अब नवलपुरबाटै चितवन निकुञ्जमा जंगल सफारी

हिमाल प्रेस २० पुष २०७९ १३:३७
10
SHARES
अब नवलपुरबाटै चितवन निकुञ्जमा जंगल सफारी

नवलपुर- नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चितवन राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी ‘ट्र्याक’ खोलिने भएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व)बाट जान मिल्ने गरी पहिलो पटक चितवन राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी ट्र्याक खोल्न लागिएको हो।

हालसम्म जिल्लाका मध्यवर्ती सामुदायिक वनहरूमा जंगल सफारी हुने गरे पनि पहिलो पटक निकुञ्जको कोर एरियामा सफारी गर्ने प्रबन्ध गर्न लागिएको छ।

जंगल सफारी ट्र्याक जिल्लाको सिख्रौली मध्यवर्ती क्षेत्र, शिसवार मध्यवर्ती क्षेत्र, लामिचौर मध्यवर्ती क्षेत्रमा पर्नेछ। यसले गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका र कावासोती नगरपालिकालाई छुने देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपानेले बताए। ट्र्याक निर्माणका लागि चितवन राष्ट्रिय निकुञ्ज, होमस्टे तथा होटल एसोसिएसन नवलपुर, देवचुली नगरपालिकाको आर्थिक र शिसवार मध्यवर्ती उपभोक्ता समितिको प्राविधिक सहयोग रहने जनाइएको छ।

‘नवलपुरको पर्यटन प्रवद्र्धनमा यसले मुख्य भूमिका खेल्नाका साथै यो ठाउँको पहिचानका लागि ठूलो अवसरका रुपमा नगरले लिएको छ,’ उनले भने, ‘पर्यटकीय क्षेत्रमा निकै सम्भावना बोकेको देवचुली डाँडादेखि सिजी शाश्वतधाम र नारायणी नदीमा पर्यटकहरुलाई रमणीयस्थल घुमाउनका निम्ति नगरपालिकाले विशेष योजना बनाएको छ।’

पर्यटनको प्रचुर सम्भावना रहेको यस क्षेत्रलाई यसै वर्ष पर्यटकीय क्षेत्र घोषणा गर्ने तयारी गरिएको देवचुली नगरपालिका–१७ का वडाध्यक्ष गणेश शर्मा चालिसेले बताए। ‘जंगल सफारीको बाटो निर्माणको सुरुआतमा रहेको र आगामी माघ ५ गते हुने चौथो देवचुली महोत्सवबाट पर्यटकलाई जंगल सफारी गर्ने व्यवस्था गरिनेछ,’ उनले भने।

पर्यटकीय क्रियाकलापलाई अगाडि बढाउनाले यहाँका बस्तीको आर्थिक जीविकोपार्जनका लागि नयाँ सुरुआत हुने शिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले बताए।

प्रकाशित: २० पुष २०७९ १३:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =