नियात्रा

उहिले  दाउरेचौर, अहिले युवकयुवतीले टेन्टमा रात बिताउने ठाउँ

राजाराम बर्तौला ६ माघ २०८० १९:१५
242
SHARES
उहिले  दाउरेचौर, अहिले युवकयुवतीले टेन्टमा रात बिताउने ठाउँ

फर्पिङ बजारदेखि उठेर चम्पादेवीको पहाडसम्म पुगेको लमतन्न परेको डाँडोलाई शृंगला पर्वत भनिन्छ भनेर दक्षिणकाली नगरपालिका-५ का पूर्ववडाअध्यक्षले जानकारी गराएका हुन्। दुई बसभरि मानिस पदयात्राको उद्देश्य लिएर शेषनारायण मन्दिरमा पुग्दा वर्तमान वडाअध्यक्ष र पूर्ववडाअध्यक्ष दुवैजना हाम्रो स्वागतका लागि बसिरहेका थिए।

यति न्यानो आतिथ्य पाउनु पदयात्रीका लागि गौरवको कुरो थियो। त्यसमाथि पनि पूर्ववडाअध्यक्षले पदयात्राको पूरा अवधि मार्गप्रदर्शकको जिम्मेवारी लिइदिँदा हामी फुरुंग भयौँ।

फर्पिङ पुग्दा आठ बजिसकेको थियो। पुस महिनामा खोँचखोँचमा ढाक्ने बाक्लो तुसारो र हुस्सु पनि उडेर गइसकेको थियो। शृंगला पर्वतमा पारिलो घाम लागेको थियो। यही पारिलो घाममा वडाअध्यक्षले फर्पिङको सानो चिनारीसहित पदयात्रीलाई स्वागत गरेका थिए।

शेषनारायण दक्षिणकाली नगरपालिकाको वडा नं. ५ मा पर्दछ। यो पदयात्राको सांस्कृतिक महत्त्व पनि थियो। बाटामा भेटिएका देवी, देवता र ऐतिहासिक स्थलसमेत दर्शन गर्दै प्राकृतिक रमणीयतामा आनन्द लिन पाउनु गज्जबको समिश्रण र संयोजन रहेको छ यो पदयात्रा। एक हिसाबले ‘एक काज दुई पन्थ’ भन्दा पनि मिल्ने।

शेषनारायणको दर्शन गरेर पाइला अगाडि सार्न पाइयो। ठिक्क वडा कार्यालयभन्दा केही मिटर माथिबाट पदयात्राको थालनी भयो। सुरुबाटै उकालो लागेपछि निरन्तर चढिरहनुपर्छ। पदयात्रीको सुविधाका लागि सिमेन्टबाट बनेका सिँढी छन्।

शेषनारायणको दर्शनपछि केही समयको अन्तरालमा र केही दुरीको फरकमा बाटोको सम्मुखमा भेटिन्छिन् बज्रयोगिनी। भक्तहरू मन्दिरमा दर्शन गरिरहेका देखिन्छन् भने युवायुवती सँगैको जंगलमा हुक्का तानिरहेका भेटिन्छन्। अचेल हुक्कामा विभिन्न स्वाद र बास्ना आउने चिलिम पाइने भएकोले धुवाँ सुर्तीको थियो या गाँजाको?

केही मेसो पाउन सकिएन। पारिलो घाममा भुइँमा चिसो छेक्ने एक्रेलिक गलैँचामाथि बसेर हरियाली प्राकृतिक सौन्दर्य पानसँगै धूममानमा रमाउने युवा जमात पनि राम्रै देखियो। हामी झोला ढाड अड्याएर खुइय्य सुस्केरा हाल्दै उकालो उक्लिनुमा आनन्दको अनुभूति गरिरहेका छौँ। भक्तहरू भगवान्को पाउमा भक्ति चढाएर तथा युवायुवती हाँसखेल र खानपिनमा रमाएर आनन्दानुभूति गर्नुमा अनौठो नै के भो र?

बज्रयोगिनी तान्त्रिक साधनाका लागि आराध्य देवी हुन्। काठमाडौँ उपत्यकामा बौद्ध धर्मको आगमनसँगै विभिन्न पन्थ पनि भित्रिएर विकास भएको देखिन्छ। काठमाडौँ उपत्यका सहअस्तित्वका लागि नमुना नै मान्नुपर्दछ। यहाँ सनातनी वैदिक परम्परा र बौद्ध सम्प्रदायको गज्जबको समभाव समादर देखिन्छ।

पद्मसम्भव भारतबाट आएर यहाँ फर्पिङमा ध्यान गरेको तथ्य धेरै ग्रन्थबाट समेत प्रमाणित भइसकेका छन्। त्यसैले होला फर्पिङमा पद्मसम्भवका विशालकाय मूर्ति निर्माण गरिएका छन्। गुम्बा निर्माण गरिएका छन्।

तिब्बतमा बौद्ध धर्मलाई उचाइमा पुर्‍याउन पद्मसम्भवको महत्त्वपूर्ण योगदान छ। उनलाई गुरु रिन्पोछे भनेर बौद्ध अवतारका रूपमा पूजा गरिन्छ। यिनै रिन्पोछे फर्पिङभरि देखिन्छन्। तिब्बतमा विकास भएको तान्त्रिजमको प्रभाव नेपालमा राम्रैसँग परेको देखिन्छ।

काठमाडौँ उपत्यकाको चारै सुरमा योगिनीहरूको स्थापना गरिएको छ। हुन त हिन्दुशास्त्रमा ६४ योगिनीको वर्णन गरिएको छ। योगिनी भनेका शक्तिका प्रतीक हुन्। तन्त्रसाधना र योगसाधनामा निपुणलाई पनि योगिनी भनिन्छ। बौद्ध सम्प्रदायको तन्त्रवादमा काठमाडौँ उपत्यकाका चार योगिनीलाई महत्त्वपूर्ण स्थान दिइएको छ।

यी चारै योगिनी हिन्दु-बौद्ध दुवै सम्प्रदायका लागि आराध्य शक्तिस्वरूपा देवी भगवतीका रूप हुन्। साँखुमा रहेकी बज्रयोगिनी सबैभन्दा पुरानो र अन्य तीन योगिनीका दिदी हुन् भनेर भनिन्छ। बाँकी तीन योगिनीमा गुह्येश्वरी, फर्पिङ र बिजेश्वरीस्थित बज्रयोगिनी हुन्। यिनै बहिनी बज्रयोगिनीको दर्शन गरेर हामी उकालो लाग्यौँ।

केही मिनेटको उकालो हिँडाइपछि भेटिन्छ एउटा गुफा। यसलाई कोही असुर गुफा भन्दछन् भने कोही गोरखनाथ गुफा। यही गुफामा पद्मसम्भवले ध्यान गरेको विषयचाहिँ प्रामाणिक रूपमा नै बौद्धदर्शनमा आधारित शास्त्रहरूले बोल्दै आएका छन्। गुफा सम्वन्धमा खोजअनुसन्धान पनि गरिएका छन्। यो गुफा शेषनारायणसम्म गएको छ। अर्थात् शेषनारायणबाट प्रवेश गर्‍यो भने यहाँ निस्कन्छ भनेर भनिन्छ।

धेरै वर्षअगाडि सरकारी तवरबाट यस गुफाको अध्ययन गर्न प्रवेश गरेका दुईजना अमिनमध्ये एउटा हराएका कारण मानिसहरू प्रवेश नगरून् भनेर बीचमा बन्द गराइएको छ भनेर भनिन्छ। शेषनारायणपट्टिको गुफामा पद्मसम्भवको शिरको निसाना पनि छ भनिन्छ। के हुन सक्छ भने गर्मी समयमा पद्मसम्भवले शेषनारायणपट्टिको गुफामा र जाडो समयमा माथि डाँडोको गुफामा बसेर ध्यान गरेको हुनुपर्छ। जाडो महिनामा गुफाभित्र चिसो हावा छिर्दैन। गुफाले इन्सुलिनको काम गर्ने भएको हुँदा यी दुवै गुफामा बसेर पद्मसम्भवले ध्यान योग गरेको अनुमान गरियो। अहिले भक्तहरू यो गुफामा धूपदीप गर्छन्।

उता गुफाभित्र पद्मसम्भव ठिक्क गुफाको बाहिर जोडि पाउ देखिन्छन्। गोरखनाथको पूजा र आस्था पोखिएको प्रस्ट देखिन्छ। पाउमा दर्शन गर्ने र भेटी चढाउनेहरू पनि प्रशस्त देखिए। यो पदयात्रीले पनि यी सबै आस्थाका मन्दिरमा शिर झुकाएर नमन गर्‍यो। गुरु गोरखनाथलाई पृथ्वीनारायण शाह र नेपाल एकीकरणसँग जोडेर वर्णन गरिने भएको हुँदा यो ठाउँ पनि नेपाल एकीकरणसँग ऐतिहासिक रूपमा जोडिन आउने रहेछ।

यहाँबाट उकालो लागेपछि हरियाली जंगलको बीच सिँढी चढ्दै उकालो लाग्दा बाटोको दुवै किनारा लुंगर रंगीचंगी तोरणहरूले सजिएर बसेको छ। हेर्दा रमाइलो लाग्छ अति धेरै नै भयो भने त्यसले सौन्दर्यमा ह्रास पनि ल्याउँछ। वातावरणीय प्रदूषण पनि बढाउँछ। धार्मिक आस्थासँग जोडिएको विषय भएको हुँदा यसमा होसियारीपूर्वक सजावट गरिँदा अझै सुन्दर देखिने थियो।

हजारौँ सिँढी चढेपछि पुगिन्छ पुरानो दक्षिणकाली मन्दिर। त्यहाँ विशाल मन्दिर निर्माणाधीन छ। हामीले पूजा गर्दै आएको दक्षिणकाली मन्दिर कुनै कालखण्डमा माथिबाट तल सारिएको रहेछ। उनै पूर्ववडाअध्यक्षको भनाइअनुसार पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा यहाँ कालीदेवी स्थापना गरेका रहेछन्।

काठामाडौँको दक्षिणमा रहेकी हुँदा दक्षिणकाली भनिएको हो। पछि काली भगवतीले प्रतापसिंहलाई सपनामा आफूलाई तल उद्धारमती र पूर्णावतीको संगममा स्थानान्तरण गर्न भनेपछि ठाउँसार गरिएको भनिन्छ।

पुरानो दक्षिणकाली मन्दिर पृथ्वीनारायण शाहले तत्कालीन समयमा बनाएको किल्लाको स्वरूपलाई जस्ताको तस्तै राखी मन्दिर निर्माण गरिएको छ। जसरी किल्लाको रक्षार्थ बाहिरी घेरामा खाल्डो खनेर बैरीलाई प्रवेश गर्न नसक्ने गरी सुरक्षित बनाइएको हुन्छ त्यसैैको असली स्वरुप देख्न पाइन्छ अहिले पनि। बीच भागमा भने दक्षिणकाली भगवतीको मन्दिर छ।

उकालो लागेपछि बीचबाटोमा स्थानीय युवाको फुटबल सोखलाई पूरा गर्ने गरी अभ्यास खेलका लागि मैदान बनाइएको छ। बिहान जाँदा खेलाडी थिएनन् मध्याह्नमा फर्कँदा टिमको जर्सीमा सजिएर युवा फुटबल खेल्दै थिए। माटो काटेर बनाइएको मैदानमा फुटबल कहिलेकाहीँ धुलोभित्र हराउन पुग्दो रहेछ।

रहर र जोस भएपछि सानामसिना कुराले अवरोध गर्दा रहेनछन्। एक त फुटबल खेल्न एक घन्टा उकालो चढेर आउनुपर्ने, त्यसमाथि हिलाम्य-धुलाम्य भएर फर्कनुपर्ने। यी युवाको फुटबलप्रतिको मोह प्रशंसनीय छ। साथै स्थानीय प्रशासनले मैदान निर्माणमा देखाएको क्रियाशीलता पनि त्यस्तै। यति गरेपछि धुलो नउड्ने गरी निर्माण सम्पन्न भए युवा खेलाडीको फोक्सोमा विषाक्त धुलोका कणले प्रवेश पाउने थिएनन्।

उकालोपछि ओरालो र ओरालोपछि उकालो जिन्दगीको उहापोह भनेजस्तो शृंगला पर्वतको अन्तिम बिन्दुमा पुग्न नपाई हिँडाइ लम्कियो सुनडोलतर्फ। डोल भनेको दुई पहाडको पाखोबाट बगेर आउने पानीले सिँचाइ हुने ठाउँ हो। योचाहिँ सुनडोल।

सहयात्री साथीहरू ठट्टैको भाषामा सुन खोज्दै थिए। कसैले ठट्टैमा जवाफ फर्कायो अचेल सुन खोज्न यता हैन त्रिभुवन विमानस्थलमा जानुपर्छ। अर्कोले सुन्तलाको बोट देखाएर भन्यो, ‘उः त्यहाँ सुन फलेको छ।’ खेतीमा पसिना लगाउनुपर्छ। पसिना लगाएपछि सुन फल्छ। पछिल्लो साथीले संकेत गरेको ठाउँको नाम सापेक्ष थियो। अघिल्लो साथीले इंगित गरेको सामयिक मुलुकको अवस्था थियो। अर्थात् ऊ आफ्नो वर्तमान र देश साथै बोकेर हिँड्दो रहेछ जंगलको एकान्तमा पनि।

सुनडोलदेखि माथि ठाडो उकालोमा फलामे बारसहितको सिँढी बनाइएको छ। सिँढी चढेर पुग्ने गन्तव्य भनको भुनडोल हो। जंगलको बीचैबीच करिब एक किलोमिटर उकालो चढेर गएपछि ठूलो चौर देखिन्छ। यो चौर १९३२ मिटरको उचाइमा छ। पश्चिमपट्टि वाणासुरको शिखर छ भने उत्तरपूर्व चम्पादेवीको पर्वत। दुवैतर्फबाट पानी बगेर आउने भएकाले होला यो ठाउँको नाम भुनडोल भएको। स्थानीय बोलीचालीमा भने यहाँको नाम दाउरेचौर हो।

सामुदायिक वन भएका कारणले वन प्रवेश गरी वनपैदावर संकलन गर्न प्रतिबन्ध लागेको छ। घरघरमा ग्यासको चुल्हो पुगेको हुँदा अब दाउराको प्रयोजन सकिएको होला। त्यसैले अहिले यहाँ घँसिनी देखिए, दाउरेनी देखिएनन्। कुनै बेला सुनडोल बस्तीका बासिन्दा घाँसदाउरा गर्न यहाँसम्म आउँदा रहेछन्। चउरमा दाउराको भारी लहरै हुने रहेछ। त्यसैले यो ठाउँ दाउरेचौर भएको थियो।

प्रकृतिसँग रमाउन टेन्ट राखेर रात बिताउने युवायुवतीको जोडी आउँछन्। रात बिताउँछन्। नाचगान गर्छन्। फायर पार्टी गर्छन्। मुढा बाल्ने र तीनखुट्टे काठमाथि खसी झुन्ड्याएर पकाउँदै तीनपानेसँग खान्छन्। रात छिप्पिँदै गएपछि आआफ्नो टेन्टभित्र छिर्छन्। यहाँ आउने आन्तरिक पर्यटकलाई सेवा पुर्‍याउन केही अस्थायी छाप्रे दोकानको ब्यवस्था रहेछ।

यो ठाउँ एकान्तसँग रमाउनेका लागि निकै आकर्षक र उपयोगी रहेछ। सहरबाट न धेरै टाढा न नजिक। केही परिआउँदा गाडीबाट उद्धार पनि गर्न सकिने गरी घुमाउरो कच्ची सडक पुर्‍याइएको रहेछ। रात बिताउने गरी जानेहरूले जंगली जनावरको सम्भावित आक्रमणका लागि सुरक्षा व्यवस्थामा ध्यान दिन आवश्यक छ। यहाँ पिउने पानीको स्रोत छैन।

हामी पुग्दा एक हुल वयस्कहरू टेन्ट झिकेर हिँड्ने तररखरमा थियो। अर्को हुल टेन्ट गाड्दै थियो। केही जोडी वनभोजको मुडमा घरबाट बनाएर ल्याएको परिकार बाँडेर खाँदै थिए। हामी पनि थाकेर पुगेका थियौँ र भोकाएका थियौँ। सातदोबाटोबाट बोकेर लगेको आलु, साग, चना र चिउरा चपाएर तुम्लेटको पानी रित्त्यायौँ।

सहयात्रीको पनि आआफ्नै कथा हुने रहेछ। पदयात्राको आआफ्नै कारण रहेछ। एकजना सहयात्री थिए विक्रम जोशी। उनी पेसाले सिभिल इन्जिनियर हुन्। ‘चोभार ब्लुज’ नामक पुस्तकका लेखक रहेछन्। भन्दै थिए, ‘म नियात्रा लेख्छु तर नियात्राभित्र कसैको कथाव्यथा फेला परे न्यारेटरको भूमिकामा हुन्छु।’

ओहो गज्जबै भयो नि पदयात्रामा नियात्राकारसँगको साक्षात्कार! मैले सोधेँ, ‘आज कुनै कथाको प्लट फेला पर्‍यो कि?’ ‘परेकोे छैन अहिलेसम्म त्यस्तो पात्र भेटेको छैन। बरु तपाईँ नै पो मेरो कथाको पात्र होला जस्तो लाग्यो’, उनले भने। ‘म नै कथाको पात्र?’ झस्किएँ। ओहो, ममा त्यस्तो के देखे यिनले र म कथाको पात्र बन्नु हँ? सोच्दै थिएँ, हिँड्दै थिएँ। थकाइले लखतरान एउटा विश्राममा कुरा पोको पुन्तुरो खुल्न थाल्यो।

पदयात्राका सहभागीमध्ये हामी चारजना जेष्ठ नागरिक थियौँ। सबैको आआफ्नै जिज्ञासा र कारण पदयात्राको। एकजनाले मेरा अनन्य मित्र नारायणलाई सोधिहाले, ‘तपाईँचाहिँ किन पदयात्रा गर्दै हुनुहुन्छ?’ उत्तर सहज थियो, ‘तौल घटाउन।’ उनले थपे, ‘म ८२ केजीको थिएँ। ४५ सालदेखि जाँडरक्सी र चुरोट छोडेको। अहिले स्वस्थ छु।’

उनले एउटा रोमाञ्चक घटना सुनाए। उनी एक पटक बिरामी परेर डाक्टरकहाँ गएछन्। डाक्टरले सोधेछ, ‘रक्सी खानुहुन्छ।’ उसले भनेछन्, ‘खान्छु।’

डाक्टर- ‘छाडिदिनुस, आजैबाट छाडिदिनुस्।’

नारायण- ‘अहँ, त्यो हुँदैन, सकिँदैन।’

डाक्टर- ‘त्यसो भए जिन्दगीभर एकपल पनि नछोडी रक्सीकै नसामा जीवन बाँच्नोस्। राति सुत्दा पनि बोतल च्यापेर सुत्नू। नसाले छोडेको समयमा रक्सी खाएन भने तत्काल जीवन चट्, नमरेदेखि अपांग। मञ्जुर भए त्यसैगरी बाँच्नुस्, नभए आजैबाट नसा त्याग गरिदिनुस्।’

नारायण- चुप। तत्कालदेखि नै बोतल बन्द।

हिसाब गर्दा ३५ वर्ष भएछ नसारहित जिन्दगी बाँचेको। योगसाधना, बिहानबेलुकाको हिँडाइ र सप्ताहन्त पदयात्रा भएको मेरो दीर्घजीवनको रहस्य। उसले कथा सुनायो। हामी झोला बोकेर ओरालो लाग्यौँ।

जसरी गएका थियौँ त्यसैगरी फर्पिङ फर्कियौँ। हाम्रा लागि शेषनारायणमा बस प्रतीक्षामा थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − seven =