सांकेतिक तस्बिर।
                                            स्याङ्जा- घरबास (होमस्टे) भन्नासाथै सहरिया परिवेशभन्दा छुट्टै गाउँले परिवेश भन्ने लाग्छ। बजारको कोलाहल तथा आयातित् खाद्यान्नको भरमा गाउँले परिवेशलाई बचाइ राख्नका लागि गाउँगाउँमा घरबास खोलिएका छन्।
विशुद्ध गाउँले जनजीवन, अर्गानिक तथा स्थानीय खानाका परिकार, स्वागत सत्कार गर्ने तौर तरिका यहाँ फरक छन्। घरबासमा गएपछि त विशुद्ध स्थानीय परिकार, अर्गानिक परिकार हुन्छन् भन्ने पाहुनाको सोंच सबै ठाउँमा मिल्दैन।
गाउँमा घरबास सञ्चालन हुन्छन् तर परिकार सबै गाउँभन्दा बाहिरबाट आयात हुन्छन्। स्थानीय उत्पादन, स्थानीय परिकार देखिँदैनन्।
घरबासमा आउने पाहुनालाई सकेसम्म स्थानीय परिकारका स्वाद चखाउने र सामग्रीको प्रयोग गरेर स्वागत सत्कार गर्ने तथा स्थानीयस्तरमा निर्माण भएका सामग्री उपहारस्वरुप उपलब्ध गराउने वा बिक्री गर्ने लक्ष्यसहित स्याङ्जाको वालिङ नगरपालिका–४ सुन्तलाबारी सामुदायिक होमस्टे सञ्चालकलाई प्रयोगात्मक प्रशिक्षण गरिएको छ।
वालिङ नगरपालिका, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र दियालो संस्थाको सहकार्यमा सुन्तलाबारीमा हरित पुनःउत्थान कोभिड १९ र उद्धार प्रतिकार्य पहल परियोजना अन्तर्गत ‘इको होमस्टे’ मा परिणत गर्न लागिएको हो।
स्थानीयस्तरमा उत्पादन भएका खाद्यान्नको प्रयोग गर्ने, व्यक्ति, भान्छाकोठा तथा समुदायको सरसफाइमा ध्यान दिने, स्वागत सत्कार गर्ने तरिका, कुनैपनि खाद्यान्नलाई बालीदेखि थालीसम्म पुर्याउँदा ध्यान दिनुपर्ने विषयकाबारेमा सामूहिकरुपमा प्रयोगात्मक प्रशिक्षण प्रदान गरिएको हाईगेट कलेज पोखराका प्रशिक्षक प्रिन्स गुरुङले बताए।
‘घरबासमा आउने पाहुनालाई उहाँहरूले आ–आफ्नै तरिकाले स्वागत सत्कार गर्ने, खाना बनाएर खुवाउने लगायतका कार्य पहिलैदेखि गर्दै आउनुभएको थियो’, उनले भने, ‘जसरी जान्नुभएको थियो त्यसरी नै गर्नुहुन्थ्यो, पाँच दिनको प्रयोगात्मक प्रशिक्षणपश्चात थप व्यवस्थित हुने भएको छ।’
बजारकाभन्दा स्थानीयस्तरमा उत्पादन भएका खाद्यान्नको प्रयोगमा जोड दिने प्रतिबद्धता ब्यक्त भएकाले पनि अबका दिनमा स्थानीय परिकार धेरै पाउन सकिने उनको भनाइ थियो।
आफ्नै खेतबारी, बन जंगलमा त्यसै खेर गइरहेका खाद्य वस्तुकाबारेमा ज्ञान नभएकाले पनि समस्या भएको सुन्तलाबारी सामुदायिक होमस्टेका अध्यक्ष डिलबिक्रम गुरुङ बताउँछन्।
‘आफ्नै खेतबारी तथा वन जंगलमा भएका र खान हुने वस्तुको प्रयोग कसरी गर्ने भन्ने जानेकै रैनछौं’, उनले भने,‘पाँचदिनसम्म सामूहिकरुपमा अभ्यास ग¥यौं, सिक्यौं अब जान्यौं, जानेका कुरालाई कार्यान्वयनमा उतार्छौं।’
बजारबाट गाउँमा खाद्यान्न आयात गर्दा गाउँको रकम बजारतिर पलायन हुने र गाउँ बजारमुखी हुने भएकाले स्थानीय स्तरमा उत्पादित खाद्यान्नको परिकार खुवाउने लक्ष्यसहित काम अगाडि बढाएको उनले दाबी गरे।
होमस्टेलाई फरक र नौलोपन दिनुपर्छ भन्ने मुख्य उद्देश्यसहित अगाडि बढ्नेक्रममा अन्योल भएपनि अब त्यो अन्योल हटेर गएको घरबासका उपाध्यक्ष खेमराज गुरुङले बताए।
‘हाम्रै वरिपरी विभिन्न खाद्यान्न छन्, जसको प्रयोग गर्न नजान्दा त्यसै खेर गईरहेका छन्’, उनले भने, ‘प्रयोग गर्न नजान्दा खेर त गए, गए अझ त्योभन्दा महत्वपूर्ण त भएका खाद्यान्नको पकाउने, खाने, उत्पादन गर्ने विधि, व्यक्तिगत वा समुदायको सरसफाई, पाहुनालाई गाउँमा स्वागत सत्कारलाई थप ब्यवस्थित गर्न सकिने भएको छ।’
बजारबाट खाद्यान्न आयात गर्ने र त्यही खाद्यान्न पाहुनालाई खुवाउने गरिएकोमा अब त्यसलाई निरुत्साहित गरी स्थानीय स्तरमै उत्पादन गरिएका खाद्यान्नहरुलाई बढी प्राथमिकता दिईने स्थानीय चीनमाया गुरुङले बताए।
‘गाउँमै उत्पादन भएको खाद्यान्न पाहुनालाई खुवाउन पाए हुन्थ्यो भन्ने त लाग्थ्यो’, उनले भने, ‘तर त्यसकाबारेमा पर्याप्त जानकारी नहुँदा सकिएको थिएन, अब धेरै सिक्यौं, फरक पन पक्कै पनि आउनेमा हामी विश्वस्त छौं।’
कोदोको ढिंडो पहिला पनि पकाएको तर अझै राम्रो तरिका अर्को पनि रैछ। यस्ता उदाहरणहरू अरू पनि धेरै भएको उनले सुनाए। सो तालिममा कोदो, मकै, गहुँको रोटी, ढिंडो, आलु चिप्स, सुन्तलाको जाम, मेवाका परिकार, सलाद, टिमुर, सिस्नो, मरिच लगायतको छोप, गाजरको हलुवा, साँधेको मेवा, मुला, बन्दाका परिकार, गुन्द्रुक, भटमास लगायतका धेरै परिकारहरु बनाउन सिकाइएको थियो।

                                             
                                             
                                             
                                             
                                             
                                             

