कतारमा मिसन पूरा गर्दै डानी आल्भेस

हिमाल प्रेस १६ मंसिर २०७९ २०:४७
12
SHARES
कतारमा मिसन पूरा गर्दै डानी आल्भेस

काठमाडौँ- डानी आल्भेस जसरी भए पनि ब्राजिलको टिममा पर्न चाहन्थे। करियरको उत्तरार्द्धमा विश्वकप खेल्ने उनको चाहना लुकेको थिएन। तर ३९ वर्षको उमेरमा ब्राजिलको टिममा पर्न किन सजिलो हुन्थ्यो र? यो तथ्य आल्भेसले बुझेका थिए। तब त उनले यसलाई मिसन नै बनाए।

आखिरमा आल्भेसको मिसन सफल भयो। समूह चरणको सुरुवाती दुई खेलमा बेन्चमा रहे पनि उनी अन्तिम खेलमा भने पहिलो एघारमा पर्ने निश्चित छ। यसैकारण क्यामरुनसँगको खेलअघि पत्रकार सम्मेलनमा उपस्थित उनले भने, ‘मेरो मिसन सफल भएको छ।’

उनी क्यामरुनविरुद्ध मैदान उत्रदा उनको नाममा कीर्तिमान बन्नेछ। जुन हो, ब्राजिलका लागि खेल्ने सबैभन्दा पाको खेलाडी। यो कीर्तिमान हाल ३८ वर्षीय थियागो सिल्भाको नाममा छ।

केही समयअघिसम्म पनि यकिन थिएन, आल्भेसलाई टिटेले ब्राजिलको टिममा राख्छन् कि राख्दैनन् भनेर। उनी विश्वकप खेल्न शारीरिक रुपमा योग्य छैनन् भन्ने खबर पनि बाहिर आए। यस्ता खबर टिटेका स्काउटले आल्भेसको खेल मेक्सिको गएर हेरेपछि बाहिर आएका थिए।

मेक्सिकन क्लब पुमाबाट खेल्ने आल्भेसका केही खेल हेरेपछि टिटेका स्काउटले सुझाए, ‘यत्तिको फिटनेसले पुग्दैन। फिट हुन मेहनत गरे भने बोलाउँदा हुन्छ।’

हालै आल्भेसले त्यसबेलाको कुरा खोलेका छन्। ‘हो मेरो खेल हेर्न ब्राजिलबाट स्काउट मेक्सिको पुगेका थिए। म त्यसबेला शारीरिक रुपमा बलियो स्थितिमा थिइनँ। त्यसकारण उनीहरुलाई सोधे, मैले अब के गर्नुपर्छ? के मिसन बनाउनु पर्छ? किनभने म मिसन पूरा गर्न माहिर छु,’ आल्भेसले भने।

त्यसपछि ब्राजिलियन प्रशिक्षण टिमबाट जे भनियो, आल्भेसले त्यही गरे। भनिए बमोजिमको अभ्यास गरे। त्यसपछि उनी विस्तारै आवश्यकता अनुसारको फिट भए।

‘उनीहरू फेरि मेक्सिको पुगे। त्यसपछि उनीहरूको निक्र्योल थियो, म ब्राजिलको टिममा पर्न सक्षम छु। यहाँसम्म आइपुग्न मैले निकै मेहनत गर्नुपर्‍यो। म राष्ट्रिय टिममा पर्नका लागि जे गर्न पनि तयार हुने खलाडी हो,’ आल्भेसले भने।

आल्भेसलाई टिममा बोलाउँदा टिटेको खुबै आलोचना भयो। बार्सिलोनासँगको सम्झौता सकिएपछि मेक्सिकन क्लब पुमा पुगेका आल्भेसले त्यहाँ जम्मा १२ खेल खेलेका थिए। कम प्रतिस्पर्धात्मक लिग खेल्ने पाको खेलाडीलाई विश्वकपमा किन मौका? टिटेले सामना गर्नु परेका प्रश्न यही थियो।

प्रशिक्षकमाथि यस्तो प्रश्न गर्नेलाई आल्भेसको जवाफ छ, ‘मेरो उमेरका कारण आलोचना भएको हो। तर मैले खेल्नै पर्छ भन्ने छैन। नखेल्दा पनि म यो टिमलाई सहयोग गर्न सक्छु।’

उता टिटे पनि आल्भेसको यो भनाइसँग सहमत छन्। ‘उनी उच्चस्तरका खेलाडी हुन्। उनलाई म सम्मान गर्छु। उनले आफ्नो करियरमा ठूलो उचाइ प्राप्त गरेका छन्। मैदानबाहिर र भित्र उनको भूमिका हाम्रा लागि महत्त्वपूर्ण छ,’ टिटेले भने।

सुरुका दुई खेल खेलेका खेलाडीलाई टिटेले आराम दिने भएकाले आल्भेसले क्यामरुनसँग खेल्न लागेका हुन्। ब्राजिल नकआउट चरणमा पुगिसकेकाले पनि टिटेसँग बेन्चमा रहेका खेलाडीलाई मौका दिने विकल्प भएको हो। उसो त पहिलो रोजाइका राइटब्याक डानिलो घाइते भएपछि टिटेसँग आल्भेसलाई खेलाउने विकल्प थियो। तर उनले एडेर मिलिटाओलाई सेन्ट्रल डिफेन्सबाट त्यता सारे।

आल्भेसले सन् २००६ मा एक्वाडोरविरुद्धको खेलबाट ब्राजिलियन टिममा डेब्यु गरेका थिए। उनी तेस्रो विश्वकप खेल्दैछन्। उनले पछिल्लो पटक खेलेको विश्वकप सन् २०१४ को हो। रुस विश्वकपका बेला भने घाइते थिए। उनले ब्राजिलको जर्सीमा १२५ खेल खेलिसकेका छन्। क्यामरुनविरुद्ध उनले नै ब्राजिलको कप्तानी गर्नेछन्।

‘मेरो मिसन भनेको राष्ट्रिय टिमलाई सहयोग गर्ने हो। यदि मलाई डम्फु बजाएर दर्शकदिर्घामा बस्न भनियो भने म त्यो पनि गर्न तयार छु। जे भूमिका दिइन्छ म त्यो पूरा गर्न चाहन्छु,’ आल्भेसले भने।

प्रकाशित: १६ मंसिर २०७९ २०:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =