‘नेपाली हाम्रा र हामी नेपालीका हौँ’ : विवेक ओबराय

हिमाल प्रेस ६ पुष २०७९ १४:०३
4
SHARES
‘नेपाली हाम्रा र हामी नेपालीका हौँ’ : विवेक ओबराय

पोखरा- गण्डकीका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापा र भारतीय अभिनेता विवेक ओबरायबीच भेटवार्ता भएको छ।

शुक्रबारयता पोखराका विभिन्न पर्यटकीय क्षेत्रमा घुमघाममा रहेका ओबरायले मन्त्री थापालाई मंगलबार मन्त्रालयमा नै भेटघाट गरेका हुन्।

भेटमा गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनका विषयमा कुराकानी भएको छ। आफू पोखराको सुन्दरताबाट प्रभावित भएको अभिनेता ओबरायले बताएका छन्। सपरिवार नेपाल आएका उनले पोखराका रमणीय स्थलको भ्रमण गर्न आफू लालयित भएको अभिव्यक्ति दिएका छन्।

भारतीय सिनेमामार्फत गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने ओबरायले बताएका छन्। ‘नेपाल र भारतको सम्बन्ध सुन्दर र समधुर छ,’ उनले भने, ‘नेपाल आउन पाउँदा एकदमै खुशी छु। किनकि, नेपाल यस्तो देश हो, जहाँ भारतसँग मिल्दोजुल्दो धार्मिक, सांस्कृतिक इतिहास छ। नेपालीहरू हाम्रै मान्छे हुन् र हामी उनीहरूकै हौँ।’

पोखराका मनोरम दृश्यले आफ्नो मन छोएको अभिनेता ओबरायले बताएका छन्। ‘यहँँको पर्यटनमा टेवा पुग्ने गरी फिल्ममार्फत सहयोग गर्नेछु,’ उनले भने।

मन्त्री थापाले सिनेमामैत्री ऐन निर्माणमा प्रदेश सरकारले तयारी गरिरहेको जानकारी दिएका छन्। ‘गण्डकी प्रदेश सिनेमा छायांकनका लागि उत्कृष्ट प्रदेश हो,’ उनले भने, ‘भारतीय सिनेमामार्फत प्रदेशको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास छ।’

अधिकांश भाग नेपालमा छायांकन भएको फिल्म ‘उचाइ’ले भारत र नेपाल दुवै देशमा सफलता पायो। नेपालमा छायांकन गरिएका हिन्दी फिल्मले समेत राम्रो सफलता पाउँदा खुशी लागेको मन्त्री थापाको भनाइ छ।

‘नेपाल र भारतको सम्बन्धलाई थप प्रगाढ बनाउन सिनेमा क्षेत्रले थप मद्दत गर्नेछ,’ उनले भने, ‘दुवै देशका फिल्मकर्मीबीच समन्वय हुँदा नेपाललाई लाभ नै हुनेछ।’

प्रदेश सरकार बाह्य देशबाट फिल्म छायांकनका लागि आउने कलाकर्मीलाई स्वागत गर्न सदैव तत्पर रहेको पनि मन्त्री थापाले

भेटमा मन्त्री थापाले ओबरायलाई मायाको चिनोस्वरूप ढाका टोपी र खुकुरी दिए।

प्रकाशित: ६ पुष २०७९ १४:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − four =