कटुसघारी, गुराँसघारी अनि चम्पादेवी मन्दिर

राजाराम बर्तौला १७ मंसिर २०७९ १३:४९
94
SHARES
कटुसघारी, गुराँसघारी अनि चम्पादेवी मन्दिर

चम्पादेवी कीर्तिपुरको दक्षिण डाँडामा अवस्थित देवी भगवती हुन्। देवीको दर्शनले इच्छाएको कुरा पूरा हुने जनविश्वास परापूर्वदेखि नै रहिआएको छ। यही जनविश्वासले गर्दा सदीयौँदेखि भक्तजन पानीसम्म नपाइने सुक्खा पहाडमा उक्लिरहेका हुन्छन्।

त्यसै मन्दिरमा फूलपाती चढाउन हामीले पनि शनिबारे पदयात्रा गर्ने निश्चय गर्‍यौँ। पदयात्रामा रुचि राख्नेहरूका लागि चम्पादेवी सधैँ आकर्षणको केन्द्र रहने गर्छ। काठमाडौँ उपत्यकाको दक्षिण–पश्चिममा रहेको चम्पादेवी डाँडाको केही खण्ड काठमाडौँ र मकवानपुर जिल्लाको सिमाना पनि हो।

कीर्तिपुरवासीका लागि त यो झन् शिरपोसजस्तै हो। वरपरबाट चम्पादेवीलाई हेरिरहने युवालाई त यस पर्वतले चुनौती दिएजस्तै लाग्छ।  पदयात्रामा सँगै रहेका अनन्य मित्र अवकाशप्राप्त कर्नेल प्रकाश रावल आफ्नो बाल्यकाल सम्झिँदै थिए। मच्छेगाउँका उनी सानोमा घरमा कसैलाई नभनी डाँडा चढ्न उकालो लागेछन् र हराएछन्। पछि हजुरबाको हातबाट चड्कन खाएको सम्झना हामीसँग साट्दै थिए उनी।

अनकन्टार जंगलमा चितुवा र भालुको डर उस्तै। वनको बाटोमा एक्लै हिँड्न ठूलै आँट चाहिन्छ। त्यसैले यो पहाड चढ्नु एउटा चुनौती नै हो भन्ने लाग्छ। त्यसैले बालक प्रकाश रावलजस्तै एक्लै नभई समूहमा हिँड्ने योजना बनायौँ। सुरक्षाका दृष्टिकोणले पनि सकेसम्म समूहमा हिँड्नु नै उपयुक्त हुन्छ।

पदयात्रामा उकाली र ओराली गरिरहेका युवकयुवती धेरै भेटिए। कोही बाटो किनारमा सुस्ताउँदै थिए, कोही भर्‍याङ चढ्दै थिए। छोटा र व्यवस्थित बाटा। अनुपम सौन्दर्यले भरिपूर्ण प्राकृतिक दृश्य। धार्मिक स्थल पनि भएकाले पछिल्लो समय चम्पादेवीको पदयात्रा युवा पुस्तामा समेत लोकप्रिय हुँदै गएको छ।

चम्पादेवी पुग्ने बाटा धेरै छन्। मच्छेगाउँबाट ठाडो भर्‍याङ चढेर छापडाँडा हुँदै, चोभारको टौदह, फर्पिङ, बाँसघारीबाट हात्तीवन रिसोर्ट हुँदै वा डल्लु, फर्पिङभन्दा वरैबाट पदयात्रा सुरु गर्न सकिन्छ।
फर्पिङपट्टिको पदमार्ग अलि सुगम छ। पदमार्गमा बनाइएका भर्‍याङ नै बाटो सुगम हुनुको कारण हो। तर हामीले डल्लुबाट पदयात्रा सुरु गर्‍यौँ।

डल्लुबाट उकालो लाग्दै गर्दा बृहत् आकारको नवनिर्मित बौद्ध गुम्बा देख्यौँ। त्यसको परिसरमा अजङका आवासीय भवन थिए। प्राकृतिक परिवेशमा बनाइएका यस्ता भवन योग–ध्यान गर्न उपयुक्त होलान्। सायद त्यसकै लागि बनाइएका पनि होलान्।

गुम्बा ९ बजेबाट मात्र खुल्ने भएको हुँदा हामीले बाहिरबाट नै दर्शन गर्‍यौँ। गुम्बामा बढेमाको अमिताभ बुद्धको प्रतिमा थियो। पृष्ठभूमिमा हरियो जंगल, माथि नीलो आकाश, तोरणले जेलिएको उपवनले गुम्बाको भव्यता बढाइरहेको थियो।

नेपालमा हरेक धर्मको सम्मान गरिन्छ। ‘सर्व धर्म समभाव’को उदाहरण त्यहाँ देख्न सकिन्छ। डल्लुको बौद्ध गुम्बामा रहेको बुद्धमूर्तिमा शिवको त्रिशूल हुनुले सो कुरालाई प्रमाणित पनि गरिरहेको थियो। आँखालाई मात्र नभई मनलाई नै आनन्दको अनुभूति गराउने त्यो दृश्य।

हिँड्न थालेको केहीबेरमा एसयूभी र महँगा कूटनीतिक नम्बरका गाडीको लस्करले हाम्रो हिँडाइमा अवरोध पुर्‍यायो। तिनका लागि बाटो छाड्दै हामी किनारमा उभियौँ। गाडीको लस्कर गएको हेरिरह्यौँ।
अलि अगाडि गएपछि जंगलले हाम्रो स्वागत गर्‍यो। जसै बाटोले उचाइ लियो बाटोभरि छरिएका कटुसका बिझाउने काँडा देखिए। कटुसले ढाकिएको र कस्सिएको रहेछ वन।

भर्‍याङ उक्लिँदै जाँदा उचाइले पनि आफ्नो विविधता देखाउँदै गयो। उकालो लागेपछि कटुसघारी सकेर गुराँसघारी सुरु भयो। अहिले गुराँस फुल्ने ऋतु होइन। त्यसका लागि त वसन्तलाई पर्खिनुपर्छ। कठ्याङ्ग्रिने शिशिरमा कसरी फुल्नु लालीगुराँस?

फेदीबाट ८ बजे सुरु गरेको पदयात्रा चम्पादेवी पुग्दा १२ बजेको थियो। सामान्यतः तीन घण्टामा टुंगिने यात्रा हामीले चार घण्टामा पूरा गर्‍यो। मन्दिर अनेकन् तोरणले सजाइएको छ। बीचमा स्टिलको पोलमा नेपालको झण्डा पनि फहराइएको छ। विश्रामस्थल पनि छ त्यहाँ। देवीको दर्शन गरेपछि हामीले विश्रामस्थलमा बसेर सामूहिक भोजन गर्‍यौँ। सबै पदयात्रीले आआफ्ना घरबाट खानेकुरा ल्याएका थिए। ती खानेकुरा बाँड्दै खानुको आनन्द नै विशेष हुने।

आफूले भने अल्छी गरेर पाउरोटी र जाम लिएर गएको थिएँ। तर साथीहरूले मीठा–मीठा स्वादिष्ट परिकार खुवाए। खानापछि एक मित्रले थर्मसबाट कपमा कफी भर्दै दिएपछि मनै आनन्दित भयो। पहाडको शिरमा शिशिरयाममा थाकेको शरीरले तातो कफी खान पाउनुको आनन्द नै बिछट्टै हुन्छ। जसले ताजगी भरिदिन्छ।

चम्पादेवीमा पानी पाइँदैन। यो कुरा त्यहाँ पदयात्रामा जाने प्रायः सबैलाई थाहा हुन्छ। पदयात्रीले आफ्नो साथमा प्याकेटका खानेकुरा र पानीका बोतल बोकेर गएका हुन्छन्।

प्रयोगपछि पानीका खाली बोतल र खानेकुराका प्लास्टिकका खोस्टा यत्रतत्र फ्याँकिएका हुन्छन्। सफा प्रकृतिमा मान्छेद्वारा गरिएको त्यो फोहोरका दृश्यले मनलाई दुःखी बनाउँछ।

मन्दिरको पवित्रतासँगै पर्यावरण स्वच्छ हुनु पनि आवश्यक छ भन्ने मान्छेले किन बिर्सिन्छन् होला! धार्मिकस्थल, नदीनालालाई प्रदूषित गर्नुलाई मानिसले आफ्नो अधिकार नै ठान्छजस्तो। यहाँ पनि ठ्याक्कै त्यही देखिन्छ।

