प्रचण्डको नेतृत्वमा १६६ जनाको बहुमतसहित राष्ट्रपतिसमक्ष दाबी पेस गरिँदै

हिमाल प्रेस १० पुष २०७९ १५:५१
208
SHARES
प्रचण्डको नेतृत्वमा १६६ जनाको बहुमतसहित राष्ट्रपतिसमक्ष दाबी पेस गरिँदै

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा १६६ को बहुमत पुग्ने भएको छ। यही संख्या लिएर आइतबार दलका शीर्ष नेताहरू राष्ट्रपति निवास जाने भएका छन्।

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत पार्टीले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने बालकोटमा जारी बैठकले निर्णय गरेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई सरकार गठनका लागि आइतबार (आज) अपराह्न ५ बजेसम्मको समयसीमा दिएकी थिइन्। सो समयावधिभित्रै दलहरूले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेका हुन्। यी दलहरूको १ सय ६६ जना सांसदको समर्थन लिएर दलका शीर्ष नेताहरू राष्ट्रपति कार्यलय गएर सरकार गठनका लागि दाबी पेस गर्ने बैठकमा सहभागी नेताहरूले बताएका छन्।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीसहित सत्तागठबन्धन दलको बैठक बसेको थियो। सो बैठकले प्रधानमन्त्री छान्न नसकेपछि प्रचण्ड ओली निवास बालकोट पुगेर सरकार गठनका लागि ओलीसँग छलफल गरेका हुन्।

उक्त बैठकमा ओली, प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जसपाका नेताहरू, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ सरकार गठनका लागि गरेको छलफलले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको हो।

प्रकाशित: १० पुष २०७९ १५:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =