देउसी खेलेको पैसाले मगर जातिको संग्रहालय बनाइँदै

हिमाल प्रेस १६ मंसिर २०७९ १५:५७
6
SHARES
देउसी खेलेको पैसाले मगर जातिको संग्रहालय बनाइँदै

कुश्मा– मगर समुदायको ऐतिहासिक परम्परा संरक्षणका लागि पर्वतमा संग्रहालय निर्माण गर्न थालिएको छ।

पुन युवा क्लबको अगुवाइमा जिल्ला कुश्मास्थित दुर्लुङ चोकनजिकै मध्यपहाडी राजमार्गछेउ संग्रहालय बनाउन सुरु गरिएको हो।

बुधबार कुश्मा नगर प्रमुख रामचन्द्र जोशीले संग्रहालय भवनको शिलान्यास गरेका छन्।

संग्रहालय निर्माण गर्नका लागि क्लबले यस पटकको तिहारमा देउसी भैलो खेलेको र अघिल्ला दुई वर्ष लगातार दुई पटकसम्म मगर महोत्सवको आयोजना गरेर रकम संकलन गरेको छ।

सोही रकम र बाँकी विभिन्न सहयोग दाताबाट संकलन गरेर करिब १ करोडको लागतमा निर्माण गरिने युवा क्लबका अध्यक्ष कृष्ण पुनले जानकारी दिए।

मगर जातिको कला, कौशल, प्रवर्द्धनलगायत कुरामा नेतृत्वदायी भूमिका खेल्दै आएको पुन क्लबले आफूसँग भएको बजेटबाट भवन निर्माणको काम सुरु गरेको क्लबका अध्यक्ष पुनले बताए।

मगर समुदायलगायत अन्य जनजातिका ऐतिहासिक तथा पुरातात्विक वस्तुको नमूना संकलन, ऐतिहासिक पाठ्यपुस्तक, धर्म संस्कृति र भाषाको संरक्षण, कला संस्कृति, रीतिरिवाज तथा चालचलन, मगर समुदायका खानाका परिकारलगायत सबैखाले विषयलाई संग्रहालयमा समेटिने पुनको भनाइ छ।

रकम अभाव हुन नदिन सरकारी निकायमा पहल गर्नेदेखि आफूहरूले फेरि पनि देउसी भैलो तथा मगर महोत्सवलाई निरन्तरता दिने उनले जानकारी दिए।

प्रकाशित: १६ मंसिर २०७९ १५:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =