कांग्रेस संसदीय दलको नेता बन्न उम्मेदवारी दर्ता हुँदै, के गगन-शेखरबीच होला सहमति?

हिमाल प्रेस ५ पुष २०७९ ७:२६
92
SHARES
कांग्रेस संसदीय दलको नेता बन्न उम्मेदवारी दर्ता हुँदै, के गगन-शेखरबीच होला सहमति?

काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज मंगलबार उम्मेदवारी दर्ता हुने भएको छ।

निर्वाचन समितिले बुधबार हुने निर्वाचनका लागि सोमबार नै मतदाताको नामावली सार्वजनिक गरिसकेको छ। आज दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।

निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेका अनुसार उम्मेदवारको प्रथम नामावली आज दिउँसो ३ः३० बजे प्रकाशन हुनेछ भने दिउँसो ३ः३० देखि ४ बजेसम्म उम्मेदवारको नामावलीमा दाबीविरोध हुनेछ।

दिउँसो साढे ४ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ भने आज साँझ ५ः४५ बजे अन्तिम नामावली प्रकाशन हुनेछ।

संसदीय दलको नेताका मतदान भने बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ। संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुने ठानिएको छ।

तर, पछिल्लो पटक नेता शेखर कोइराला पनि चुनाव लड्नसक्ने ठानिएको छ। कांग्रेस संसदीय दलको नेताको चुनावमा प्रत्यक्षतर्फ ५७ र समानुपातिकबाट ३२ सांसद मतदाता छन्।

संस्थापन इतरबाट को उम्मेदवार?

कांग्रेस संस्थापन पक्षबाट शेरबहादुर देउवा उम्मेदवार हुने पक्का छ। उनी संस्थापनबाट निर्विकल्प उम्मेदवार हुन्। तर यता संस्थापन इतरबाट भने गगन-शेखर दुवैले अडान राख्दै आएका छन्।

संसदीय दलको नेतामा सहमति जुटाउन कांग्रेस इतर पक्षका नेता छलफलमा जुटेका छन्।  कांग्रेसले संसदीय दलको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेपछि नेताहरू छलफलमा जुटेका हुन्।

कांग्रेसमा सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा र नेता डा. शेखर कोइरालाले संसदीय दलको नेतामा आकांक्षा देखाएका छन्। देउवा संसदीय दलको नेता चयन भएर छैटौँपटक प्रधानमन्त्री बन्ने दाउमा छन्।

यस्तै इतर पक्षबाट महामन्त्री थापा र कोइराला दुवैले दलको नेतामा आकांक्षा देखाएका छन्।

एकै पक्षबाट दुई जनाले उम्मेदवारी दिँदा देउवालाई थप सजिलो हुन सक्छ भन्दै महामन्त्री थापा र नेता डा. कोइराला सहमतिका लागि छलफलमा जुटेका छन्।

दुई नेताबीच एकजनालाई मात्र उठ्न अन्य नेताले सुझाव दिइरहेका छन् तर हालसम्म सहमति भएको छैन। पटकपटकका बैठकमा पनि कुनै नेताले आफ्नाे अडान छाडेका छैनन्।

 

प्रकाशित: ५ पुष २०७९ ७:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 9 =