नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा पनि नजाने

हिमाल प्रेस ११ पुष २०७९ १४:३४
8
SHARES
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा पनि नजाने फाइल तस्बिर

धनगढी- संघीय सरकारमा नजाने तर समर्थन गर्ने निर्णय गरेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा पनि बाहिर बसेर सहयोग गर्ने जनाएको छ।

सोमबार पार्टीका संस्थापक रेशम चौधरीले शीर्ष नेताहरूलाई डिल्लीबजारस्थित कारागार बोलाएका थिए। त्यहाँ छलफलपछि सरकारमा नजाने र बाहिर बसेर समर्थन गर्ने निर्णय भएको हो।

यस्तो बेला फेरिएको समीकरणअनुसार सुदूरपश्चिम प्रदेश सरकार निर्माण पनि निर्णायक देखिएको उन्मुक्ति पार्टीले के गर्ला? भन्ने जनचासो बढेको छ।

पार्टीका प्रवक्ता दामोदर पण्डितले सुदूरपश्चिममा पनि संघीय गठबन्धनलाई नै समर्थन गर्ने तर सरकारमा नजाने निर्णय भएको जानकारी दिए।

‘प्रदेशमा पनि हाम्रो भूमिका संघीय सरकारमा जस्तै रहन्छ,’ पण्डितले भने, ‘माग पूरा नभएकाले तत्काल बाहिर बसेर सहयोग गर्छौँ। संघीय समीकरणभन्दा दायाँबायाँ हुने अवस्था छैन।’

यस्तो अवस्थामा उन्मुक्ति पार्टीको समर्थनमा यहाँ नेकपा माओवादी केन्द्र (११) र नेकपा एमाले (१०) को सरकार बन्नेछ।

५३ सदस्यीय प्रदेशसभामा सरकार गठन गर्न २७ जना आवश्यक पर्छ। एमाले, माओवादी, उन्मुक्ति र राप्रपा मिल्दा सरकारको पक्षमा २९ जना पुग्ने देखिन्छ।

उन्मुक्ति पार्टीले रेशम चौधरीलगायत टीकापुर घटनाका बन्दीहरूको रिहाइ, झुटा मुद्दा खारेज तथा टीकापुर घटनापछि गिरिशचन्द्रलाल नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागहरू अघि सारेको छ। यी माग पूरा भए मात्र सरकारमा सहभागी हुने उसले जनाएको छ।

प्रकाशित: ११ पुष २०७९ १४:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + nine =