड’ले धोका दिएको आरोप कांग्रेसको छ। कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै आफ्नै दलले पाउनुपर्ने दाबी गरेपछि माओवादीले एमालेसँग गठबन्धन गर्न पुगेको हो।

प्रकाशित: २१ पुष २०७९ १६:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 8 =