प्रचण्ड खोटाङ र ताप्लेजुङ जाँदै

हिमाल प्रेस ३० कार्तिक २०७९ ११:२८
प्रचण्ड खोटाङ र ताप्लेजुङ जाँदै

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ताप्लेजुङ र खोटाङमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।

सत्ता गठबन्धन ताप्लेजुङद्वारा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्न दाहाल ताप्लेजुङ जाने जिल्ला निर्वाचन परिचालन समितिका संयोजक मिंमा डण्डु शेर्पाले जानकारी दिए।

सदरमुकामस्थित तोक्मेडाँडामा आयोजित सभालाई  नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महत, नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा गंगालाल तुलाधरलगायतले सम्बोधन गर्ने कार्यक्रम छ। सत्ता गठबन्धनले यसअघि जिल्लाका आठ पालिकामा चुनावी सभा सम्पन्‍न गरिसकेको छ।

जिल्लामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्री प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्। यस्तै प्रदेशसभा (१) मा एकीकृत समाजवादीका खेम वनेम र (२) मा कांग्रेसका खगेनसिंह हाङ्गाम उम्मेदवार छन्।

यसबीच अध्यक्ष दाहालले सत्ता गठबन्धनद्वारा खोटाङको दिक्तेलबजारमा आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। उक्त सभालाई अध्यक्ष दाहालसँगै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत र नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव डा गंगाधर तुलाधरले सम्बोधन गर्ने कार्यक्रम रहेको चुनाव प्रचारप्रसार समितिका संयोजक टंकबहादुर थापाले जानकारी दिए।

सत्ता गठबन्धनले जिल्लाका १० वटै स्थानीय तहमा चुनावीसभा सम्पन्न गरिसकेको छ। एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा रहेको जिल्लामा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका रामकुमार राई, प्रदेशसभा (१) मा एकीकृत समाजवादीका वीरबलकाजी राई र प्रदेशसभा (२) मा कांग्रेसका भूपेन्द्र राई उम्मेदवार छन्।

प्रकाशित: ३० कार्तिक २०७९ ११:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =