जनकपुर जग्गा अतिक्रमण छानबिन : गृहमन्त्री लामिछानेको ‘मुटु जाँच्ने’ अर्काे विषय

हिमाल प्रेस ५ असार २०८१ १०:४८
32
SHARES
जनकपुर जग्गा अतिक्रमण छानबिन : गृहमन्त्री लामिछानेको ‘मुटु जाँच्ने’ अर्काे विषय उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने। तस्बिर : रासस

काठमाडौँ- भ्रष्टाचारविरुद्ध छानबिन भएका फाइल खोल्ने उद्घोष गरेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको अर्को परीक्षा सुरु भएको छ। बृहत्तर जनकपुर क्षेत्रको झण्डै १० हजार बिघा जग्गा अतिक्रमणमाथि ‘अपरेसन’ गर्ने घोषणालाई नेताहरू लामिछानेको ‘मुटु जाँच्ने’ परीक्षाका रूपमा लिन्छन्।

गृह मन्त्रालयको नेतृत्व सम्हालेको चार महिना भए पनि परिणाम निस्कन सक्ने गरी कुनै पनि काम गर्न नसकेको भनेर लामिछानेको आलोचना भइरहेको छ। साथै आफैँले बाचा गरेको विषयमा पनि लामिछानेको कार्यशैली सन्तोषजनक नदेखिएको विपक्षी नेताहरूले टिप्पणी गर्दै आएका छन्।

बृहत्तर जनकपुर क्षेत्रको जग्गा अतिक्रमणका विषयमा थप अनुसन्धान बढाउने बाचा गृहमन्त्रीले गरेपछि उनी थप चर्चामा आएका छन्। २०३६ सालदेखि २०७६ सालसम्म जनकपुरका २५ वटा गुठीका ९ हजार ८४३ बिघा १२ कठ्ठा जग्गा अतिक्रमणमा परेको भूमि व्यवस्था मन्त्रालयको आन्तरिक अध्ययनले देखाएको छ। यो विषय उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नजरमा परेपछि अनुसन्धान अगाडि बढेको हो।

गृह मन्त्रालय स्रोतका यस सम्बन्धमा आन्तरिक अनुसन्धान चलिरहेको छ। जेठ ३२ गते गृह मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा लामिछानेले बृहत्तर जनकपुर क्षेत्रको जग्गा अतिक्रमणका विषयमा अनुसन्धान सुरु गरिएको जानकारी दिएका थिए। ‘बृहत्तर जनकपुर क्षेत्रको जग्गा अतिक्रमणको विषय आएको छ। तपाईँहरूले चाँडै थाहा पाउनुहुन्छ। आजै यसलाई सार्वजनिक गरिदिँदा पनि केही फरक पर्दैन’, लामिछानेले भनेका थिए, ‘नौ हजार बिघा जमिन अतिक्रमण भएको विषयलाई लिएर गृहले बिग अपरेसन गर्दैछ।’

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार २०३६ सालयताका जनकपुरका विभिन्न गुठीका जग्गा अतिक्रमणमा पर्दै आएको छ। अतिक्रमित जग्गामा झण्डै एक हजार परिवार बसोबास गर्दै आएको सरकारी अध्ययन छ।

जनकपुरको जग्गा अतिक्रमणका सम्बन्धमा यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समिति बनाएर अध्ययन गरेको थियो। २०७६ सालमै उक्त समितिले प्रतिवेदन तयार पारेको छ। प्रतिवेदनमा जनकपुरका २५ गुठीका ९ हजार ८४३ बिघा १२ कठ्ठा जग्गा अतिक्रमणमा परेको उल्लेख छ।

प्रतिवेदनका आधारमा गृह मन्त्रालयले अनुसन्धान अगाडि बाउन खोजेको हो। मन्त्रालयका अनुसार प्रतिवेदनमा अतिक्रमित जग्गा हटाउने भरपर्दो दस्ता र संयन्त्र नभएकाले जग्गा अतिक्रमण गर्नेमाथि कारबाही गर्न नसकिएको उल्लेख छ।

स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले गुठीको चलअचल सम्पत्ति संरक्षण र गुठी घरजग्गामा स्वीकृतिबेगर जबरजस्ती भोगचलन (अतिक्रमण) गर्नेलाई हटाउन सहयोग नपाएको पनि प्रतिवेदनमा छ।

गुठी संस्थान ऐन २०२९ बमोजिम १५ सय बिघा जग्गामा मोही नलाग्ने भनी छुट्याएकोमा सर्भे नापी भई मोही महलमा मोही जनिएको र सो कटाउन भूमिसुधार तथा मालपोतले बेवास्ता गरेको अध्ययनको निष्कर्ष छ।

अध्ययनले गुठी जग्गामा अतिक्रमण गरी बसोबास गर्ने व्यक्तिका घरमा बिजुली, खानेपानी, टेलिफोन जडान नगर्न, घरधुरी कायम नगर्न र सरकारी सुविधा प्रदान नगरिदिन स्थानीय सबै तहमा निर्देशन जारी गर्न सुझाव दिएको छ।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वपदाधिकारीहरूले भने परियोजनाका विषयमा भ्रष्टाचारमा संलग्न रहेको आरोपमा मुद्दा खेपेका छन्। २०७६ चैत २१ मा विशेष अदालतले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वअध्यक्ष, कार्यकारी निर्देशकसहित पाँचजनालाई भ्रष्टाचारी ठहर गरेको थियो।

विशेष अदालतले परिषद्का पूर्वअध्यक्ष दिगम्बर राय, कार्यकारी निर्देशक सूर्यदेव साह र राजेशकुमार साह, नायब सुब्बा उषा मिश्र र लेखापाल उत्तमराज शर्मा ढकाललाई भ्रष्टाचारी ठहर गरेको थियो। विशेष अदालतले भारत सरकारको सहयोगमा आठवटा परियोजना ठेक्का लागेकोमा पाँचवटा परियोजनामा अनियमितता भएको ठहर गरेको थियो।

विभिन्न परियोजनाको ठेक्का लगाउने क्रममा अनियमितता भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनालाई विपक्षी बनाएर २०७५ कात्तिक १५ गते मुद्दा दायर गरेको थियो। १० मध्ये पाँचजनालाई विशेष अदालतले सफाइ दिएको थियो भने पाँचजनालाई दोषी ठहर गरेको थियो।

जग्गा अतिक्रमणकै विषयमाथि भने अनुसन्धान भएर सरकार ‘एक्सन’मा उत्रिएको छैन। यसलाई अगाडि बढाउन राजनीतिक नेतृत्वले आँट नगरेको टिप्पणी हुने गरेको छ। यही बेला उपप्रधान तथा गृहमन्त्री लामिछानेले चासो राखेर अगाडि बढाउन खोजेका छन्।

बृहत्तर जनकपुर क्षेत्रको झण्डै १० हजार बिघा जग्गा अतिक्रमणमाथि ‘अपरेसन’ गर्ने घोषणालाई नेताहरू गृहमन्त्रीको मुटु जाँच्ने प्रकरणका रूपमा लिन्छन्। नेपाली कांग्रेसका सांसद हृदयराम थानीले भ्रष्टाचार र अनियमितताविरुद्धका फाइल खोल्ने उद्घोष गरेका गृहमन्त्री लामिछानेका लागि जनकपुरको जग्गा अतिक्रमण ‘मुटु जाँच्ने’ विषय रहेको बताए।

गृहमन्त्री लामिछानेको हुटहुटी सरकारबाहिर रहँदा जस्तो सरकारमा गएपछि नदेखिएको उनको टिप्पणी छ। बृहत्तर जनकपुर क्षेत्रको जग्गा अतिक्रमणसहितका भ्रष्टाचार र अनियमितताका विषयमा अघि बढ्न थानीको सुझाव छ।

प्रतिनिधिसभामा आगामी आर्थिक वर्षका लागि विनियोजित गृह मन्त्रालयको बजेटमाथिको छलफलमा मंगलबार बोलेका उनले प्रश्न गरे, ‘गृहमन्त्रीमा हुटहुटी छ तर तपाईँको हुटहुटीले किन काम गरेन?’

गृहमन्त्री लामिछानेले निर्मला पन्तको हलत्कारपछि हत्या गर्ने हत्यारालाई नियन्त्रणमा लिएर कारबाही गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन नभएको टिप्पणी थानीको छ। साथै उनले सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईलाइ नियन्त्रणमा लिन सरकार असफल भएको बताए।

‘आज जीबी राई चर्चाको विषय छ। उहाँ गोर्खा मिडिया र सहकारीबाटै चर्चामा हुनुभयो’, सांसद थानीले भने, ‘२०८० चैत १० गते गृहमन्त्रीले जीबी राई आकाश हो कि पाताल जहाँ भए पनि हो समातोर ल्याउँछु भन्नुभएको थियो। त्यो याद छ कि छैन?’

२०८१ वैशाख २९ गते भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले जीबी राईलाई अघिल्लो सरकारले भगाएको भनेर गरेको टिप्पणीमाथि समेत थानीले प्रश्न उठाएका थिए।

‘जीबी राईलाई अघिल्लो सरकारले भगाएको हो भन्नुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुनुहुन्छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुनुहुन्थ्यो। उहाँ तपाईँको अगाडि हुनुहुन्छ। कसरी भगाउनुभयो’, गृहमन्त्री लामिछानेलाई थानीले प्रश्न गरे, ‘५० दिनमा भाषा चेन्ज गर्नुभयो। यस्तै तरिकाले मुलुक चल्छ? यही तरिकाले गृह मन्त्रालय चल्छ?’
गृहमन्त्रीले तीनवटा फाइल खोले नेताहरू जेलमा हुने संसदमा नहुने भनेर दिएको अभिव्यक्तिमाथि समेत सांसद थानीले प्रश्न गरे।

‘तपाईँकै भाषा प्रयोग गरेको छु त्यसका लागि ‘सरी’। तीनवटा फाइल खोल्यो भने यो देशका अधिकांश नेता जेलमा हुन्छन्, सांसदमा हुँदैनन् भन्नुभयो तपाईँले। मुटु सिंहको जस्तो हुनुपर्छ फिस्टाको जस्तो होइन भन्नुभयो। तीनवटा फाइल के हो? तपाईँको शक्तिले भ्याउँछ कि भ्याउँदैन?’

फाइल खोल्न ढिला गरेकोमा उनको प्रश्न छ। ‘किन ढिलो गर्नुभएको छ फाल खोल्न? गृहमन्त्री तपाईँ हो, अरूलाई फिस्टाको मुटु भन्नुहुन्थ्यो, तपाईँ सिंहको मुटु भएको मान्छे के हो? के कारणले किन सुतिरहनुभएको छ अहिले?’

सुतिरहेको हो भने त्यही कुरा भन्न गृहमन्त्री लामिछानेलाई उनको आग्रह छ। ‘कि भन्नुस् म सिंह हुँ, म सुतिराख्या छु उठेपछि जे पनि गर्छु भन्नुस्’, सांसद थानीले भने। भ्रष्टाचार र अनियमितताका फाइल धमाधम खोल्न गृहमन्त्री लामिछानेलाई सांसद थानीको सुझाव छ।

उनी प्रश्न गर्छन्, ‘गिरीबन्धु टी स्टेटको छानबिन गर्न तपाईँको सिंहको मुटु छ? सक्नुहुन्छ त्यसमा तपाईँले? क्यान्टोनमेन्टमा भएको घोटालाबारे तपाईँ छानबिन गर्न सक्नुहुन्छ? ओम्नी र यतीका बारेमा तपाईं छानबिन गर्न सक्नुहुन्छ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 6 =