नारायणगढ-मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने

हिमाल प्रेस २७ मंसिर २०७९ १४:१४
12
SHARES
नारायणगढ-मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने नारायणगढ-मुग्लिन सडक। फाइल तस्बिर।

चितवन- नारायणगढ-मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ। सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो।

जिल्ला प्रशासन कार्यालय चितवनमा आज (मंगलबार) भएको सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरेको हो। सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ।

भौगोलिक रूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामको लागि सवारी आवागमन रोक्न लागिएको हो।

प्रमुख जिल्ला अधिकारी अश्मान तामाङको अध्यक्षतामा भएको बैठकले नारायणगढतर्फबाट जाने यात्रुवाहक बस, मिनि, माइक्रो बस, साना सवारी साधनलाई पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोक्ने निर्णय गरेको छ। यस्तै मालवाहक ट्रक, लरी, ट्रेलर, ट्रिपर, ट्यांकरलगायतका भारी सवारीसाधनलाई भतेरी जंगलदेखि रामनगरसम्म बिहान १०ः५० बजेदेखि रोकिने छ।

काठमाडौँतर्फबाट आउने यात्रुवाहक सवारीलाई मुग्लिन बजारदेखि मनकामना केबलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुवाहक सवारीसाधनलाई बेनीटारदेखि पावरहाउससम्म बिहान १०ः५५ बजे रोकिने भएको छ। यस्तै, काठमाडौँतर्फबाट आउने मालवाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउने मालवाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजे रोक्ने बैठकले निर्णय गरेको छ।

बैठकले बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकललगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोड्ने निर्णय गरेको छ। यस्तै, पोखरा–काठमाडौँ सञ्चालन हुने सवारी सहज सञ्चालनका लागि ट्राफिक कार्यालयले समन्वय गर्ने भएको छ। निर्माण कार्यलाई तीव्रता दिन निर्माण व्यवसायीले पर्याप्त साधनस्रोत र जनशक्ति परिचालन गर्नेछन् भने सडक खण्डको ठाउँठाउँमा मर्मतको कार्य पनि यसै समयमा गरिने भएको छ।

प्रकाशित: २७ मंसिर २०७९ १४:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eleven =