गठबन्धनले आइतबार प्रधानमन्त्रीको टुंगो लगाउने

हिमाल प्रेस ९ पुष २०७९ २०:०४
6
SHARES
गठबन्धनले आइतबार प्रधानमन्त्रीको टुंगो लगाउने फाइल तस्बिर

काठमाडौँ– सत्तागठबन्धनले प्रधानमन्त्रीको टुंगो आइतबार (भोलि) लगाउने भएको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा सहभागी सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनकै सरकार बन्ने भए पनि गठबन्धनबाट को नेता प्रधानमन्त्री बन्ने भन्ने विषय आजको बैठकले टुंग्याउन नसकेको बताए।

‘तपाईंहरू भोलिसम्म धैर्य गर्नुहोला। पहिलो चरणमा को प्रधानमन्त्री बन्ने भन्ने कुरा गौण कुरा हो, अहिले मुलुकलाई जनताको आकांक्षाअनुसार अगाडि बढाउने कुरा महत्त्वपूर्ण छ,’ बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘नयाँ सरकार गठनका लागि गठबन्धनभित्र कुनै विवाद छैन। गठबन्धनको भोलि बस्ने बैठकले प्रधानमन्त्रीको विषय टुंगो लगाउने छ।’

गठबन्धनमा दुई शीर्ष नेता आलोपालो प्रधानमन्त्री बन्ने विकल्पमाथि पनि छलफल भएको बैठकमा सहभागी एक नेताले बताए। तर पहिलो चरणमा शेरबहादुर देउवा कि पुष्पकमल दाहाल ‘प्रचण्ड’ भन्नेमा सहमति नजुटेको ती नेताको भनाइ छ।

नेताहरूका अनुसार आइतबार बिहान १० बजे बस्ने बैठकले प्रधानमन्त्रीको विषय टुंग्याउने छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आइतबार (भोलि) अपराह्न सकिने हुँदा त्यसअघि नै प्रधानमन्त्रीको उम्मेदवार छानेर सांसदहरूको बहुमत पुर्‍याउनु पर्ने गठबन्धनलाई बाध्यता छ।

संविधानको धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि दाबी पेश गर्न राष्ट्रपतिले दिएको १ साताको समयावधि आइतबार अपराह्न सकिने छ। सरकार गठनका लागि राष्ट्रपतिसँग थप समय माग्ने विषयमा पनि बैठकमा छलफल भएको ती नेताले बताए।

प्रकाशित: ९ पुष २०७९ २०:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − eight =