आहा रारा पोखरा गोल्डकप : एपीएफ सेमिफाइनलमा

हिमाल प्रेस १६ पुष २०७९ १७:४४
10
SHARES
आहा रारा पोखरा गोल्डकप : एपीएफ सेमिफाइनलमा

पोखरा– साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) क्लब २२ औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। पोखरा रंगशालामा शनिबार पहिलो क्वाटरफाइनलमा धरान फुटबल क्लबलाई २-० गोलअन्तरले पराजित गर्दै विभागीय एपीएफले विजयी यात्रा सुरु गरेको हो।

एपीएफको जीतमा खेलको ३७ औं मिनेटमा विकु तामाङ र ४० औं मिनेटमा युवराज खड्काले गोलको योगदान दिएका हुन्। एपीएफका विकु तामाङ म्यान अफ दि म्याच घोषित हुँदै नगद ८ हजार रुपैयाँ हात पारे। अब एपीएफले २० पुसमा पहिलो सेमिफाइनल खेल्नेछ। उसको प्रतिस्पर्धी विभागीय त्रिभुवन आर्मी क्लब वा संकटा क्लबबीचको खेलको विजेता हुनेछ।

शनिबारको खेलमा एपीएफले सुरुवाती अग्रता लिने क्रममा मैदानको करिब मध्यभागबाट आएको पास सदुपयोग गर्दै विकुले विपक्षी पोस्टको जाली चुमाउन सफल भएका हुन्। त्यस्तै, त्यसको ३ मिनेट नबित्दै प्रदीप लामाको पासमा युवराजले पेनाल्टी एरियाबाट उत्कृष्ट गोल गरे। खेलमा दुवै टिमले दोस्रो हाफमा कीपर परिवर्तन गरे। ८२ औं मिनेटमा एपीएफका राजु नगरकोटीको स्थानमा अञ्जल श्रेष्ठले कीपर सम्हाल्दा विपक्षी धरानको तर्फबाट सौरभ बरालको स्थान ७५ औं मिनेटमा असिव राईले लिएका थिए।

जीतपछि एपीएफका रत्नकाजी महर्जनले आगामी प्रतिस्पर्धामा अझ सुधारिएको खेल पस्किने प्रतिक्रिया दिए। पहिलो हाफमा केटाहरू (खेलाडीहरू) राम्रै खेले पनि दोस्रो हाफमा अलिकति ओभर कन्फिडेन्ट भएर केयरलेस गरेको उनको भनाइ थियो। सेमिफाइनलमा जुन टिम आए पनि आफूहरूलाई फरक नपर्ने र गत वर्षको टाइटल जोगाउने उनको विश्वास छ।

धरानका प्रशिक्षक सागर घिमिरेले कतिपय अवस्थामा खेलाडीले पनि नखेलिदिने बताए। एपीएफले दोस्रो हाफमा थप गोलको अवसर खेर फालेको थियो। धरान पहिलो हाफमै २-० ले पछि परेकोमा दोस्रो हाफमा फर्किने प्रयास असफल भएपछि घर फर्किन बाध्य भयो।

धरान पोखरामा नियमितजसो सहभागी हुने पूर्वेली टिम हो। क्याराभानसहित आहा रारा खेल्न धरान १५ पटक पोखरा आइसकेको छ। १६ औं संस्करणमा सेमिफाइनल यात्रा तय गरेको इतिहास छ। त्यसबेला धरानलाई पाखा लगाउँदै नेपाल पुलिस क्लबले १-० को जीत हात पारेको थियो। आइतबार दोस्रो क्वाटरफाइनलको खेल चर्च ब्वाइज युनाइटेड फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लबीच खेल हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ।

आहा रारामा डेब्यु टोली चर्च ब्वाइजले दोस्रो प्रिक्वाटरफाइनलमा विभागीय नेपाल पुलिसलाई २-१ ले पराजित गर्दै जीत सुरुवात गरेको हो। मच्छिन्द्र भने सिधैं क्वाटरफाइनल खेल्ने भएको हो।

डिफेन्डिङ च्याम्पियन एपीएफले २० औं संस्करणमा मनाङ मर्‍स्याङ्दी फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै पहिलो पल्ट उपाधि चुमेको हो। यसपालि आयोजकले पुरस्कार राशि वृद्धि गर्दै विजेतालाई १२ लाख र उपविजेतालाई ६ लाख दिने घोषणा गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + eight =