मनाङमा चिसोका कारण सिलिन्डरको ग्यास बलेन, दाउरा अचाक्ली महँगो

हिमाल प्रेस २ मंसिर २०७९ ५:०९
मनाङमा चिसोका कारण सिलिन्डरको ग्यास बलेन, दाउरा अचाक्ली महँगो

मनाङ– हिमाली जिल्ला मनाङको नार्पाभूमि क्षेत्रमा ग्यास नबल्दा जनजीवन कष्टकर बनेको छ। आइतबार हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि ग्यास बोकेर मतदान केन्द्रमा मतदान अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मी पुगेका छन्। खच्चडलाई बोकाएर लगिएको ग्यास चिसोका कारण नबल्दा जनजीवन कष्टकर बनेको छ।

‘खच्चडमार्फत ग्यास सिलिन्डर बोकेर ल्याइयो। बलेन, चिसोले होला,’ सदरमुकाम चामेबाट दुई दिन पैदल हिँडेर पुगेका नार्पाभूमि गाउँपालिका-३ वडा कार्यालयका मतदान अधिकृत राजेन्द्र श्रेष्ठले भने, ‘आगो बाल्न दाउरा किन्दा भारीको दुई हजार रुपैयाँ पर्‍यो। समस्या टार्नै पर्‍यो।’

उक्त केन्द्रमा छ जना कर्मचारी र सेना, प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी २० जना खटिएका छन्। केही नजिकै अन्य दुई मतदान केन्द्र रहेको छ। त्यस क्षेत्रका सबैको अवस्था सकसपूर्ण छ। नार्पाभूमि-१ देखि ३सम्म नारगाउँमा पुगेका कर्मचारी वडा कार्यालय, विद्यालय, गुम्बालगायत ठाउँमा बास बसेका छन्। चिसो बढेको र पानीसमेत जमेको हुँदा तताएर खान समस्या भएको मतदान केन्द्रमा खटिएका कर्मचारी बताउँछन्।

सडक सञ्जालले नजोडिएको नार्पाभूमि-४ फू गाउँ (चार हजार ५० मिटर) स्थित फू आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत जिल्ला न्यायाधिवक्ता नवराज रेग्मीले मतदानस्थल निकै उचाइमा रहेकाले चिसो पनि उच्च रहेको बताए।

‘यहाँ निकै चिसो छ। आगो तापेर बस्नुपरेको छ। बाहिर निस्कन सकिरहेको छैन। यहाँको तापक्रम माइनसमा छ र कष्टकर बनेको छ,’ रेग्मीले भने।

मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले मौसमको प्रतिकूलताले नार र फू गाउँ पुगेका कर्मचारीको अवस्था निकै कष्टकर भएको बताए।

बुधबार सबेरै गएका कर्मचारी र सुरक्षाकर्मी बिहीबार अबेर मतदान केन्द्रमा पुगेका थिए। सबै क्षेत्रमा एकैसाथ निर्वाचन भएकाले पनि सकसपूर्ण अवस्थामा नै कर्मचारी खटिएको उनले बताए।

‘यसपटकको निर्वाचनका लागि सबै सामग्री कर्मचारी, सुरक्षाकर्मीसँगै पठाइयो। दुई दिन लगाएर उनहरू पुग्नुभएको छ। ग्यास, चामल, दाल, नुनतेल सबै बोकेर जानुपर्दा समस्या भयो,’ उनले भने। नार गाउँमा चिसोले ग्यास नबलेको र चार वटा दाउराकैएक हजार पाँच सय तिर्नुपरेको उनले बताए।

निर्वाचन आयोगले मतदान अधिकृतलाई दैनिकदुई हजार पाँच सय दिन्छ। कार्यालय सहयोगीलेएक हजार दुई सय पाउँछन्। सुरक्षाकर्मीले खाजा भत्ता दिनकोछ सय पाउँछन्।

‘एक गिलास तातोपानीको एक सय रुपैयाँ पर्छ। सुगममा छ सयले दुई छाक खान पुग्छ। विकटमा खटिनेलाई साह्रै समस्या छ,’ उनले भने।

मनाङमा दुई सय कर्मचारी खटिएका छन्। सिंगो नार्पाभूमि गाउँपालिकामा चार सय ६८ मतदाता रहेका छन्। वडा १ को कार्यालय नारगाउँमा ९६, वडा २ को नार आधारभूत विद्यालयमा एक सय तीन र साम्डुछिरिङ गुम्बा मतदान केन्द्रमा एक सय २० मतदाता छन्।

फू गाउँअन्तर्गत वडा ४ को फू आधारभूत विद्यालयमा ७८ र वडा ५ को कार्यालयमा ७१ मतदाता छन्। मनाङ जिल्लामा पुरुष तीन हजार दुई सय ८१ र महिला तीन हजार चार सय ९८ गरी कूल छ हजार सात सय ७९ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए।

मनाङमा साँझ, बिहान र रातिको तापक्रम माइनसमा झरेको छ। सबैभन्दा उचाइमा रहेको नार (चार हजार दुई सय मिटर ) मा धाराको पानीसमेत जमेको मतदान अधिकृत बताउँछन्।

प्रकाशित: २ मंसिर २०७९ ५:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 6 =