संसदीय दलको नेताबारे शेखर भन्छन् : सबैको सल्लाहमा निर्णय लिन्छु

हिमाल प्रेस ९ मंसिर २०७९ १३:५८
104
SHARES
संसदीय दलको नेताबारे शेखर भन्छन् : सबैको सल्लाहमा निर्णय लिन्छु

इटहरी- मोरङ ६ बाट प्रतिनिधसभा सदस्यमा निर्वाचित भएका नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफू संसदीय दलको नेतामा चुनाव लड्ने नलड्ने अहिले नै टुंगो लागिनसकेको बताएका छन्। निर्वाचन जितिसकेपछि विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले आफ्नो समूह तथा अन्य नेताहरूसँग छलफल गरेरमात्रै यसबारे निर्णय गर्ने बताएका हुन्।

‘अहिले नै दाबी गर्ने कुरा भएन। चुनावको अन्तिम नतिजा पनि आइसकेको छैन,’ उनले भने, ‘समानुपातिकतर्फको मत पनि गणना गरेर सकिनुपर्‍यो। साथीहरूसँग छलफल गर्नुपर्‍यो त्यसपछिमात्रै संसदीय दलको नेतामा भिड्ने नभिड्ने निर्णय लिन्छु।’

उनले पार्टी सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल र आफ्नै समूहकासँग काठमाडौँ पुगेर छलफल गरेपछिमात्रै संसदीय दलको नेता बन्न चुनाव लड्ने निर्णय गर्ने पनि बताए। ‘म केही दिन यहीँ(विराटनगर)मै हुन्छु त्यसपछिमात्रै काठमाडौँ जान्छु,’ उनले थपे, ‘पार्टी सभापति, वरिष्ठ नेताहरू, साथीहरू सबैसँग छलफल गरेरमात्रै निर्णय लिने तयारी छ।’

शेखर समूहकै नेता तथा कांग्रेस महामन्त्री गगनकुमार थापाले संसदीय दलको चुनाव भिड्ने निर्णय गरेर प्रचार पनि सोहीअनुसार गरिरहेका छन्। थापालाई प्रधानमन्त्रीको रुपमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले त प्रस्ताव नै गर्ने बताइसकेा छन्।

प्रकाशित: ९ मंसिर २०७९ १३:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =