उत्साहित तर संयमित अर्जेन्टिना

हिमाल प्रेस १७ मंसिर २०७९ १६:००
20
SHARES
उत्साहित तर संयमित अर्जेन्टिना

काठमाडौँ- यो विश्वकपमा अर्जेन्टिनाले उतारचढाव भोगिरहेको छ। दोहामा भव्य स्वागत पाएको अर्जेन्टिनाले सुरुकै खेल हार्‍याे। त्यसपछिका दुई खेल जितेपछि मात्रै उपाधि दाबेदार मानिएको अर्जेन्टाइन टिम नकआउट चरणमा पुगेको हो।

उसो त कतारी भूमिमा भइरहेको विश्वकपमा पराजय भोग्ने अर्जेन्टिना एक्लो पूर्वविजेता होइन। समूह चरणमा स्पेन र जर्मनलीले पनि हार व्यहोरे। ती दुवै जापानसँग स्तब्ध बनेका हुन्। एसियाली टिमसँग हारेकै कारण जर्मनी त घर फर्किइसकेको छ। स्पेन भने अर्जेन्टिना, ब्राजिल, पोर्चुगल, इंग्ल्यान्ड जस्ता बलिया टिमसँगै नकआउट चरणमा पुगेको छ।

शनिबार राति देखि नकआउट चरणका खेल सुरु हुँदैछन्। अर्जेन्टिनाले अस्ट्रेलियाकाे  सामना गर्ने तालिका छ। समूह ‘सी’ को उपविजेता बनेर नकआउटमा पुगेका अस्ट्रेलिया अर्जेन्टिनाका लागि सजिलो विपक्षी भएको भनिँदैछ।

फेरि लगातार दुई खेल जित्दै नकआउट यात्रा तय गरेकाले पनि अर्जेन्टिना उत्साहित छ। दक्षिण अमेरिकी च्याम्पियन अब विश्वकपमा आफ्नो स्वाभिवक लयमा फर्कियो भन्नेको संख्या पनि कम छैन। पोल्यान्डविरुद्ध गोल गरेको एलेक्सि म्याक अलिस्टरले नै पनि यही भनाइ दोहोर्‍याएका छन्। ‘अर्जेन्टिना पुरानो स्वरुपमा फर्किएको छ,’ म्याक अलिस्टरले भनेका छन्।

तर के अर्जेन्टिनाले बाटो बिराएकै थियो त?

विश्वकप खेल्न कतार ओर्लनुअघि अर्जेन्टिना लगातार ३६ खेलमा अपराजित थियो। थप एउटा खेल नहारेको भए इटालीको कीर्तिमान बराबर गर्ने थियो। तर साउदी अरबले अर्जेन्टिनाको त्यस्तो सम्भावनालाई अन्त्य गरिदियो।

साउदीविरुद्ध अर्जेन्टिनाले १० औँ मिनेटमै अग्रता लिएको थियो। पहिलो हाफमा अर्जेन्टिनाले तीन गोल थप्यो। तर ती कुनै गोलले मान्यता पाएनन्। त्यसपछि दोस्रो हाफमा सुरुको पाँच मिनेटमै दुई गोल भए। जसले आखिरमा नतिजा अर्जेन्टिनाको पक्षबाट खोसे।

अब अर्जेन्टिना यस्तो स्थितिमा पुग्यो, जहाँबाट नकआउट चरणको यात्रा सजिलो थिएन। तर बाँकी दुई खेलमा अर्जेन्टिनाले चार गोल गर्‍यो, एकै गोल खाएन। नतिजा आफ्नो पक्षमा पार्न अर्जेन्टिनाले मेहनत भने निकै गर्नुप¥यो।

विशेषगरी मेक्सिकोसँगको पहिलो हाफमा अर्जेन्टाइन अग्रपंक्ति संघर्षरत रह्यो। पाँच रक्षक सम्मिलित मेक्सिकन रक्षापंक्ति साँच्चै जब्बर थियो। तर ६४ औँ मिनेटमा लियोनल मेस्सीले गोल गरेपछि खेलमा अर्जेन्टिना हाबी हुन थाल्यो।

पोल्यान्डसँगको खेल भने अर्जेन्टिनाले सुरुबाटै आफ्नो नियन्त्रणमा राखेको थियो। तर मेस्सीले पेनाल्टी खेर फालेपछि भने पहिलो हाफ गोलरहित बराबरीमा सकियो। यसैकारण अर्जेन्टिनाका लागि दोस्रो हाफको सुरुवात तनावरहित रहन सकेन। यद्यपि मेस्सीले दोस्रो हाफमा गोल गरे। इन्जो फर्नान्डेजले अर्को गोल थपे।

झट्ट हेर्दा अर्जेन्टिना मुस्किलले नकआउट चरणमा पुगेको जस्तो देखिन्छ। साउदीसँगको हारले त अर्जेन्टिनाको स्तरमाथि नै प्रश्न उठे। तर यहाँ भुल्न नहुने तथ्य के हो भने, अर्जेन्टिना ३९ खेल खेल्दा एकमा मात्रै पराजित भएको छ। साउदीसँगको त्यो पाँच मिनेटबाहेक अर्जेन्टिनाले कतारमा खासै अप्ठ्यारो स्थितिको सामना गर्नु परेको छैन।

त्यसैले होला प्रशिक्षक लियोनल स्कालोनी आफू दबाबमा नरहेको बताएका थिए। ‘अबका दुई खेलमा अर्जेन्टिनाले आफूलाई सम्हाल्नेछ,’ साउदीसँग हारेपछि स्कालोनीले भनेका थिए।

मेस्सीका लागि यो सम्भवतः अन्तिम विश्वकप हो। करियरको उत्तराद्र्धमा रहे पनि उनी यो अर्जेन्टाइन टिमका मुख्य खेलाडी हुन्। तीन खेलमा गरेको प्रदर्शनका आधारमा यति भन्दा गलत हुइँदैन। पहिलो खेलमा पेनाल्टी खेर फालेको भए पनि लगभग सधैँजसो उनको जादुले काम गरेको छ।

अर्जेन्टाइन टिमको सकारात्मक पक्ष के हो भने, मेस्सीसँगै बाँकी टिम पनि लयमा छ। पहिलो एघारमा जस्तै प्रतिभावान् खेलाडी बेन्चमा पनि छन्। स्कालोनी ती खेलाडीलाई मौका दिने कुरामा पछि हटेका छैनन्।

त्यसकै उदाहरण हो, पोल्यान्डसँगको खेल। सुरुका दुई खेल खेलेका लाउटारो मार्टिनेजको ठाउँ जुलियान अल्भारेजले लिए भने इन्जो फर्नान्डेज पहिलो पटक पहिलो एघारमा परे। अर्जेन्टिनाले दुई खेलमा क्लिनसिट राखेको छ। मिडफिल्डमा रोड्रिगो डे पउलको प्रदर्शन सुध्रिदा अर्जेन्टिनाको रक्षापंक्तिलाई सघाउ पुगेको छ।

अर्जेन्टिनाले पोल्यान्डलाई हाइप्रेस खेलेर दुःख दिएको थियो। बल गुमाउन साथ खोस्न जाने अर्जेन्टाइन खेलाडीले निकै आक्रमण बुने। यद्यपि धेरैजसो आक्रमणलाई पोल्यान्डका गोलरक्षक वोजिएक सेज्नेीले विफल बनाइरहे।

जित ठूलो अन्तरको नभए पनि पोल्यान्डविरुद्धको खेल अर्जेन्टिनाका लागि विश्वकपकै उत्कृष्ट थियो। यो खेल अर्जेन्टिना लयमा फर्किएको प्रमाण थियो। यही लय उसले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दा पनि कायम राख्नु पर्नेछ। एसियाली विपक्षी सामना गर्नुअघि अर्जेन्टिना आत्मविश्वासी त छँदैछ, संयमता पनि अपनाइरहेको छ। अर्जेन्टिना कति संयमित छ भनेर मेस्सीकै भनाइले पनि पुष्टि गर्छ, ‘विश्वकपमा सबै विपक्षी कठिन हुन्छन्। जसले जसलाई पनि हराउन सक्छन्।’

प्रकाशित: १७ मंसिर २०७९ १६:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + fourteen =