नेपाल टि२० लिग : लुम्बिनी अलस्टार्स प्लेअफमा

हिमाल प्रेस १७ पुष २०७९ १७:२९
10
SHARES
नेपाल टि२० लिग : लुम्बिनी अलस्टार्स प्लेअफमा

काठमाडौँ- लुम्बिनी अल स्टार्स नेपाल टि२० लिगको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ। आइतबार विराटनगर सुपर किंग्समाथि १२ रनको जित हासिल गरेपछि प्लेअफमा लुम्बिनीको स्थान पक्का भएको हो। सात खेलबाट १२ अंक बटुलेको लुम्बिनी हाल शीर्षस्थानमा छ।

डबल राउन्ड रोबिन पद्धतिमा जारी लिगमा लुम्बिनीले अब तीन खेल खेल्न बाँकी छ। लुम्बिनीले जकनपुर रोयल्ससँग दुई र काठमाडौँ नाइट्ससँग एक खेल खेल्नेछ। यी तीन खेलमा आफू अनुकूलको नतिजा नआए पनि लुम्बिनी कम्तीमा चौथो भएर प्लेअफमा प्रवेश गर्नेछ।

६ टिम सम्मिलित लिगमा पोखरा एभेन्जर्स हाल चौथो स्थानमा छ। त्यसैगरी विराटनगर पाँचौँ स्थानमा छ। यी दुईसँग चार–चार अंक छ। यी दुई टिमले बाँकी सबै खेल जिते पनि लुम्बिनीलाई भेट्न सक्ने छैनन्।

अंक तालिकाको दोस्रो स्थानमा जनकपुर र तेस्रो स्थानमा काठमाडौँ छन्। कुल चार टिमले प्रवेश पाउने प्लेअफमा बाँकी तीन स्थानका लागि जनकपुर, काठमाडौँ, पोखरा र विराटनगरबीच प्रतिस्पर्धामा छन्।

टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा १२२ रनको योगफल तयार पारेको थियो। जवाफी ब्याटिङ गरेको विराटनगर ११० रनमै अलआउट भयो।

लुम्बिनीको जितमा कप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे। अविजित रहेका दीपेन्द्रले ४२ बलमा ५० रन बनाउँदा बाँकी ब्याट्सम्यानले भने उल्लेखनीय रन बटुल्न सकेनन्। जम्मा चार ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गरेकामा कुशल भुर्तेल, ह्यारी टेक्टर र अनिल साहले १३–१३ रनको योगदान गरे।

बलिङतर्फ विराटनगरका नन्दन यादव, सूर्य तामाङ र विवेक यादवले दुई–दुई विकेट हात पारे। त्यसैगरी किओन जोसेफ र राज नान्नानले एक–एक विकेट लिए।

पराजित विराटनगरका अर्जुन साउदले ४५ बलमा ४१ रन बटुले भने विवेक यादवका नाममा १९ रन रह्यो। त्यसैगरी गौराअंशु शर्माले १२ र पृथु बाँस्कोटा ११ रनमा सीमित भए।

विराटनगरलाई सस्तोमा समेट्न लुम्बिनीका शाड्ली भान शाल्विक, तिलक भण्डारी र ह्यारी टेक्टरले किफायती बलिङ गरे। तीन जनाले नै दुई–दुई विकेट लिए। यसो गर्दा शाल्विकले १५, तिलकले १४ र टेक्टरले १७ रन खर्चिए। त्यसैगरी किशोर महतो, हरमित सिंह र दीपेन्द्र सिंह ऐरीले एक–एक विकेट हात पारे।

प्रकाशित: १७ पुष २०७९ १७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =