कलकलले बाँड्यो मुनाफा, सेयर सदस्य खुसी

हिमाल प्रेस १९ कार्तिक २०८० १३:३१
176
SHARES
कलकलले बाँड्यो मुनाफा, सेयर सदस्य खुसी

भक्तपुर- देशभर चरम आर्थिक संकट चुलिएका बेला पनि कटुञ्जेमा रहेको कलकल ग्रुप प्रालिले मुनाफा आर्जन गरेर आफ्ना सेयर सदस्यहरूलाई वितरण गरेको छ। भक्तपुरमा शनिबार आयोजित कलकलको छैटौँ वार्षिक साधारणसभामा यसपालि १० प्रतिशत मुनाफा वितरण गर्ने घोषणा गरिएको हो।

संस्थाका प्रमुख कार्यकारी अधिकृत समिरनारायण श्रेष्ठले साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै यसपालि १० प्रतिशत मुनाफा वितरण गर्ने जानकारी दिएका हुन्। उनले यस शीर्षकअन्तर्गत झन्डै २० लाख रुपैयाँ छुट्याएको जानकारी दिए। दराज अनलाइनबाट पनि अब उपभोक्ताले कलकलका सामान खरिद गर्न सक्ने श्रेष्ठले बताए।

कलकल ग्रुपले साधारणसभाका अवसरमा सेवास्वरुप मानव कल्याण समाजलाई एक लाख रुपैयाँसमेत प्रदान गरेको छ। समाजकी अध्यक्ष सुमी मानवले उक्त सहयोगप्रति कलकल ग्रुपलाई धन्यवाद दिएकी थिइन्। शुद्धता र कलकल एक-अर्काका पर्याय भएर नै संस्थाले सफलता चुम्दै गएको मानवको भनाइ थियो।

अध्यक्ष मानवले कलकलका पूर्व प्रमुख कार्यकारी अधिकृत करुणसागर पराजुलीले पुर्‍याएको योगदान र सेवाभावको स्मरण गर्दै स्वर्गीय पराजुलीको आत्माको चिरशान्तिको समेत कामना गरेकी थिइन्।

कार्यक्रममा कलकल ग्रुप प्रालिका अध्यक्ष रविराज कार्कीले थोपा-थोपाबाट समुद्र बन्छ भनेझैँ संस्थालाई माथि उठाउन सञ्चालकहरूको मात्र नभई सम्पूर्ण सेयर सदस्यहरूको उत्तिकै योगदान रहनुपर्नेमा जोड दिए। कलकलबाट उत्पादित खाद्य सामग्री हाल बिगमार्ट र आर्मीका क्यान्टिनमा पनि बिक्री भइरहेको भन्दै अध्यक्ष कार्कीले भाटभटेनी र सेल्सबेरीमा पनि राख्न पहल भइरहेको जानकारी दिए।

बजारमा सर्टरहरू बन्द भइरहेका बेला पनि कलकलका सामानको माग उच्च हुनुको मुख्य कारण शुद्धता नै रहेको कार्कीले स्पष्ट पारे। उनले कलकललाई प्रालिमा मात्र सीमित नगरी पवित्र मन भएका हजारौँ व्यक्तिहरूलाई जोडेर पब्लिक लिमिटेडमा लैजाने योजना रहेको समेत जानकारी दिए। त्यस्तै कलकलकै आउटलेटहरू पनि विस्तार गर्दै जाने र आफ्नै जग्गा खरिद गरेर संस्थाका आवश्यक पूर्वाधार पनि त्यहीँ बनाउने योजना अघि सारिएको छ।

साधारणसभामा कलकल ग्रुपका संस्थापक अध्यक्ष सरिता शर्माले २०७४ सालमा हर्बल साबुन उत्पादनबाट सुरु भएको उद्योगले अहिले लोकल तोरीको तेलसहित विभिन्न ३० थरी सामान उत्पादन गरी बेचबिखन गरिरहेको जानकारी दिइन्। कलकलले उद्यमसँगै सिर्जनशीलता, अनुशासन र कला क्षेत्रलाई पनि प्राथमिकता दिएको जानकारी दिँदै संस्थापक अध्यक्ष शर्माले कलकलले ग्राहकलाई शुद्धताका नाममा कहिल्यै नढाँटेको र नढाँट्ने पनि स्पष्ट पारिन्।

