पर्वतमा अफ्रिकन स्वाइन फिभरको जोखिम देखिएपछि बंगुर आयात-निर्यातमा रोक

हिमाल प्रेस २० पुष २०७९ १९:२४
8
SHARES
पर्वतमा अफ्रिकन स्वाइन फिभरको जोखिम देखिएपछि बंगुर आयात-निर्यातमा रोक फाइल तस्बिर।

पर्वत– अफ्रिकन स्वाइन फिभरको संक्रमणका कारण बंगुर मर्न थालेपछि उच्च सतर्कता अपनाउन थालिएको छ। पर्वतमा स्वाइन फिभरको संक्रमण भित्रिन नदिन बंगुर आयात-निर्यातमा रोक लगाइएको हो।

काठमाडौँ, पोखरा, म्याग्दी र बागलुङमा अफ्रिकन स्वाइन फिभरको संक्रमणबाट ठूलो संख्यामा बंगुर मरेका छन्। भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र पर्वतका अनुसार छिमेकी जिल्लामा संक्रमण देखिएपछि पर्वतका व्यावसायिक कृषकलाई भेला गराएर जैविक सुरक्षाका उपाय अवलम्बन गर्न आग्रह गरिएको हो। संक्रमण फैलन नदिनका लागि केही औषधिसमेत वितरण गरिएको विज्ञ केन्द्रका प्रमुख रामजी पौडेलले जानकारी दिए।

जिल्लामा अहिलेसम्म संक्रमण भने देखिएको छैन। पौडेलका अनुसार कृषकलाई मासु उपभोग गर्नयोग्य बंगुर काटेर चिस्यान केद्रमा राख्नसमेत आग्रह गरिएको छ। संक्रमण फैलिनुभन्दा पहिलै स्वास्थ बंगुर काटेर चिस्यान केन्द्रमा फ्रिजिङ गर्न भनिए पनि पर्याप्त कोल्ड रुम नहुँदा समस्या भएको छ। यसका लागि स्थानीय तहलाई समेत आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको केन्द्र प्रमुख पौडेलले बताए।

केन्द्रका प्रमुख पौडेलले अफ्रिकन स्वाइन फिभरले मान्छेमा कुनै असर भने नगर्ने बताए। बंगुर प्रजातिमा मात्र देखिने यो रोगको कुनै उपचार नरहेको पशु चिकित्सकले बताएका छन्। यो रोगको पूर्णउपचार नभए पनि छ-छ महिनामा बंगुरलाई खोप लगाएर न्यूनीकरण गर्न सकिने केन्द्रका प्रमुख पौडेलको भनाइ छ।

समयमै नियन्त्रणमा सतर्कता नअपनाए यो रोगबाट ठूलो क्षति व्यहोर्नुपर्ने भएकाले पनि कृषक र सम्बन्धित स्थानीय तहहरूले तदारुकता देखाउनुपर्ने उनको भनाइ छ। जिल्लाभित्र बंगुरपालन गर्ने क्षेत्रमा रोगको नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बंगुरपालक कृषकको भनाइ छ।

पछिल्लो समय अधिकांश क्षेत्रमा संक्रमण देखिएकाले रोगको शंका लागेका पशुलाई बथानबाट अलग्गै राखी समयमै जानकारी दिन र मरेको जनावरलाई खाडलमा पुर्ने, होटेल तथा रेष्टुराँबाट निस्केको मासु वा मासुजन्य खाद्य पदार्थबाट टाढा राख्न भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रले आग्रह गरेको छ।

पर्वतमा व्यावसायिक रूपमा बंगुरपालन गर्ने कृषक वा फार्मको संख्या ६० देखि ७० वटा रहेका छन्। केही कृषकले निर्वाहमुखी रूपमा समेत बंगुरपालन व्यवसाय सञ्चालन गर्दै आएका छन्। जिल्लामा झण्डै दुई हजार छ सयको संख्यामा बंगुर रहेको अनुमान छ।

बंगुरपालन व्यवसायी शिवलाल बस्यालले जुनसुकै बेला संक्रमण फैलन सक्ने भएकाले उपभोग गर्न योग्य भएका बंगुर काटेर कोल्ड स्टोर राख्ने गरी स्थानीय तहहरूसँग समन्वय भइरहेको बताए। जिल्लामा पर्याप्त चिस्यान केन्द्र नभएकाले पोखरामा व्यवस्थापन गरिदिन स्थानीय तहहरूसँग पत्राचार गरिएको उनको भनाइ छ।

प्रकाशित: २० पुष २०७९ १९:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 12 =