धनगढीमा निषेधाज्ञा कायमै, रोकिएन विरोध प्रदर्शन [भिडियोसहित]

हिमाल प्रेस १६ मंसिर २०७९ ११:५८
10
SHARES
धनगढीमा निषेधाज्ञा कायमै, रोकिएन विरोध प्रदर्शन [भिडियोसहित]

धनगढी- ग्रेडरको ठक्करबाट १५ वर्षीया बालिका चेतना साउदको मृत्यु भएको घटनालाई लिएर स्थानीय प्रशासनले धनगढीमा निषेधाज्ञा जारी गरे पनि न्यायको माग गर्दै बिहानैदेखि प्रदर्शन थालिएको छ।

निषेधाज्ञा लागू गरिएको घटनास्थल आसपासको क्षेत्रमा जम्मा भएका स्थानीय र विद्यार्थीले चेतनालाई न्याय माग्दै प्रदर्शन गरिरहेका छन्। उनीहरूले दोषीलाई कारबाहीको दायरमा ल्याउनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।

बिहीबार बिहान धनगढी उपमहानगरपालिका-५ स्थित पिपलचौतारा नजिकै कालिका कन्सट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिँदा साइकलमा विद्यालय गइरहेकी १५ वर्षीया साउदको घटनास्थलमै मृत्यु भएको थियो।

घटनाको विरोधमा बालिका अध्ययनरत पञ्चोदय माध्यमिक विद्यालयका विद्यार्थीले बिहीबार दिनभर धनगढीमा प्रदर्शन गरेका थिए। आन्दोलनकारी घटनास्थलबाट शव उठाउन दिएका थिएनन्।

स्थानीय प्रशासनले बिहीबार साँझ घटनास्थल आसपासको क्षेत्रमा निषेधाज्ञा लागू गर्दै शव उठाएको थियो। तर, स्थानीयले भने उनको शव लैजाने क्रममा समेत नाराबाजीसहित प्रदर्शन गरेका थिए।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले स्थिति समान्य नभएसम्म अनिश्चितकालीन निषेधाज्ञा यथावत् रहेको बताए। उनले पीडित पक्षलाई छलफलका लागि बोलाइएको जानकारी दिए।

प्रकाशित: १६ मंसिर २०७९ ११:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =