प्रचण्डलाई तीन देशका प्रधानमन्त्रीकाे बधाई, कहाँबाट होला विदेश यात्रा?

हिमाल प्रेस १२ पुष २०७९ २१:०७
68
SHARES
प्रचण्डलाई तीन देशका प्रधानमन्त्रीकाे बधाई, कहाँबाट होला विदेश यात्रा? प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले छिमेकी भारतसँगको सम्बन्धलाई अझ बलियो र थप सुदृढ बनाउन चाहेको बताएका छन्। प्रधानमन्त्री प्रचण्डलाई भारतीय प्रधानमन्त्रीले ट्वीटमार्फत दिएको बधाई फर्काउँदै उनले यस्तो धारणा  व्यक्त गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डलाई भारत, पाकिस्तान र जापानका प्रधानमन्त्री तहबाट नै बधाई आइसकेको छ। अन्यले भने दूतावासमार्फत बधाई दिइरहेका छन्। चीन र अमेरिकाले दूतावास मार्फत बधाई दिएका हुन्। कुनै अदालती समस्या, वा अनय कारणबाट आएको सरकार नभई आम निर्वाचन सम्पन्न भएपछि आएको सरकालाई कार्यकारी तहबाट नै शुभकामना आउने अभ्यास छ। नेपाली राजदूतको सक्रियता नपुगेर वा नेपाल व्यवास्तामा परेर त्यसो हुन नसकेको हो।

भारतीय प्रधानमन्त्रीलाई जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले लेखेका छन्, ‘न्यानो सन्देशका लागि मोदीजीलाई धन्यवाद। नेपाल र भारतबीच निकट सांस्कृतिक सम्बन्ध र स्वाभाविक समभाव राख्ने मुलुक हुन्। द्विपक्षीय मित्रता अझ सुदृढ गर्न तपाईँसँग मिलेर काम गर्न प्रतिक्षरत छु।’ उक्त ट्वीट उनले मोदीलाई मेन्सन गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफलाई पनि शुभकामनाका लागि धन्यवाद दिएका छन्। उनले सेहबाजलाई ट्वीटमा मेन्सन गर्दै नेपाल र पाकिस्तानबीच सौहाद्रपूर्ण सम्बन्ध रहेको र सहकार्य गर्दै अघि बढ्ने पनि बताउँदै भनेका छन्, ‘हाम्रो मित्रता अझ सुदृढ गर्न मिलेर काम गर्न प्रतिक्षारत छु।’

जापानका प्रधानमन्त्री किसिदा फुमिओले शुभकामना र बधाई सन्देश नै पठाएका छन्। अन्यको पनि आउने क्रमामा नै होला। भारतीय प्रधानमन्त्री मोदीले निर्वाचनपछि आएको सरकारलाई प्रायः फोन नै गरेर बधाई दिने गर्थे। तर, प्रचण्डलाई उनले त्यसो गरेनन् वा गर्न बाँकी नै छ।

यद्यपि प्रचण्डले आफ्नो विदेश यात्रा भारतबाट नै सुरु हुने बताएका छन्। उनले भारतीय टेलिभिजन एबीपी न्यूजलाई अन्तर्वार्ता दिँदै त्यसो भनेका हुन्। ‘मलाई भ्रमणको निम्तो पहिले जहाँबाट आउँछ, म त्यहीँ नै जान्छु। मलाई भारतीय राजदूत नवीन श्रीवास्तवले सबैभन्दा पहिला भेटेर बधाई दिनुभयो, भारतको विदेश सचिव विनयमोहन क्वात्रासँग पनि हिजै कुराकानी भयो। सायद मेरो पहिलो भ्रमण भारत नै हुन्छ होला,’ एबीपीका पत्रकारले प्रचण्डलाई पहिलो विदेश यात्राबारे राखेको जिज्ञासामा दिएका उत्तर हुन्।

दाहाल पहिलोपटक प्रधानमन्त्री हुँदा भारत भ्रमण नगरी पहिले चीनको भ्रमणमा गएका थिए। तर फर्केपछि उनले आफ्नो राजनीतिक भ्रमण भारतबाटै हुने बताएका थिए। प्रधानमन्त्रीभएपछि भारत जाने प्रचलन तोडेको भनिएको थियो तर उनले एअरपोर्टमा बोलेर त्यसलाई फिका बनाएका थिए।

प्रचण्डले दिएको अन्तरवार्तामा नेपाल भारत सम्बन्धलाई अघि बढाउने सन्दर्भमा दुवै मुलुकको चासोलाई मिलेर सम्बोधन गर्नु पर्ने बताए। हाम्रो ऐतिहासिक विशिष्ठ सम्बन्धलाई हामीले नै अब्बल बनाएर अघि बढाउने हो भन्दै उनले भने, ‘कतिपय विषय इतिहास बनिसकेको छ। अब परिस्थिति नयाँ भइसक्यो। नयाँ विश्वासको साथमा कहीँ केही समस्या छ भने त्यो पनि संवादमार्फतबाट गम्भीरता साथ वार्ता र कुराकानीमार्फत् समाधान गर्न सक्छौं र गरिरहेका पनि छौं।’

प्रचण्डले प्रोनेपाल भएर सोच्ने र त्यही लाइनमा आफूहरू अघि बढ्ने स्पष्ट सन्देश अन्तर्वार्तामा दिएका छन्। यहाँ प्रो इन्डियन र प्रो चाइनिज, प्रो अमेरिकन भन्ने गरिन्छ तर आफू प्रो नेपाली रहेर कामगर्ने बताए। उनले यो सरकारलाई प्रोचाइनिज वा अन्य केही भन्न नमिल्ने भन्दै यो प्रो नेपाली सरकार भएको बताए।

प्रकाशित: १२ पुष २०७९ २१:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − four =