वैकल्पिक शक्तिसामु अब संस्थागत बन्ने चुनौती

हिमाल प्रेस ६ मंसिर २०७९ ९:१८
10
SHARES
वैकल्पिक शक्तिसामु अब संस्थागत बन्ने चुनौती फाइल तस्बिर।

काठमाडौँ- देशभर मतगणना जारी छ। जारी मतगणनामा कांग्रेस र एमालेले प्रतिस्पर्धा गरिरहेका छन्। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीको समान हैसियत हुने संकेत देखिँदैछ।

राष्ट्रिय स्वतन्त्र पार्टीको इतिहास छोटो छ। सांगठनिक संरचना तयार भइसकेको छैन। पार्टीको एजेन्डाबारे सर्वसाधारण जानकार छैनन्। असार ७ गते खुलेको यो पार्टीले प्रतिनिधिसभातर्फको निर्वाचनमा स्थापित दलहरूलाई धक्का दिइरहेको छ। प्रदेशसभामा भने यो दलले उम्मेदवारी दिएको छैन।

मूलधारका राजनीतिक दलको अकर्मण्यताले नै यो दलप्रति जनमत बढेको स्पष्ट छ। सहरको उच्च मध्यम वर्गमा पर्याप्त अपिल गरेको यो दलको मुख्य आधार भने खाडी मुलुकलगायतमा वैदेशिक रोजगारीमा जानेका परिवार छन्।

सुरुवाती मत केलाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले मूलधारमा रहेका दलहरुलाई विगतमा समर्थन दिएका मतदाताको मन खिचेका छन्। एमालेतर्फको मत तुलनात्मक रूपमा कम लिएका छन्। विपरीत ध्रुवमा रहेका कांग्रेस र माओवादी गठबन्धनबाट रुष्ट मतदाताको मत राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ गएको स्पष्टै छ।

चुनावको सम्पूर्ण नतिजा त हेर्न बाँकी नै छ। यद्यपि एमाले अध्यक्ष केपी ओलीले यसअघि दाबी गरेझैँ रास्वपा अब सिटबिनाको पार्टी भने हुने छैन। ओलीले चुनावअगाडि दिएका अन्तर्वार्तामा राष्ट्रिय स्वतन्त्र पार्टी र कुनै पनि खालका स्वतन्त्र उम्मेदवारले एक सिट पनि नजित्ने ठोकुवा गरेका थिए।

चुनावका प्रारम्भिक नतिजाले उनको भनाइ प्रमाणित नहुने प्रस्ट छ। बरु राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी अब निर्णायक शक्तिका रूपमा देखा पर्ने बताए। उनले अब आफ्नो पार्टीलाई उपेक्षा गरेर राष्ट्रिय राजनीति अघि बढ्न नसक्ने जिकिर पनि गरेका छन्।

सभापति लामिछानेले संसदमा आफूहरुलाई उपेक्षा गरेर अगाडि बढ्न अरु दलहरुलाई कठिन हुने बताए। ‘हामी धेरै महत्त्वपूर्ण अवस्थामा रहन्छौँ। हामीलाई उपेक्षा गरेर, हामीलाई साथ नलिएर अगाडि बढ्न गाह्रो हुन्छ होला। हामी त्यो साइजमा रहन्छौँ होला’, उनले भने।

मतगणनाको प्रारम्भिक अवस्थामा आएका रिपोर्ट राम्रो भए पनि यसैलाई आधार मानेर अहिले टिप्पणी गर्नु हतार हुने लामिछाने बताउँछन्। निर्वाचन नजितीकन जितेपछि के गर्ने भन्ने कुरा गर्नु उचित नहुने उनको भनाइ छ।

समानुपातिकतर्फ रास्वपाको चिह्न घण्टीतर्फ ओइरिएको मतले उनको भनाइलाई पुष्टि गर्छ। नेपालको बहुदलीय प्रतिस्पर्धामा २०४६ तथा २०५२ सालपछिका खेलाडीकै वर्चस्व रहिआएकामा अब नयाँ खेलाडीको प्रवेश सम्भव देखिने पक्का छ।

यसपटकको चुनावमा रास्वपाले पहाड र मधेशका पहाडी समुदाय बहुल क्षेत्रमा अनि सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले मधेशका भित्री बस्तीमा अर्थपूर्ण उपस्थिति जनाउने पक्कापक्की छ।

योसँगै पछिल्लो राजनीतिक परिवर्तनका प्रत्येक एजेन्डामाथि प्रश्न उठाउँदै आएको राप्रपा चुनावको अन्तिम नतिजासम्म कति सिट र संख्यामा अडिन्छ, परीक्षणको रोचक विषय बन्न गएको छ। राप्रपा धार्मिक कट्टरपन्थी झुकाव भएको दक्षिणपन्थी शक्तिका रुपमा चिनिएको छ। पछिल्लो विवरणअनुसार राप्रपाले देशभरिमा ६ स्थानमा अग्रता लिइरहेको छ।

‘विकल्पका लागि छटपटाएका तर विकल्प नपाएका मतदातालाई यो पार्टीले आशा जगाउन सक्यो, खासमा यो नेगेटिभ भोट हो,’ सापकोटा भन्छन्, ‘उनीहरूले आफू वैचारिक रुपमा को हौँ भनी परिभाषित गर्न बाँकी छ। त्यसपछि मात्रै यो नयाँ पार्टीको मूल्यांकन सम्भव हुन सक्छ।’

