पोर्चुगलविरुद्ध २० वर्षअघिको नतिजा दोहोर्‍याउने सुरमा दक्षिण कोरिया

हिमाल प्रेस १६ मंसिर २०७९ १६:२१
6
SHARES
पोर्चुगलविरुद्ध २० वर्षअघिको नतिजा दोहोर्‍याउने सुरमा दक्षिण कोरिया

काठमाडौँ- घानासँग ३–२ ले हारेपछि निराश बनेको दक्षिण कोरिया शुक्रबार राति पोर्चुगलसँग भिड्दैछ। निराशालाई पाखा लगाएर दक्षिण कोरिया बलियो युरोपेली टिमको सामना गर्न तयार छ। यो खेल जिते मात्र दक्षिण कोरियाको विश्वकप नकआउट चरणमा पुग्ने सम्भावना जीवित हुनेछ।

दक्षिण कोरिया समूह ‘एच’ को तेस्रो स्थानमा छ। पहिलो खेलमा उरुग्वेसँग बराबरी गरेको दक्षिण कोरियासँग एक अंक छ। एक अंक नै भएको उरुग्वे शुक्रबार राति नै दोस्रो स्थानको घानासँग खेल्दैछ। यो खेलको नतिजाले पनि दक्षिण कोरियाको आगामी यात्राको निक्र्योल गर्नसक्छ।

दक्षिण कोरियासँग विश्वकपमा यसअघि पोर्चुगललाई हराएको अनुभव छ। सन् २००२ मा आफैँले आयोजना गरेको विश्वकपमा दक्षिण कोरिया पोर्चुगलमाथि १–० ले विजयी भएको थियो। संयोगवश त्यस खेलमा दक्षिण कोरियाका हालका प्रशिक्षक पाउलो बेन्टो पोर्चुगलको टिममा थियो। समूह चरणको त्यो खेल बेन्टोले पोर्चुगलका लागि खेलेको अन्तिम खेल बन्यो।

यिनै बेन्टो अगस्ट, २०१८ देखि दक्षिण कोरियाका प्रशिक्षक छन्। घानासँगको खेलमा रातो कार्ड पाएका बेन्टो शुक्रबारको खेलमा दक्षिण कोरियाली बेन्चमा हुने छैनन्। उनको स्थान सहायक प्रशिक्षक सर्जियो कोस्टाले लिनेछन्। उनले आफ्नो टिम लयमा फर्कने विश्वास लिएका छन्।

‘घानासँगको खेल हामीले जित्नुपर्ने थियो। हामी त्यसको हकदार थियौँ। पोर्चुगलसँगको खेलमा हामी स्वाभाविक लयमा फर्कनेछौँ,’ पोर्चुगलकै नागरिक कोस्टाले भने।

युरो २०१६ को विजेता पोर्चुगल जारी विश्वकपमा अपराजित छ। पहिलो खेलमा घानालाई ३–२ ले हराएको पोर्चुगलले दोस्रो खेलमा उरुग्वेमाथि २–० को जित हासिल गरेको थियो। लगातार तेस्रो खेल जिते पोर्चुगल समूह विजेता बनेर नकआउट चरणमा पुग्नेछ। समूह विजेता पोर्चुगलको अन्तिम १६ मा ब्राजिलसँगको सम्भावित जम्काभेट टर्नेछ।

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोस भने आफ्नो टिमको पहुँचबाट शीर्षस्थान फुत्किन सक्ने बताउँछन्। ‘हामी समूहका शीर्षस्थानमा हुन्छौँ भन्ने ग्यारेन्टी छैन। तर हामी यसका लागि लड्न तयार छौँ। फेरि हामीलाई शीर्षस्थान चाहिएको ब्राजिलसँगको सम्भावित भेट टार्न मात्र होइन,’ सान्तोसले भनेका छन्।

दक्षिण कोरियासँगको खेलका लागि सान्तोसले पोर्चुगलको टिममा केही परिवर्तन गर्ने अपेक्षा गरिएको छ। घाइते लेफ्टब्यक नुनो मेन्डेसको स्थान राफाएल गुरेरोले लिनेछन्। त्यसैगरी कप्तान क्रिस्टियानो रोनाल्डोलाई पनि आराम दिइने सम्भावना छ।

‘उनले खेल्ने र नखेल्ने सम्भावना उत्तिकै छ। के गर्ने भन्नेबारे अहिल्यै नै निर्णय भइसकेको छैन,’ सान्तोसले भने।

यो खेल खेले रोनाल्डोले पोर्चुगलका लागि सबैभन्दा धेरै विश्वकप गोल गरेको कीर्तिमान बराबर वा तोड्न सक्छन्। यो कीर्तिमान युसेबियोको नाममा छ। उनले सन् १९६६ विश्वकपमा नौ गोल गरेका थिए। रोनाल्डोले भने पाँच विश्वकपमा गरी कुल आठ गोल गरेका छन्।

रक्षक डानिलो पेरेरा पनि घाइते छन्। उनको स्थान ३९ वर्षीय पेपेले लिने सम्भावना छ। जसको मुख्य जिम्मेवारी दक्षिण कोरियाका स्ट्राइकर चो गुए सङलाई रोक्ने हुनेछ। सङले घानाविरुद्ध तीन मिनेटमा दुई गोल गरेका थिए।

प्रकाशित: १६ मंसिर २०७९ १६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 3 =