प्रधानमन्त्रीको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

हिमाल प्रेस १० पुष २०७९ ६:५०
8
SHARES
प्रधानमन्त्रीको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्रीको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक आज (आइतबार) बस्दै छ। बैठक बिहान १० बजे बस्ने गठबन्धनका नेताहरू बताएका छन् ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार प्रधानमन्त्रीको टुंगो लाग्ने दाबी गरेका थिए।

उनले नयाँ सरकार गठनका लागि गठबन्धनभित्र कुनै विवाद नभएको दाबी गरे। तर, शनिबारको बैठकले भने प्रधानमन्त्रीको विषय टुंग्याउन सकेन।

नेपाली कांग्रेस र माओवादी केन्द्रबीच पहिलो दुई वर्ष कसले नेतृत्व गर्ने भन्ने विषयमा सहमति जुट्न नसकेको हो।

कांग्रेसले शेरबहादुर देउवा र माओवादी केन्द्रले पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो दुई वर्षका लागि प्रधानमन्त्री बन्नुपर्ने अडान राखेका छन्। यता दोस्रो ठूलो दल एमाले भने तत्काल सरकारमा जानु भन्दा गठबन्धन भत्काउने रणनीतिमा छ।

निर्वाचनमा माओवादी केन्द्र खुम्चिए पनि अध्यक्ष दाहाल सरकारको नेतृत्वका लागि जिद्दी गरिरहेका छन्। कांग्रेसबाट प्रधानमन्त्री बन्ने संकेत नपाएपछि उनले एमालेसँग पनि वार्ताको ढोका खोलेका छन्।

२०७७ पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि दाहाल(ओली सम्बन्ध पानी बारबारजस्तै थियो। निर्वाचनपछि भने यी नेताहरूबीच सम्बन्ध सुधार हुन थालेको छ। यद्यपि दाहाल र ओलीबीचको वार्ता कुन स्तरमा पुगेको छ भन्ने विषय सार्वजनिक भएको छैन। ओलीले दाहाल तत्काल प्रधानमन्त्री बन्न नसक्ने अभिव्यक्ति दिइसकेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आइतबार अपराह्न ५ बजे सकिने हुँदा त्यसअघि नै प्रधानमन्त्रीको उम्मेदवार छानेर सांसदहरूको बहुमत पुर्‍याउनु पर्ने गठबन्धनलाई बाध्यता छ। सहमति नजुटे सरकार गठनका लागि राष्ट्रपतिसँग थप समय माग्ने सम्भावना पनि छ।

प्रकाशित: १० पुष २०७९ ६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 14 =