प्रधानमन्त्रीमा कांग्रेस र माओवादीको दाबी, संवादमा एमाले

हिमाल प्रेस २ पुष २०७९ १३:३२
30
SHARES
प्रधानमन्त्रीमा कांग्रेस र माओवादीको दाबी, संवादमा एमाले

काठमाडौँ- प्रत्यक्ष निर्वाचित र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुको टुंगो लागिसकेको छ। निर्वाचन आयोगले समानुपातिक सांसदलाई निर्वाचित भएको प्रमाणपत्र पुस ३ गते दिने तय गरेको छ।

प्रत्यक्ष र समानुपातिकतर्फका सांसदले निर्वाचित भएको प्रमाणपत्र पाइसकेपछि सरकार गठन प्रक्रिया सुरु गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको तयारी छ। यसलाई दृष्टिगत गर्दै राजनीतिक दलहरु सत्ता समीकरणको अन्तिम तयारीमा जुटेका हुन्।

प्रतिनिधिसभामा १२ दलको प्रतिनिधित्व छ। राष्ट्रिय दलका रुपमा कांग्रेस, एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनमत पार्टी छन्।

थ्रेस होल्ड कटाउन नसकेका एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को पनि प्रतिनिधिसभामा प्रतिनिधित्व छ।

कांग्रेसका ८९, नेकपा एमालेका ७८, नेकपा माओवादी केन्द्रका ३२, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टी (जसपा) का १२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १४ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २० सांसद छन्। स्वतन्त्र सांसदहरुमा अमेरशकुमार सिंह, प्रभु साह, लालवीर चौधरी, योगेन्द्र मण्डल र किरणकुमार साह छन्।

सरकार गठनका लागि १३८ सांसद आवश्यक पर्छ। गठबन्धन बनाएर चुनाव लडेका पाँच दलको सरकार बन्न बहुमत नजिक जनमत छ। सीके राउत नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारमा जाने निर्णय गरेका कारण सत्ता गठबन्धनलाई सरकार बनाउन अङ्कगणितका हिसाबले समस्या पर्ने देखिन्न। तर पावर सेयरिङलाई लिएर नेकपा माओवादीले एमालेसँग पनि संवाद कायम राखेको छ।

यसकारण नयाँ समीकरणको सम्भावनाबारे पनि बहस भएका छन्। अर्कोतर्फ कांग्रेस र एमालेका नेताहरु पनि संवादमा छन्। एमाले नेताहरुले सार्वजनिक रुपमै एमाले र कांग्रेसको सरकार बनाउनुपर्ने बताइरहेका छन्।

लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारी भन्छन्, ‘हामीले चुनावमा तालमेल गरेको हो। त्यहीअनुसार आगामी दिनमा सहकार्य हुन्छ। सरकार बनाउन गठबन्धनलाई सहयोग गर्न पनि तयार छौँ।’

एमालेका उपमहासचिव प्रदीप ज्ञवाली सत्ता गठबन्धनले सरकार बनाउन नसके निकास दिन तयार रहेको बताउँछन्। उनी भन्छन्, ‘गठबन्धन दलले सरकार बनाउन अप्ठ्यारो पर्यो भने मुलुकलाई निकास दिन एमाले तयार छ। यद्यपि, हामीले पनि धेरै दलसँग कुराकानी गर्नुपर्ने हुन्छ।’

सरकार गठनका सन्दर्भमा जसपा र लोसपाले पनि चासो राखेका छन्। दुवै दल सरकारमा जान तयार छन्। तर सत्ता गठबन्धनले दुबै दललाई चुनावपछिको गठबन्धनको बैठकमा सामेल गराएको छैन। तथापि लोसपाले आफूलाई सत्ता गठबन्धनको हिस्सेदारका रुपमा दाबी गर्दे आएको छ।

लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारी भन्छन्, ‘हामीले चुनावमा तालमेल गरेको हो। त्यहीअनुसार आगामी दिनमा सहकार्य हुन्छ। सरकार बनाउन गठबन्धनलाई सहयोग गर्न पनि तयार छौँ।’ यसबीचमा लोसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरुसँग भेट गरिसकेका छन्।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले जनता समाजवादी पार्टीलाई सरकारमा लैजाने प्रयास गरेका छन्। जसपालाई सरकारमा ल्याउने सन्दर्भमा स्वयं कांग्रेस तयार नरहेको बताइन्छ।
साथसाथै, कांग्रेसले कम्युनिस्टबाहेकको सरकार बनाउन सक्ने पनि कतिपयको आशंका छ। अनेकन् आशंकाले मुर्त रुप लिन केही दिन पर्खनुपर्नेछ।

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत गठबन्धन कायमै रहने बताउँछन्। तर सरकारको नेतृत्व कांग्रेसले गर्ने उनको भनाइ छ। उनी भन्छन्, ‘स्वाभाविक रुपमा ठूलो दलको हैसियतमा कांग्रेसको नेतृत्वमा सरकार गठन हुनुपर्छ भन्ने हाम्रो भनाइ छ।’

तर नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ माओवादीको नेतृत्वमा सरकार बन्नुपर्ने दाबी गर्छन्। उनी भन्छन्, ‘जनयुद्ध र जनआन्दोलनको नेतृत्वकर्ता दलहरु देशका अभिभावक हुन्। मुख्यगरी बिचार र सिद्धान्त परिवर्तनको हिसाबले माओवादी देशको अभिभावक हो। यो जिम्मेवारीबाट पछि हट्नुहुँदैन। शान्तिप्रक्रियाका हस्ताक्षरकर्ता भएकाले प्रचण्डले अबको सरकारको नेतृत्व गर्नुपर्छ।’

प्रकाशित: २ पुष २०७९ १३:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 6 =