यस पवित्र र सुन्दर ठाउँमा फोहोर गर्न मान्छेहरूले कुनै कमी गरेका छैनन्। प्रयोग गरेको प्लास्टिकका बोतल र खानेकुरा खोस्टा जताततै देखिन्छन्। स्थानीय सरकारले नेतृत्व लिएर बेलाबेलामा यहाँ सरसफाइ अभियान चलाउनुपर्ने देखिन्छ।

चम्पादेवीबाट हिमालको रेन्ज पूरै देखिन्छ। त्यहाँबाट मात्र नभई उपत्यकाको दक्षिण पहाड सबै हिमाली दृश्यको लागि अति नै उपयुक्त ठाउँ हुन्।

२२८५ मिटर अग्लो चम्पादेवीभन्दा पश्चिममा रहेको भस्मासुर अझै अग्लो छ। त्यो करिब २५०० मिटर अग्लो छ। हिमाली दृश्यावलोकनका लागि अझै उत्तम। तर, जतिसुकै उचाइमा गएर हिमाल हेर्छु भन्दा पनि काठमाडौँको प्रदूषणको तुवाँलोले हिमाली दृश्यलाई धमिलो बनाएको देखिन्छ।

हिमाल खुलेको दिन, काठमाडौँमा पानी परेर प्रदूषण हटेको दिन अलौकिक हिमाली दृश्य हेर्न पाइन्छ। चम्पादेवीबाट पनि अन्नपूर्ण, लाङटाङ र गौरीशंकर हिमशृंखला देख्न सकिन्छ।

मान्छेहरू हिमालतिर आकर्षित भए पनि तरेली परेका पहाड, हरिया घना जंगल, बेसीको मानवबस्ती पनि कम्ता सुन्दर देखिँदैन। उत्तर हेरे घना सहरिया बस्ती काठमाडौँ, यही डाँडाको टुप्पोमा बसेर दक्षिण हेर्दा महाभारत शृंखला, खोच, खण्डहर, पहाडी भित्ता, पहरा र कन्दराका दृश्यले पनि मनलाई आनन्दित तुल्याउँछन्। त्यो अपरिमेय अपरिमित आनन्दको खानी हो नेपाल।

चम्पादेवीबाट हामी ओरालो लाग्यौँ। हात्तीवन रिसोर्ट पुग्नुभन्दा केही माथिबाट उपत्यकाको जुन दृश्य देखिन्छ, त्यो अति नै सुन्दर छ। हिमाली शृंखलाको त कुरै भएन, सहरी दृश्यका लागि लेलेदेखि शिवपुरी, नगरकोटदेखि थानकोटका सबै दृश्य सपाट देखिने रहेछ। यहाँबाट देखिने दृश्य बहुआयामिक रहेछन्।

त्यहाँबाट लखरलखर फेदी झरियो। हात्तीवन रिसोर्टलाई पछि छोड्दै ओर्लदै गर्दा बाटोमा बुद्ध, हात्ती र गैँडाको मूर्ति बनाएको देखियो। तर, ती मूर्तिमा कलाकारिताको सर्वथा अभाव छ। सिमेन्ट र फलामे रड प्रयोग गरेर बनाइएका ती मूर्ति देख्दा उराठलाग्दा छन्।

पहाडको भित्तामा नेपालको राष्ट्रिय झण्डा बनाइएको छ। त्यसलाई दायाँ पारेर हामी पहाडको चट्टानमा गुफासहित विराजमान नागेश्वर महादेवको दर्शन गर्न गयौँ। आगन्तुक दर्शनार्थीको सुविधाका लागि रेलिङ बार लगाएर भर्‍याङ बनाइएको छ।

पहाडको टुप्पोमा चम्पादेवी र मध्यभागमा नागेश्वर महादेवको दर्शन गरेर पदयात्रालाई विश्राम दिइयो। पदयात्रा सकाएर फर्कियौँ। बाँसघारीमा हामीलाई बसले कुरिरहेको थियो।

प्रकाशित: १७ मंसिर २०७९ १३:४९

प्रतिक्रिया

One thought on “कटुसघारी, गुराँसघारी अनि चम्पादेवी मन्दिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 13 =