तेस्रोपटक अर्थमन्त्री बने विष्णु पौडेल, राष्ट्र बैंकसँग सम्बन्ध सुध्रिने आशा

हिमाल प्रेस ११ पुष २०७९ १६:३७
18
SHARES
तेस्रोपटक अर्थमन्त्री बने विष्णु पौडेल, राष्ट्र बैंकसँग सम्बन्ध सुध्रिने आशा शपथ लिँदै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल (बायाँ)।

काठमाडौँ- नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेल तेस्रोपटक अर्थमन्त्री बनेका छन्। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारमा एमालेको नेतृत्व गर्दै पौडेल तेस्रो पटक अर्थमन्त्री बनेका हुन्।

पौडेलले सोमबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उपप्रधानसहित अर्थमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्।

यसअघि एमालेले पौडेललाई दुईपटक अर्थमन्त्री बनाएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा २०७२ मा पौडेल अर्थमन्त्री भएका थिए। त्यसबेला उनी पार्टी उपमहासचिव थिए।

पौडेल दोस्रोपटक २०७७ असोजमा अर्थमन्त्री बनेका थिए। त्यतिबेला उनी नेकपाको महासचिवको जिम्मेवारीमा थिए।

पौडेल त्यसअघि २०५३ सालमा युवा, खेलकुद तथा संस्कृतिमन्त्री, २०६५ मा जलस्रोतमन्त्री र २०६७ सालमा रक्षामन्त्री बनेका थिए।

पौडेल अर्थमन्त्री बनेसँगै नेपाल राष्ट्र बैंकसँग सरकारको सम्बन्ध सुध्रिने देखिएको छ। जनार्दन शर्मा अर्थमन्त्री भएदेखि नै गभर्नरसँग सम्बन्ध चिसिएको थियो। यसको असर समग्र अर्थतन्त्रले व्यहोरिरहेको छ।

एमाले सरकारले नै गभर्नरमा डा. महाप्रसाद अधिकारीलाई नियुक्त गरेको थियो। दुवै डेपुटी गभर्नर पनि एमालेले नै नियुक्त गरेको हो। यसले गर्दा पौडेल अर्थमन्त्री भएसँगै राष्ट्र बैंकसँग समन्वय प्रभावकारी हुने देखिन्छ।

प्रकाशित: ११ पुष २०७९ १६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + twelve =