नुवाकोटका कफी किसानलाई प्रविधि र तालिमको खाँचो

हिमाल प्रेस १६ मंसिर २०७९ २१:००
10
SHARES
नुवाकोटका कफी किसानलाई प्रविधि र तालिमको खाँचो फाइल तस्बिर।

बिदुर– विश्वमा कफीको माग बढ्दै गएकोले यसको निकासी विस्तारका लागि गुणस्तरीय कफी उत्पादनमा ध्यान दिनुपर्ने सरोकारवालाले बताएका छन्।

शुक्रबार ‘व्यावसायिक कफी खेतीमा जोड-गुणस्तरीय उत्पादन हाम्रो अठोट’ भन्ने मूल नाराका साथ १८औँ राष्ट्रिय कफी दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागीले नेपालको आर्थिक विकासका लागि कफी कोसेढुंगा हुने बताएका हुन्।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य रमेश महतले नुवाकोटमा पछिल्लो समय कफी उत्पादनमा वृद्धि भइरहेको र यसको क्षेत्र विस्तारमा सबैको ध्यान पुग्नुपर्ने बताए।

‘सन् २००८ देखि नुवाकोटमा व्यवस्थित कफी उत्पादन हुन थालेको हो। अहिले नुवाकोटको कफी विदेश निर्यात् हुनथालेको रहेछ। यो खुसीको कुरा हो,’ उनले भने, ‘खेती प्रवर्द्धनका लागि ध्यान दिनुपर्छ। किसानलाई थप हौसलाको खाँचो रहेको छ।’

कार्यक्रममा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णु भट्टराईले स्थानीय सरकारले विकासको बजेट बाटोमा मात्र नभई माटोमा पनि लगानी गरे कफी खेतीको विकास र प्रवर्द्धन हुने बताए।

उनले नेपालको कफीको विदेशमा समेत उच्च माग भएकाले किसानले यसको उत्पादनमा जोड दिनुपर्ने बताए।

‘कफी नेपालको विदेशी मुद्रा भित्र्याउने वस्तु हो। गुणस्तरीय उत्पादनमा ध्यान दिनुपर्छ, विदेशमा जति पनि बिक्री हुन्छ। नेपालको आर्थिक उन्नतिका लागि कफी उत्पादन एउटा प्रमुख खेती हो,’ कार्यकारी निर्देशक भट्टराईले भने।

कार्यक्रममा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका उपाध्यक्ष केशर सिटौलाले किसानलाई उपयुक्त प्रविधि र तालिमको खाँचो रहेकोले बोर्डले अहिले यसैमा केन्द्रित भएर योजना ल्याएको बताए।

नेपालमा हाल तीन हजार तीन सय ४३ हेक्टर जमिनमा कफी खेती हुँदै आएको छ।

गत आर्थिक वर्षमा तीन सय ५५ मेट्रिकटन कफी उत्पादन भएको र यसको २० प्रतिशत कफी विदेशी बजारमा बिक्री भएको बोर्डले जनाएको छ।

नेपालमा विसं १९९५ हिरा गिरीले बर्माबाट ल्याएको कफीको बीउ गुल्मीको आँपचौरमा रोपण गरेपछि नेपालमा कफी खेती सुरु भएको इतिहास छ।

प्रकाशित: १६ मंसिर २०७९ २१:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 10 =