पुराना भवन भत्काउने कानुन संशोधन गर्ने गृहमन्त्री लामिछनेको भनाइ

हिमाल प्रेस १८ पुष २०७९ १७:२०
12
SHARES
पुराना भवन भत्काउने कानुन संशोधन गर्ने गृहमन्त्री लामिछनेको भनाइ फाइल तस्बिर।

काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभाकक्षमा आपतकालीनद्वार तत्काल निर्माण गर्न निर्देशन दिएका छन्। सोमबार गृह मन्त्रालयमा बसेको २५ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन्।

भूकम्पीय जोखिम न्यूनीकरण आफैंबाट सुरुवात गर्नुपर्ने भन्दै उनले उक्त निर्देशन दिएका हुन्। उपप्रधानमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरणका लागि भवन निर्माणसम्बन्धि मापदण्ड कार्यान्वयन गराउन स्थानीय तहहरूलाई आग्रह गरेका छन्।

भवन निर्माणसम्बन्धी मापदण्डको पूर्ण पालना गराउन सके भूकम्पीय जोखिम न्यूनीकरणमा योगदान पग्ने उनले बताए। भूकम्पीय जोखिम न्यूनीकरणका लागि विद्यालय, कलेज, पार्टी प्यालेस, सभाहलहरूको निर्माणमा ध्यान दिन पनि उनले सचेत गराए।

‘सुरुमै हामीले नक्सापास गर्दादेखि त्यसको निर्माण सम्पन्न भएको सर्टिफाई गरुन्जेलसम्म पनि मध्यनजर राख्न सकियो भने भूकम्पीय जोखिम न्यूनीकरणमा सहयोग पुग्छ,’ उनले भने। धेरै वर्ष पुराना र जोखिमयुक्त भवनहरू भत्काउने वा मर्मत गर्ने अवस्था बुझ्नका लागि ऐन, नियमहरूलाई यथोचित संशोधन र छलफल गर्नुपर्ने उनले बताए।

उपप्रधानमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरणका लागि सूचना र प्रविधिको प्रयोगलाई चुस्त बनाउनुपर्नेमा जोड दिए। बैठकमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भूकम्पीय जोखिम न्यूनीकरणका लागि सबै स्थानीय तहले भवन निर्माण आचारसंहिता लागू गर्नुपर्ने बताए।

ललितपुर महानगरपालिकाले सो आचारसंहिताको पालनामा कडाइ गरेका कारण ०७२ सालको भूकम्पमा अन्य ठाउँमा भन्दा कम धनजनको क्षति भएको बताए। ‘ललितपुर महानगरपालिकाले यो भवन निर्माणसंहिता यो मुलुकमा पहिलो पटक लागू गर्‍यो। त्यसकारण ०७२ सालको भूकम्पमा मानवीय क्षति पनि काम भयो,’ महर्जनले भने।

प्रकाशित: १८ पुष २०७९ १७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + fifteen =