ढुवानी सिन्डिकेटको विरोधमा व्यवसायी, ट्रक व्यवसायी उल्टै आन्दोलनमा

हिमाल प्रेस ३ पुष २०७९ १५:३९
4
SHARES
ढुवानी सिन्डिकेटको विरोधमा व्यवसायी, ट्रक व्यवसायी उल्टै आन्दोलनमा

काठमाडौँ- सरकारले यातायात क्षेत्रबाट पाँच वर्षअघि सिन्डिकेट रोकेको बताए पनि देशभरका ट्रक व्यवसायीहरूले अघोषित सिन्डिकेट जारी राखेका छन्। नेपाल ट्रक यातायात व्यवसायी महासंघले देशभर चल्ने ट्रकमा आलोपालो चल्ने व्यवस्था गरेको छ। मनोमानी भाडा र आलोपालो प्रणाली अपनाएपछि उद्योगी, व्यवसायीले विरोध जनाउँदै आएका छन्।

ट्रक व्यवसायीले आफूखुसी भाडा बढाएर आलोपालो प्रणाली थप कडा बनाएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले जानकारी दिए। उनले भने, ‘यसले ढुवानीको भाडा बढेको मात्रै छैन, भनेको बेला गाडी नपाउने र सामान लोड, अनलोड गर्न नपाउने समस्या पनि थपिएको छ।’

ट्रक व्यवसायीको सिन्डिकेटले समान ढुवानीमा समस्या त पारेको छ नै मनोमानी भाडाले उत्पादनको लागत पनि बढाएको छ। जसले गर्दा उपभोक्ताको दैनिकी महंगो भएको छ। ट्रक व्यवसायीको सिन्डिकेट हट्दा उपभोक्ता मूल्य केही घट्ने व्यवसायीको बुझाइ छ। सामान ढुवानी प्रतिस्पर्धा नहुँदा व्यवसायीका साथै उपभोक्ता वर्षौंदेखि मारमा परिरहेको नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेशकुमार अग्रवाल बताउँछन्।

उनी भन्छन्, ‘सीमित व्यवयासीका कारण बजारलाई प्रतिस्पर्धी बन्न नदिँदा व्यवसायीका साथै उपभोक्ताले महंगीको मार खेप्नुपरेको छ।’ उनका अनुसार ट्रक सिन्डिकेटका कारण एक दिनमै हुने कामलाई तीन, चार दिनसम्म लाग्न थालेको छ। ढुवानीमा प्रयोग हुने यातायातका साधनमा विभिन्न नामका संघ र महासंघ बनेका छन्। छोटोदेखि लामो दूरीका ढुवानका साधन समेटेका यस्ता संघ, महासंघले सिन्डिकेटलाई अगाडि बढाएका छन्। जसले आलोपालो प्रणाली मात्रै गर्दैनन्, कुन गाडी चल्ने, कति समयमा चल्ने, भाडा कति लिनेलगायतका विषय निर्धारण गर्छन्।

जसले गर्दा एक दिनकै फरकमा ५-७ हजार रुपैयाँ भाडा तलमाथि हुने गरेको उदाहरणसमेत छ। ट्रक तथा अन्य ढुवानी व्यवसायीको सिन्डिकेटले गर्दा व्यवसायीले आफ्ना निजी गाडीमासमेत समान ढुवानी गर्न पाउँदैनन्।

ट्रक व्यवसायी आन्दोलनमा

उद्योगी, व्यवसायीले सिन्डिकेटमा असन्तुष्टि जनाइरहेका बेला ट्रक व्यवसायी स्वयम् आन्दोलनमा उत्रिएका छन्। भारतीय गाडीका कारण आफ्नो व्यवसाय संकटमा परेको नेपाल ट्रक यातायात व्यवसायी महासंघले आन्दोलन गरिरहेको हो। सरकारले आफ्नो माग नसुनेपछि ट्रक व्यवसायीहरूले भन्सार कार्यालय अगाडि नै आन्दोलन गर्न थालेका छन्। उनीहरूको मुलुकमा सबैभन्दा बढी आयात हुने भैरहवा र वीरगञ्ज नाकामा आन्दोलन केन्द्रित गरेका छन्।

नेपाल ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेशले शुक्रबार भैरहवामा विरोधसभा गर्‍यो। पश्चिमाञ्चल यातायात व्यवसायी समिति, लुम्बिनी ट्रक यातायात व्यवसायी संघ, बाणगंगा यातायात व्यवसायी समिति, राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी संघ, लुम्बिनी साना तथा मझौला व्यवसायी समिति र ढुवानी व्यवसायी समिति यसमा सहभागी भए।

भारतीय ‘ओभर लोड’ गाडीका कारण नेपालको बाटो, सडक, पुलमा क्षति पुगेको र आफ्नो व्यवसाय संकटमा परेको उनीहरूको भनाइ छ। उनीहरूले भारतीय ‘ओभर लोड’ गाडीको व्यवस्थापन र अनुगमन गर्नुपर्ने माग राखेका छन्। महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले भारतीय गाडीका कारण नेपाली ट्रक व्यवसायीले न्यूनतम भाडादर पनि नपाउने गुनासो गरे। ‘भारतीय ट्रक धेरै ठूला हुने भएकाले तुलनात्मक रूपमा सस्तो पर्छ,’ उनले भने, ‘यही कारण हामीले प्रतिस्पर्धा गर्न सकेका छैनौँ।’

प्रकाशित: ३ पुष २०७९ १५:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 7 =