रामजी बरालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी

हिमाल प्रेस ३० कार्तिक २०७९ ११:५६
रामजी बरालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी

पोखरा- कास्की क्षेत्र ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामजीप्रसाद बराल जीवनविरुद्ध निर्वाचन कार्यालयमा उजुरी दर्ता भएको छ।

युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कालोसूची परेको प्रमाणसहित उनको उम्मेदवारी खारेज माग गर्दै बुधबार उजुरी दर्ता गरिएको हो।

पोखरा-२४, कास्कीकोटका बोधराज सुवेदीले कालोसूचीमा परेका उनको उम्मेदवारी खारेज माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन्।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा पाँचदलीय गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नेता बरालले ३८ लाख २४ हजार ७०८ रूपैयाँ नतिरेको भनी गत २०७६ साल वैशाख १ मा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयले उनलाई कालोसूचीमा राखेको हुँदा उनी उम्मेदवारको लागि अयोग्य रहेको सुवेदीको निवेदन जिकिर छ।

उजुरीमा निज उम्मेदवार बराललाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा (१) बमोजिम झुटा विवरण लेखी मनोनयनपत्र पेस गरेको समेत स्पष्ट देखिएकोले उल्लेखिन कानुनी व्यवस्था बमोजिम निजको उम्मेदवारी खारेज गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा (३)(२) बमोजिम हदैसम्म सजाय गरी पाउँ भनी माग गरिएको छ।

बरालसमेत संलग्न रहेको पोखराको नयाँबजारस्थित गण्डकी माछापुच्छे« सहकारी संस्थालाई कोषले ५० लाख कर्जा दिएकोमा समयमै नबुझाएपछि कालोसूचीमा परेका हुन्। त्यसबेला उनीसहित १५ जना कालोसूचीमा परेका थिए।

गण्डकी प्रदेशका बहालवाला अर्थमन्त्री समेत रहेका उम्मेदवार बराल प्रदेशसभाबाट प्रतिनिधिसभा सदस्यमा उक्लिन पुनः उम्मेदवारी दिएका हुन्। कास्की ३ मा उनको मुख्यत : नेकपा एमालेका उम्मेदवार दामोदर बैरागीसँग मुख्य प्रतिस्पर्धा छ। अघिल्लो चुनावमा कास्की ३ मा तत्कालीन वामगठबन्धनबाट एमालेका जगत विश्वकर्मा निर्वाचित भएका थिए।

प्रकाशित: ३० कार्तिक २०७९ ११:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + seven =