पशुपतिशमशेर जबराले खुवाउनेछन् सांसदहरूलाई शपथ

हिमाल प्रेस ५ पुष २०७९ १९:२९
14
SHARES
पशुपतिशमशेर जबराले खुवाउनेछन् सांसदहरूलाई शपथ

काठमाडौँ- प्रतिनिधिसभाका निर्वाचित सांसदहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले सपथ ग्रहण गराउने भएका छन्। संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले ऐन, कानुन र संवैधानिक व्यवस्थाअनुसार नेता जबराले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यको हैसियतले नव निर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको बताएका हुन्।

त्यसका लागि पुस ७ गते बिहीबार अपरान्ह १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सपथग्रहण कार्यक्रम तय गरिएको छ। प्रवक्ता पाण्डेका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ सदस्य जबरालाई शपथ ग्रहण गराएपछि मात्रै उनले अन्य सांसदलाई शपथ गराउनुपर्ने हुन्छ।

त्यसका लागि पुस ६ गते बुधबारको कार्यक्रम तय गरिएको पनि प्रवक्ता पाण्डेले जानकारी दिए। ‘हामीले ऐन, कानुन र संविधानमा मा व्यवस्था भए अनुसार सपथ गरेर मात्रै संसदीय गतिविधिहरू गर्नुपर्ने भएकाले सर्वप्रथम ज्येष्ठ सदस्यको पहिचान गरेर जेष्ठ सदस्यलाई राष्ट्रपतिज्यूसँग सपथग्रहण गराउने कार्यक्रम छ,’ उनले भने, ‘त्यो चाँही भोली पुस ६ गते राष्ट्रपति कार्यालयमा सो कार्यक्रम तय गरिएको छ। त्यसपछि ७ गते पर्सी सम्पूर्ण माननीय सदस्यज्यूहरुलाई हामी सूचना गरिसकेका छौं। १ बजे बानेश्वरको संसद हलमा सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ। अब जहाँसम्म ज्येष्ठ सदस्यको सन्दर्भमा चाँही जुन हाम्रो कानुनी प्रावधान निर्वाचन ऐनमा व्यवस्था भए अनुसार उपस्थिति सांसदहरु मध्ये ज्येष्ठ सदस्यले सपथग्रहण गराउने भन्ने भएकाले र हामीले उपलब्ध भएकाहरुको प्रमाणको आधारमा चाँही राप्रपाका नेता हुनुहुन्छ माननीय पशुपति शमशेर जबरा। उहाँमार्फत् शपथग्रहण गराउने कार्यक्रम अगाडि बढाइसकेका छौं।’

नागरिकतामा उल्लेख भएअनुसार ८१ वर्ष भएका जबराको विक्रम संवत १९९८ मंसीर २४ गते जन्म भएको थियो। सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव नागरिकतामा ८५ वर्ष पुगेको भए पनि नागरिकतामा आफ्नो जन्ममितिमा त्रुटि भएको उल्लेख गर्दै २०७४ सालमा पनि नवनिर्वाचित सांसदहरूलाई शपथ ग्रहण गराउने कार्यक्रममा अनुपस्थित भएका थिए। उनले अहिले पनि आफूले शपथ ग्रहण नगराउने बताएको संसद् सचिवालयले जनाएको छ।

संसद सचिवालयले मातृभाषामा शपथ लिने व्यवस्था पनि गरेको छ। मातृ भाषामा शपथ लिन चाहने सांसदहरूलाई शपथ ग्रहणको ढाँचा विवरणअनुसार त्यसलाई मातृभाषामा उल्था गर्न पत्राचार गरिएको छ। शपथ ग्रहण गराउनु ३ दिनअघि नै सो उल्था गरिएको शपथ ग्रहणको कपी संसद सचिवालयमा सांसदले पेस गर्नुपर्ने हुन्छ।

प्रवक्ता पाण्डेले अहिले मातृभाषामा शपथ लिन चाहने सांसदको विवरण संकलन भइरहेको जानकारी दिए। गत मंसीर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ जना र समानुपातिकतर्फ ११० जना गरी २७५ जना सांसदहरू निर्वाचित भएका छन्। उनीहरूलाई शपथ ग्रहण गराएपछि मात्रै संसदीय गतिविधि अघि बढाउनुपर्ने व्यवस्था रहेको पनि संघीय संसद् सचिवालयले जनाएको छ।

प्रकाशित: ५ पुष २०७९ १९:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 11 =