रास्वपाका भ्रष्टलाई छानीछानी कारबाही गर्नेजस्ता उत्तेजक नारा छन्। तर नीतिगत भ्रष्टाचार लगायत गम्भीर प्रकरणबारे मौन छ। मेरिटोक्रेसी अर्थात् ‘योग्यतातन्त्र’ ले शैक्षिक प्रमाणपत्रका आधारमा शासन चलाउन पाउनुपर्ने तर्क पार्टीको छ। रास्वपाको नारा नै छ- जान्नेलाई छान्ने। यसले इमानदारी र योग्यतातन्त्रको पक्षमा प्राथमिक महत्त्व दिने दक्षिणपन्थीको साझा चरित्रकै प्रतिनिधित्व गर्ने जानकारहरू बताउँछन्।

राजनीतिक विश्लेषक विष्णु सापकोटा यिनै कारणले रास्वपाको पक्षमा देखिएको जनमतलाई रोचक ठहर्‍याउँछन्। विगतमा कांग्रेस, एमाले र माओवादीप्रति जनताको विकर्षण देखिए पनि विकल्पको राजनीति गर्छौँ भन्ने विवेकशील साझाले नागरिकलाई धोका दिएका कारण अहिले रास्वपाले त्यो हिस्सा लिएको उनको भनाइ छ।

‘विकल्पका लागि छटपटाएका तर विकल्प नपाएका मतदातालाई यो पार्टीले आशा जगाउन सक्यो, खासमा यो नेगेटिभ भोट हो,’ सापकोटा भन्छन्, ‘उनीहरूले आफू वैचारिक रुपमा को हौँ भनी परिभाषित गर्न बाँकी छ। त्यसपछि मात्रै यो नयाँ पार्टीको मूल्यांकन सम्भव हुन सक्छ।’

नेपाली समाजभित्र नरम दक्षिणपन्थी जनमत पहिलेदेखि कायम थियो। यसले आफ्नो प्रतिनिधि राजनीतिक संस्था भने पाएको थिएन। कम्युनिस्टहरुले आमूल परिवर्तनको नारा दिँदै लोकतान्त्रिक शैली त समाते, तर व्यवहारमा पुरानै शक्ति संरचनाकै हिस्सा बन्न गए। परम्परावादी रुझान भएको मतलाई विवेकशील साझा पार्टीले आकर्षित गर्दै सुशासन र विकासको एजेन्डा दिए पनि त्यो ‘परियोजना’ सफल हुन सकेन।

समग्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले लिइरहेको अग्रता र समानुपातिकतर्फको मत परिणामको प्रारम्भिक नतिजाले पुराना शक्तिलाई धक्का दिएको देखिन्छ। पुराना शक्तिलाई धक्का दिएका मतदाताको नयाँ राजनीतिक दल र नयाँ उम्मेदवारप्रति आकर्षण देखिन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीसामु अबको मुख्य चुनौती कसरी संस्थागत हुने भन्ने देखिन्छ। नीतिगत भ्रष्टाचार लगायत गम्भीर प्रकरणहरुबारे उसैगरी बोल्न सक्नुपर्नेछ। यसलाई विधिमा संस्थागत गर्नुपर्ने हुन्छ। अर्को कुरा प्रदेशमा उम्मेदवारी नै नदिएर रास्वपाले संघीयताविरोधी रहेको स्पष्ट सन्देश दिइसकेको छ। यसले संघीयताविरोधी शक्तिलाई समेट्छ या पुरानै शक्तिसँग हातेमालो गर्ला भनेर बुझ्न पनि पर्खनैपर्छ।

मतदाताले राजनीतिक विश्लेषण गरेर मत दिएका छैनन्। नयाँ चाहेको सन्देश मात्रै दिएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी कांग्रेस, एमाले, माओवादीसरह आउँदैन। यी तीनवटा पार्टीपछि ऊ चौथो पार्टी बन्न सक्ने सम्भावना छ। हिजो चौथो पार्टी राप्रपा नेपाल पनि बनेको थियो। तर अर्को चुनावमा राष्ट्रिय दल बन्न नसकेको दृष्टान्त ताजै छ।

परिवर्तनका बेला नयाँ केही गर्छु भएर आउँदा अर्थात्, नयाँनयाँ हुँदा पार्टीप्रति मानिसमा एक प्रकारको आस हुन्छ। तर देश एउटा सिस्टममा अघि बढ्न थालेपछि जनताले परीक्षा लिन्छन्, एक खालको सन्देश दिन थाल्छन्।

खुला समाजमा हुने निर्वाचनमा विभिन्न दल उदाउने, स्वतन्त्रहरू आउने भइरहन्छ। युक्रेनमा एक कलाकार राष्ट्रपतिमा आए, जनतासँगै रहेर काम गरिरहेका छन्। पार्टीको झन्डा बोक्ने व्यक्ति चुनाव लडेर नेतृत्व गर्न सक्छ भन्ने छैन। यो सन्देश नेपालीहरुले पनि पटकपटक दिएकै छ।

नयाँ पुस्ताले हिजोको कांग्रेस र कम्युनिस्टलाई आँखा चिम्लेर मान्दैन। पछिल्लो पाँचसात वर्षमा नयाँ पुस्ता राजनीतिमा आएका छन्। जुन पुस्ता हिजोको भन्दा धेरै अवस्थाले फरक छ। कुनै नयाँ पार्टी स्थापित हुन सबैभन्दा ठूलो चुनौती यो छ कि उसले आफूलाई पार्टीका रूपमा रूपान्तरण गर्नुपर्छ, जो हिजो विवेकशील साझाले सकेन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + sixteen =