चिनीको सहुलियत मूल्य ९७ रुपैयाँ, दुई केजी मात्रै किन्न पाइने

हिमाल प्रेस २० कार्तिक २०८० ८:०८
14
SHARES
चिनीको सहुलियत मूल्य ९७ रुपैयाँ, दुई केजी मात्रै किन्न पाइने

काठमाडौँ- साल्ट ट्रेडिङ कर्पोरेसनले सर्वसाधारणलाई प्रतिकेजी ९७ रुपैयाँका दरले चिनी बिक्री गर्न थालेको छ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका काठमाडौँ उपत्यकास्थित बिक्री कक्षहरूबाट ९७ रुपैयाँका दरले चिनी बिक्री भइरहेको कर्पोरेसनले जनाएको हो। सहुलियत मूल्यको चिनी एकजनाले दुई केजीभन्दा बढी किन्न पाउँदैनन्।

यसैगरी व्यावसायिक प्रयोजनका लागि भने प्रतिकेजी मूल्य ११२ रुपैयाँ ५० पैसा तोकिएको छ। खुद्रा बिक्रीका लागि ५० केजीको पाँच बोरासम्म उपलब्ध गराइने कर्पोरेसनको सूचनामा उल्लेख छ। यस्ताे चिनी किन्न भने कर्पोरेसनको कार्यालय कालीमाटी जानुपर्नेछ।

तिहारका बेला तुलनात्मक रूपमा चिनीको खपत बढी हुन्छ। तर सरकारी अकर्मण्यताका कारण यही बेला चिनी आपूर्ति पर्याप्त हुन सकेको छैन।

दुई सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाम खाली नहुँदासम्म सरकारले चिनी आयात गर्ने अनुमति दिएन। जसको कारण चाडबाडको समयमा बजारमा चिनीको हाहाकार मच्चिएको हो।

नेपालमा १० वटा मिलले १ लाख २० हजार टन चिनी उत्पादन गर्छन्। यसबाहेक हरेक वर्ष करिब १ लाख टन बराबर चिनी आयात हुन्छ।

त्यसो त भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले साल्ट ट्रेडिङ र खाद्य व्यवस्था कम्पनीलाई १०/१० हजार टन चिनी आयातको अनुमति दिने निर्णय गरेको थियो। तर उक्त चिनी दसैँ अगाडि बजारमा आउन सकेन।

उद्योगीहरूले गत साउन पहिलो साता नै ४० हजार टन चिनी आयातका लागि सरकारलाई अनुरोध गरेका थिए। उद्योगीहरूको अनुरोधपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साउन १८ र ३१ गते चिनी आयात गर्नुपर्ने रायसहितको फाइल अर्थ मन्त्रालयमा पठाएको थियो। तर अर्थ मन्त्रालयले उक्त फाइल अगाडि बढाउन चाहेन।

लामो समयपछि भदौ २७ गते बल्ल अर्थ मन्त्रालयले सहमति दियो। त्यो पनि वाणिज्य मन्त्रालयले मागकोभन्दा आधा मात्रै। त्यसपछि बल्ल उद्योग मन्त्रालयले मन्त्रिपरिषद्‌मा अनुमोदनका लागि फाइल पठायो र मन्त्रिपरिषद्ले आयातको अनुमति दियो।

ढिला गरी आयातको अनुमति दिएपछि दुई सरकारी कम्पनीले चिनी समयमै आयात गर्न सकेनन्। जसको परिणाम बजारमा चिनीको चर्को अभाव छ।

प्रकाशित: २० कार्तिक २०८० ८:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + three =