उद्योगको आधारशिला निर्माणका बेला आफूहरूले विभिन्न कठिनाइ झेल्नुपरे पनि अब भने कलकलले तीव्र गतिमा फड्को मार्ने जमर्को गरिरहेको शर्माको भनाइ छ।
कलकल ग्रुपका स्वास्थ्य संवाहक कमला दाहालले कलकलले उत्पादन गरेको लोकल तोरीको तेल मिसावटरहित भएकै कारण माग बढ्दै गएको बताइन्। आफूले मासिक एक हजार लिटर तेल एक्लैले बेचिरहेको समेत उनले जानकारी दिइन्।

दाहालले आफूहरू विश्व स्वास्थ्य संगठनले खोजेको जस्तो पूर्ण स्वस्थ मानव बनाउने अभियानमा अघि बढेको र तदनुरुप उत्प्रेरणात्मक कार्य गर्दै आइरहेको समेत उल्लेख गरिन्। हरेक शनिबार जुम वेबिनारमार्फत राति ८ देखि ९ बजेसम्म पूर्ण स्वास्थ्यसम्बन्धी कार्यक्रम आफूले निःशुल्क  सञ्चालन गर्दै आएको र त्यसमा जोडिएर भरपुर लाभ लिन पनि दाहालले सबैसँग आग्रह गरेकी छन्।

यसैगरी जुना बस्नेतले चिकित्सकहरूले बजारमा उपलब्ध सनफ्लावर र विभिन्न तेल अस्वस्थकर रहेको बताइरहँदा कलकल शुद्ध तोरीको तेल अबको विकल्प हुने बताएकी थिइन्।

उत्तरा नेपालले आम नागरिक निरोगी रहून् भन्ने कलकलको ध्येय रहेको उल्लेख गर्दै कलकल शुद्ध तोरीको तेललगायत यहाँबाट उत्पादित विभिन्न सामान धेरैभन्दा धेरैका भन्सामा पुर्‍याउनुपर्नेमा जोड दिएकी थिइन्।

संस्थाका अध्यात्म संवाहक सरस्वती भट्टराईले कलकलका उत्पादन शुद्ध रहेको स्पष्ट पार्दै शुद्धताका अगाडि कसैको केही नलाग्ने चर्चा गरिन्। उनले कार्यक्रमका सहभागीहरूलाई केही समय प्राणायाम र ध्यानसमेत गराएकी थिइन्।

यसैगरी डा. सुशीला मल्लले स्वदेशमा उद्योगहरू नहुँदा भारतलगायत तेस्रो मुलुकबाट सामान आयात गर्नुपरिरहेको र रकम विदेशिँदा मन पोल्ने भन्दै कलकलजस्ता स्वदेशी उद्योगहरू फस्टाउनुपर्नेमा जोड दिइन्। उनले यो उद्योगले डाँडाकाँडा ढाकोस् भन्नेसमेत शुभकामना दिइन्।

शर्मिला कार्कीले ‘आफ्ना लागि आफैं गर्छाैँ’ भन्ने भावना लिएर कलकल अगाडि बढेको बताउँदै कलकल शुद्ध तोरीको तेल गाईभैँसीको घिउसमान भएकाले उपभोक्तालाई बुझाउनुपर्ने अबको दायित्व रहेको बताइन्। सरोज थापा र रामप्रसाद ढकालले पनि कलकलबाट उत्पादित खाद्य सामग्री गुणस्तरीय रहेको बताएका थिए।

सांगीतिक प्रस्तुतिसमेत गरिएको साधारणसभामा कलकलको विकासमा महत्त्वपूर्ण योगदान दिएको भन्दै पूर्व प्रमुख कार्यकारी अधिकृत रगिता बस्नेतलाई ‘कलकल विशेष सम्मान’ प्रदान गरिएको थियो। कलकलको श्रीवृद्धिमा योगदान गर्ने विभिन्न व्यक्ति र संवाहकहरूलाई पनि साधारणसभामा सम्मान गरिएको थियो। अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।

प्रकाशित: १९ कार्तिक २०८० १३:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =