सुन्तला छाडेर किन तरकारी खेती रोज्दैछन् किसान?

हिमाल प्रेस १४ मंसिर २०७९ ११:१४
8
SHARES
सुन्तला छाडेर किन तरकारी खेती रोज्दैछन् किसान?

भरतपुर- चितवनको तामिन कुनैबेला सुन्तला उत्पादन राम्रो हुने ठाउँका रूपमा प्रख्यात थियो। इच्छाकामना गाउँपालिका–५, तामिनका किसानले एउटा याममै लाखौँ रूपैयाँको सुन्तला बिक्री गर्थे। सुन्तला उत्पादनको पकेट क्षेत्रसमेत घोषणा गरेर केही वर्ष कृषि कार्यालयका कार्यक्रमसमेत यहाँ सञ्चालन भए। तर अहिले रोगका कारण यहाँ सुन्तलाका बोट मरेर सखाप भएका छन्। बर्सेनि उत्पादनमा ह्रास आएको छ।

तामिन क्षेत्रभित्र ८० बिघा क्षेत्रफलमा लगाइएको सुन्तलाका बोट मर्दै गएर १० बिघामा मात्रै बाँकी छ। तामिन कृषि सहकारीका अध्यक्ष हरिबहादुर नेपालका अनुसार यहाँ ७० प्रतिशत सुन्तलाका बोट मरेर सखाप भएका छन्। उनले २०७५ सालदेखि सुन्तलाको बोटमा रोग देखा पर्न थालेको बताए। २०५० देखि यहाँका किसानले व्यावसायिकरूपमा सुन्तला खेती गर्दै आएका हुन्।

‘विसं २०५७ देखि व्यावसायिकरूपमा सुन्तला बिक्री गर्न थालेका हौँ,’ उनले भने, ‘२०७५ सालसम्म उत्पादन र आम्दानी बढेको थियो, त्यसपछि क्रमशः बोट मर्न थाले।’ एउटा याममै १२ लाखको सुन्तला बेचेका नेपाल आफ्नो बारीमा अहिले एउटा पनि बोट नरहेको बताउँछन्। तामिनमा अब दुई सुन्तलाका बगैँचा मात्रै बाँकी छन्। अन्य सबै सखाप भएका छन्।

बोटमा टुप्पा सुक्ने र फेद कुहिने समस्या छ। एक हजार मिटरभन्दा तलको जमिनमा रहेका सुन्तलाको बोटमा यस्तो समस्या छ। तामिन सहकारीमा आबद्ध तामिन, ठङराङ, साठीमुरे, नेपेडाँडा, न्याङ्दीखोला, कमेरघाट, निबुवाडाँडाका कृषकले व्यावसायिकरूपमा सुन्तला खेती गर्दै आएका थिए। अहिले नेपेडाँडा र ठङराङका बगैँचामा मात्रै सुन्तलाका बोट बाँकी रहेको नेपालले बताए।

कृषि ज्ञान केन्द्रले अनुदानमा दिएको सुन्तलाको बेर्नामा पनि ठूलो बोटमा जस्तै रोग देखापरेपछि यहाँका किसानले नयाँ बोट लगाउन छाडेका छन्। तामिनका कृषक रामप्रसाद बोहोराले सुन्तलाको बोटमा लागेको रोगका कारण किसान चिन्तित बनेको बताए। ‘रोगले तामिनमा विगतका वर्षमा जस्तो सुन्तला नै छैन,’ उनले भने। सुन्तलामा रोगले पात झर्दै गएका छन्। बोट सुक्दै गएका छन्।

अब तरकारी खेती

तमिनका किसानले रोगले सुन्तला सखाप भएपछि तरकारी खेती गर्न थालेका छन्। किसानले मौसमी र बेमौसमी तरकारी उत्पादन गरेर बेच्न थालेको स्थानीय विश्वप्रकाश नेपालले बताए। करिब ५० किसानले व्यावसायिक सुन्तला खेती गर्ने गरेकामा सबैले तरकारी लगाउन थालेको उनले जानकारी दिए।

तरकारीको पकेट क्षेत्रसमेत सञ्चालन भएको उल्लेख गर्दै उनले कृषि ज्ञान केन्द्रबाट बीउ र कृषि औजारसमेत सहयोग प्राप्त भएको बताए। यहाँ किसानले टमाटर, काँक्रो, करेला, सिमी व्यावसायिकरूपमा लगाएका छन्। साउनदेखि मंसिरसम्म यहाँ तरकारी उत्पादन राम्रो हुन्छ। दैनिक ३० देखि ५० क्विन्टल तरकारी बजार पठाउने गरेको नेपालले बताए। उनका अनुसार तामिनमा उत्पादन भएको तरकारी सीधै मुग्लिन बजारमा लगेर बिक्री गर्ने गरिएको छ।

फाइदा र सजिलो सुन्तला खेतीमै थियो। फल्न थालेपछि सुन्तलामा लगानी कम पर्छ। तरकारीको तुलनामा मेहेनत पनि कम हुन्छ। तरकारीमा प्रतिस्पर्धा धेरै छ। जोखिम बढी छ। तरकारीको तुलनामा फलफूलको उत्पादन र व्यापार स्थायित्व छ। उनले तामिनमा सिँचाइका लागि पानीको व्यवस्थापन हुन नसकेको बताए। ‘पानीका स्रोत छन् तर किसानका बारीसम्म लैजाने व्यवस्था गर्न सकिएको छैन,’ उनले भने।

इच्छाकामना गाउँपालिकाका निवर्तमान कृषि अधिकृत आनन्दराज घिमिरेले तामिनमा किसानले सुन्तलाको व्यवस्थापनको पक्षमा ध्यान नदिँदा समस्या आएको बताए। उनले सुन्तलाको गोडमेल, काँटछाँट र मलजलमा ध्यान दिनुपर्ने भन्दै सुन्तलाको बोटको टुप्पा सुक्ने समस्या देशभर रहेको बताए।

प्रकाशित: १४ मंसिर २०७९ ११:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =