नेतृत्वको आलोचना बन्द गर्न माधव नेपालको कडा निर्देशन

हिमाल प्रेस १९ पुष २०७९ १७:१९
22
SHARES
नेतृत्वको आलोचना बन्द गर्न माधव नेपालको कडा निर्देशन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल।

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न पार्टीका नेताकार्यकर्तालाई कडा निर्देशन दिएका छन्।

पार्टीको मंगलबार सम्पन्न पोलिटब्युरो बैठकमा सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी कमिटीभन्दा बाहिर गएर पार्टी नेतृत्वको बदख्वाइँ गर्ने, अरुको प्रशंसा गर्ने, फेसबुकमा लेख्ने, मिडियामा बोल्नेजस्ता पार्टी अनुशासनविपरीत काम नगर्न पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराए।

उनले भने, ‘फेसबुकमा लेख्ने, आफूलाई लागेका कुराहरु बाहिर प्रचारित गर्ने, मिडियामा गएर बोल्ने। यस्तो तरिका अपनाएर न त्यो क्रान्तिकारी पार्टी बन्छ न त्यो अनुशासित पार्टी बन्छ।’
उनले आफूलाई लागेका कुरा पार्टी कमिटीमा राख्नुको साटो बाहिर बोल्दै हिँडने हो भने त्यो पार्टी क्रान्तिकारी र अनुशासित पार्टी हुनै नसक्ने पनि स्मरण गराए।

उनले भने, ‘हामी अनुशासन तोड्ने, फेरी हाम्रै स्वर ठूलो हुने, हामी पार्टीको बदख्वाइँ बाहिर गर्ने, अनि हाम्रै स्वर ठूलो हुने, आफ्नै नेताको बदख्वाइँ गर्ने, अरुको प्रशंसा गर्ने, अनि त्यसपछि पनि हाम्रो आफ्नो स्वर आफैँ ठूलो हुुने तरिका बन्द गरौँ।’

अध्यक्ष नेपालले आफूले पार्टी अनुशासित र संस्थागत रुपमा चलोस् भन्ने चाहेको पटकपटक दोहोर्‍याए।

उनले भने, ‘बैठकमा सबैले खुलेर आफ्नो विचार व्यक्त गर्नुभएको छ। आफूलाई लागेका सबै कुराहरु यहाँ राख्नुभएको छ। विचार व्यक्त गर्नुभएकोमा म सबैलाई धन्यवाद दिन चाहन्छु।’

बैठकमा व्यापक छलफल गर्ने, व्यापक अन्तरक्रिया गर्ने, कमिटी प्रणाली आधारमा अगाडि बढ्ने, कमिटी भनेको जुन कमिटीले अधिकार प्राप्त गरेको उनको भनाइ छ। उनले भने, ‘जुन कमिटी र व्यक्तिलाई जिम्मेवारी दिइएको छ। त्यो जिम्मा दिइएका व्यक्तिले, जिम्मा पाएको कमिटीले निर्णय गर्ने परिपाटी स्थापित गर्न चाहेका छौँ।’

अरू पार्टी र नेकपा एकीकृत समाजवादीबीच के भिन्नता रहेको छ? भन्ने प्रश्न उठ्दा बुझ्न नसके त्यो भन्दा अर्को बिडम्बना केही नहुने उनको भनाइ छ।

उनले भने, ‘अब भन्न सक्नुहुन्छ, मेरो यो राय थियो कमिटीले मानेन। हामीले यो सुझाव दिएका थियौँ, त्यो सुझाव ग्रहण भएन। या आजै त्यसबारेमा बसेर छलफल गर्नुपर्ने थियो। तर त्यो हुन सकेन।’ अध्यक्ष नेपालले यस्ता सबै कुरा समीक्षा गर्नुपर्ने बताए। उनले भने, ‘तर के कुरामा हामी प्रतिबद्ध हुनुपर्दछ भने कमिटी प्रणालीलाई बलियो गरी अगाडि बढाऔँ। जे–जे लागेको छ कमिटीमा राखौँ।’

अध्यक्ष नेपालले नयाँ क्रान्तिकारी पार्टी भन्नुको अर्थ नै सबै हिसाबले अनुशासन पनि होस्, क्रान्तिकारी पनि होस्, संस्थागत रुपमा पनि चलोस् भन्ने रहेको बताए। उनले भने, ‘सबै कुराहरु सम्बन्धित कमिटीभित्र बसेर छलफल गरेर, व्यापक विचार मन्थन गरेर निर्णय गर्ने परिपाटी स्थापित गरियोस्। त्यसो हुनाले जस्तोसुकै मतभेद छन भने पनि, जतिसुकै विचारका भिन्नता छन् भने पनि त्यसले केही फरक पार्दैन।’

न्युज एजेन्सी नेपालको सहयोगमा

प्रकाशित: १९ पुष २०७९ १७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + seven =