कुसुम खोलाछेउ बनाइएका घर र मन्दिर भत्काइयो

हिमाल प्रेस २३ मंसिर २०७९ १४:४७
6
SHARES
कुसुम खोलाछेउ बनाइएका घर र मन्दिर भत्काइयो

चितवन– चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध रूपमा बनाइएका घरटहरा भत्काइएको छ। निकुञ्ज हातामा पर्ने कुसुम खोलामा बनाइएका ९ वटा घरटहरा भत्काइएको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए।

घरटहरासँगै पूजा गर्नका लागि भन्दै बनाइएको मन्दिरको संरचना पनि हटाइएको उनले बताए। निकुञ्जका कर्मचारी र नेपाली सेनाको टोलीले ती संरचना भत्काएको हो। विगत दुई/ तीन महिनायता बनाइएका संरचना भत्काइएको उनको भनाइ छ।

विगतदेखि नै रहेका १२ वटा घर भने भत्काइएको छैन। ती क्षेत्रमा टहरा बनाएपछि जग्गा पाइन्छ भन्ने हल्ला चलाएर ठाउँठाउँबाट मानिस घरटहरा बनाउन आउने गरेको उनले जानकारी दिए।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले कुसुम खोला जाँदै गरेका कतिपय भेटिएकालाई बगही पोष्टबाट समेत फर्काउने गरिएको बताए।

‘नियमित रूपमा अवैध ढंगले यहाँ बनाइएका संरचना भत्काउने गरेका छौँ,’ उनले भने।

सो क्षेत्रमा बनाइएका घर टहरा समय समयमा संयुक्त सुरक्षा गस्ती पुगेर भत्काउने गरेको उनले बताए। दुई वर्षअघि हात्ती लगाई भत्काउनाका साथै निकुञ्जले सो बस्तीमा आगजनी गरेको थियो।

घरटहरामा आगजनी गरेपछि उक्त विषयले ठूलो चर्चा पाएको थियो। सो क्षेत्रमा बाहिरबाट मानिस गएर बसोबास गर्न थालेपछि पुन: भत्काइएको उनले बताए।

प्रकाशित: २३ मंसिर २०७९ १४:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + ten =